मनाङ । हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् ।
मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार ६ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए ।
हिउँ पर्न थालेपछि बेसीको खर्क सारिएको उनले बताए । मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडा–च्याङ्ग्रा पालन गर्दै आएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेसीतर्फ सार्न सुरु भएको उनले बताए ।
व्यावसायिक रूपमा पशु पालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए । गुरुङले भने, ‘गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।’ गत वर्ष हिम पहिरोमा परी दुई सय ५० भन्दा बढी भेडा–च्याङ्ग्रा तथा चौँरी मरेको सुनाउँदै उनले भने, ‘अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।’
पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए । उनले भने, ‘पहिले चौँरी र भेडा–च्याङ्ग्रा धेरै थिए, तर पाल्ने क्रम कम भएको छ, चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ ।’ अहिले साना बाच्छा–बाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले सुनाए ।
‘केही बाच्छा–बाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौँ, कहिले त कति बेला खायो नै थाहा हुँदैन, राहतका लागि झन्झट छ’, उनले भने । राहतको रु पाँच–दश हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा रु २५ देखि ३० हजार खर्च हुने गरेको उनको गुनासो छ ।
गुरुङले भने, ‘पहिलेको जस्तो घाँस हुँदैन, घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ, न समयमा हिउँ पर्छ, यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो ।’ मौसमलाई मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उनले बताए ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडा, च्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाइ छ ।
गत असार महिनादेखि अग्ला लेक लगिएका भेडा–च्याङ्ग्रा र चौँरी बेसीतर्फ गोठालाले झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएको छ । कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ । अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौरीको गोठ राखिनेछन् ।
प्रतिक्रिया