बारा । भारतिय अपराधी समुहद्वारा गोली हानी हत्या गरिएका बाल एकता इंगलिस बोर्डिंग स्कुल कलैयाका प्रिन्सिपल रुपेश स्वर्णकारलाई न्याय दिलाउन माग गर्दै कलैयामा जारी आन्दोलनले अन्यौल सृजना गरेको छ । प्रिन्सिपल स्वर्णकारको हत्याको कारण विषयमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले दिएको अभिव्यक्तिबाट असन्तुष्ट बनेको पीडित परिवार तथा तिनका आफन्तले घटनाको निष्पक्ष छानबीनको माग गर्दै निरन्तर दबाब दिन थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले दिएको अभिव्यक्ति पछि असन्तुष्ट बनेका मृतक परिवार सहित कलैयाका राजनीतिक दलका नेता, निर्वाचित जनप्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य, व्यवसायी, शिक्षक, निजी विद्यालयका संचालक सबै प्रहरीको पत्रकार सम्मेलनपछि बिच्किएका छन् ।
उनीहरुले मृतक परिवालाई न्याय दिलाउन आन्दोलनलाई निरन्तता दिन थालेका छन् । कहिले दिप प्रज्वलन त कहिले मौन जुलुश समेत निकाल्न थालेका छन् ।
सोमवार पनि आन्दोलनलाई निरन्तरता दिदै प्याब्सन र एनप्याब्सनको आहवानमा निजी विद्यालय सञ्चालक तथा निजी विद्यालयमा कार्यरत शिक्षकहरुले दिउसो एक बजेदेखि पेन डाउन गरी विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सोमवार साझ पनि कलैया भरत चोकमा दिप प्रज्वलन कार्यलाई निरन्तरता दिए ।
कलैया स्थित रामजानकी मन्दिर परिसरबाट आइतवार निस्केको मौन जुलुशमा सहभागीले दुई अर्थको प्लेकार्ड बोकेपछि सर्वसाधारण आश्चर्यमा परेका छन् ।
एउटै जुलुशमा बाल एकता स्कुल कलैयाका प्रिन्सिपल रुपेश स्वर्णकारलाई न्याय देउ, हत्या हिंसा बन्द गर, हत्यारालाई पक्राउ गर, निर्दोषलाई रिहा गर, चरित्र हत्या गर्न पाइदैँन, जस्ता प्लेकार्ड बोकेको देखेर स्थानीयहरु आश्चर्यमा परेका छन् ।
उनीहरुले जुलुश रुपेशलाई न्याय दिलाउन भएको हो कि प्रहरीले पक्राउ गरेको दुई युवकलाई छोडाउनको लागि हो आफुहरुले बुझ्न नसकेको भन्दै स्थानीय संचारकर्मीसँग प्रतिप्रश्न गरे । आन्दोलनकारीले बोकेको ब्यानरमा रेयाज अन्सारी र जमिल अख्तर निर्दोष भएको लेखिएको थियो ।
बाल एकता स्कुल कलैयाका प्रिन्सिपल स्वर्णकारलाई न्याय देउ भनि आन्दोलन थालेका आन्दोलनकारीले दुबै युवक निर्दोष रहेको भन्दै उनीहरुको रिहाईको माग समेत गरेका छन् ।
आन्दोलनकारीले उठाएको यो मागले नागरिक नै न्यायधिश भएको धारणा स्पष्ट पारेको स्थानीयले बताए । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको व्यक्ति निर्दोष हुन भने दोषी को हो ? कस्ले स्पष्ट पार्ने भने प्रश्न उब्जिएको नागरिक अगुवाहरुले बताएका छन् ।
मुद्दा अदालतमा पुग्न नपाउदै अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा परेको व्यक्तिलाई आन्दोलनकारीले सफाई दिनु अनुचित भएको नागरिक अगुवाहरु तर्क छ ।
नागरिक अगुवाहरुले हत्यामा संलग्न अपराधिलाई यथाशिघ्र कानुनी दायरामा ल्याई कारवाही गर्न माग समेत गरेका छन् । घटनालाई ढाकछोप गर्न निर्दोष व्यक्तिलाई प्रहरीले फसाउन नहुने जिकिर नागरिक अगुवाको छ ।
दुई वटा मोटरसाइकलमा चार जनाको संख्यामा आएका अपराधि समुहले ३९ वर्षिय स्वर्णकारलाई चार राउण्ड गोली प्रहार गरी कार्तिक १३ गते मध्यान्ह साढे १२ बजे हत्या गरेका थिए ।
कलैया ६ स्थित मदर्सा टोलमा रहेको ग्रिन सिटी बोर्डिङ स्कुल अगाडी ती अराधिक समुहले छाती, टाउको र घाटीमा गोली प्रहार गरी स्वर्णकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया