नयाँ दिल्ली । दक्षिण अफ्रिकाले भारतमा जारी आइसिसी विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ । शनिबार राती पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दक्षिण अफ्रिका दुई खेल अगावै सेमिफाइनल खेल्ने पक्का भएको हो ।
दक्षिण अफ्रिकाले आज दिउँसो भारतसँग खेल्दैछ । भारत र दक्षिण अफ्रिकाबीच शीर्षस्थानको लागि भिडन्त हुने पक्का भएको छ । भारत ७ खेलमा १४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ ।
दक्षिण अफ्रिकाले अव भारत र अफगानिस्तान दुवैसँग हारेपनि सेमिफाइनल खेल्ने पक्का भएको हो । दक्षिण अफ्रिका सन् २०१५ को विश्वकपपछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो । समग्रमा दक्षिण अफ्रिका पाँचौं पटक सेमिफाइनलमा पुगेको हो । हालसम्म दक्षिण अफ्रिकाले फाइनल भने खेलेको छैन । पहिलो पटक फाइनल खेल्दै उपाधि जित्ने सोचमा छ ।
२०१५ को विश्वकपको सेमिफाइनलमा वर्षाको कारण न्युजिल्यान्डले डकवर्थ लेविस पद्धतिको आधारमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । २०१९ को विश्वकपमा भने दक्षिण अफ्रिका ९ खेलमा ७ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको थियो ।
अब विश्वकपमा दुई सेमिफाइनलको लागि ६ टोलीबीच प्रतिस्पर्धा छ । इंग्ल्यान्ड र बंगलादेश भने लिगबाट आधिकारिक रुपमा बाहिरिएका छन् । अष्ट्रेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ ।
अष्ट्रेलियाले ७ नोभेम्बरमा अफगानिस्तानमा र ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ । सेमिफाइनल खेल्न अष्ट्रेलियालाई एक जित आवश्यक पर्दछ । दुबै खेल जितेको खण्डमा शीर्ष दुईमा अन्त्य गर्न सक्छ ।
न्युजिल्यान्ड ८ खेलमा ४ मा जित र ४ मा हारसहित चौथो स्थानमा छ ।
न्युजिल्यान्डले अन्तिम खेल ९ नोभेम्बरमा श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा फराकिलो अन्तरले विजयी भएको खण्डमा सेमिफाइनलमा पुग्न सक्छ । तर अन्य टोलीको नतिजा पनि आफु अनुकुल आउनुपर्छ । पाकिस्तान ८ खेलमा ४ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ ।
पाकिस्तानले अन्तिम खेल इंग्ल्यान्डसँग ११ नोभेम्बरमा खेल्नेछ । उक्त खेलमा फराकिलो अन्तरले विजयी हुनुपर्छ । न्युजिल्यान्डले श्रीलंकासँग हारेको खण्डमा पाकिस्तानलाई नेटरनरेटको कुनै झन्झट हुनेछैन । अफगानिस्तान ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ ।
अफगानिस्तानले ७ नोभम्बरमा अष्ट्रेलिया र १० नोभेम्बरमा दक्षिण अफ्रिकासँग खेल्नेछ । दुबै खेलमा विजयी भएमा भने सेमिफाइनल खेल्ने देखिन्छ । श्रीलंका ७ खेलमा २ मा जित र ५ मा हारका साथ सातौं स्थानमा छ । श्रीलंकाले अव बंगलादेशसँग सोमबार र न्युजिल्यान्डसँग खेल्न बाँकी छ ।
नेदरल्यान्ड्स ७ खेलमा २ मा जितसहित ४ अंकका साथ आठौं स्थानमा छ । बंगलादेश र इंग्ल्यान्ड समान ७ खेलमा १ जितका साथ २–२ अंक जोड्दै नवौं र पुछारमा छन् ।
सेमिफाइनलमा शीर्षस्थानमा रहने टोलीले चौथो स्थानमा रहनेसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानका टोलीबीच सेमिफाइनल हुनेछ । पहिलो सेमिफाइनल नोभेम्बर १५ र दोस्रो नोभेम्बर १६ मा हुनेछ । फाइनल नोभेम्बर १९ मा हुनेछ ।
प्रतिक्रिया