सुदूरपश्चिम सरकारले भूकम्प पीडितलाई रु एक करोड उपलब्ध गराउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको राहत तथा उद्धारका लागि रु एक करोड रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरुको उद्धार तथा राहतका लागि एक करोड उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले भूकम्प पीडितहरुको राहत तथा उद्धारका लागि एक करोड रकम उपलब्ध गराउने र औषधिसहित २० जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले जानकारी दिए ।

उनका अनुसार आवश्यक प्रकृया पुर्याएर राहत रकम कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराइने छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ भने सयौँ घाइते भएका छन् ।

प्रतिक्रिया