काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘संसद प्रभावकारी भयो भने सरकार पनि प्रभावकारी हुन्छ, संसद बलियो हुनुपर्छ, मूल विषय भनेको संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्छ ।’
उनले संसदको मूल काम कानून निर्माणका साथै सरकार निर्माण, राज्यका स्रोत र साधनको वितरण, सरकारका काम कारबाहीको नियमित अनुगमन र मूल्यांकन गर्ने भएको बताए । उनले भने ‘संसदमार्फत सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, संसदले बनाएका कानूनको कार्यान्वयनका अवस्थाबारे अध्ययन गर्ने अभ्यास पनि विश्वव्यापी रुपमा रहको छ ।’
संविधानले परिकल्पना गरेको बाटोमा कांग्रेस सधैँ प्रभावकारी संसद्को पक्षमा रहेको उनको भनाइ थियो । ‘संसदका काम कारबाही जीवन्त रुपमा काम गर्नुपर्छ, संसदलाई प्रभावकारी बनाउनका लागि संविधानको रक्षा गर्न प्रतिबद्ध छौँ,’ प्रमुख सचेतक लेखकले भने, ‘लोकतन्त्रमा सहमति, सहकार्य र समन्वय गरेर अघि बढ्नु जरुरी छ, त्यसो भए मात्र संसद् प्रभावकारी हुन्छ ।’
संवाद, सहमति, सहकार्य संविधानको कार्यान्वयन र मुलुकको निर्माणका लागि जरुरी रहेको जनाउँदै उनले ७० वर्षको अन्तरालमा सातवटा संविधान बनाउने काम गरिएको र अब यो संविधान असफल बनाउने छुट कसैलाई पनि नभएको बताए । यो संविधान मुलुकमा ठूलो राजनीतिक अभियान, राजनीतिक यात्राबाट प्राप्त भएको उल्लेख गर्दै उनले संविधानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । ‘सर्मथन र विरोध लोकतन्त्रको गहना हो, संसदमा आलोचना र विरोध हुन्छ’, उनले भने ।
प्रमुख सचेतक लेखकले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दुःख व्यक्त गरे । उनले हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई सहजतापूर्वक सकुसल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले सदनका उठेका सबै विषयमा सरकारको यथेष्ट ध्यान जान जरुरी रहेको उल्लेख गरे ।
प्रतिक्रिया