दुई नागरिकता र उमेर सम्बन्धमा अख्तियारमा उजुरी

सेनामा रथी बढुवा प्रकरण विवादमा

काठमाडौं । नेपाली सेनाले भावी सेनापतिको रोलक्रममा राखेर उपरथी ताराध्वज पाण्डेलाई गरेको रथीमा बढुवा सिफारिस विवादमा परेको छ । पाण्डेको उमेर विवाद र नागरिकता विवादको उजुरी अख्तियारमा परेको छ भने संसद्मा समेत कुरा उठेको छ ।

नागरिकता र उमेरका विवादास्पद उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथीमा बढुवाका लागि सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्थाअनुसार, जंगीअड्डाले सूचना प्रकाशित गरेसँगै उनको विवादास्पद सरकारी कागजातहरू बाहिर आएका छन् । उनको बाहिर आएको नागरिकताको प्रमाण पत्रअनुसार दुई वर्षअघि नै अवकाश पाइसक्नुपर्नेमा अहिले तिनै व्यक्ति प्रधानसेनापतिको लाइनमा राखिएको भन्दै रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्माको आलोचना हुन थालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा पाण्डेका दुई वटा नागरिकता भएको र त्यसको छानविन गर्न माग गरिएको छ । २०८० कात्तिक १० गतेको उजुरी दर्ता नं ८०८१–०२५९७१ मा भनिएको छ ‘निज उपरथी ताराध्वज पाण्डेले दुई वटा नम्बरको नागरिकता लिएको बुझिएको र निजको नागरिकता नं. ३६०८६ को प्रतिलिपीसहित पेस गरिएको साथै अर्काे नागरिकता नं. १६८१–१६०८६ रहेको सो को प्रमाणसमेत यसै निवेदन साथ संलग्न राखिएको हुँदा निष्पक्ष छानविन हुन विनम्र अनुरोध गर्दछु ।’

उजुरीअनुसार २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनले २३ मंसिर २०२३ को जन्म मिति उल्लेख गरेका छन् । तर, उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १२ माघ २०२१ उल्लेख छ । जन्ममिति १२ माघ २०२१ कायम हुँदा १२ माघ २०७८ मै अवकाश पाउनुपर्ने थियो । सैनिक नियमावलीअनुसार उपरथीको अवकाशको उमेरहद ५७ वर्ष हुन्छ । पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्ममिति २०२१ माघ १२ गते उल्लेख छ । तर, नागरिकतामा भने २०२३ मंसिर १३ गते बनाइएको छ ।

‘उहाँको शैक्षिक योग्यताको प्रमाणपत्रलाई आधार मान्ने हो भने त उहाँले दुई वर्ष बढी जागिर खाइसक्नुभएको छ उहाँलाई रथी बनाउने वा प्रधानसेनापति बनाउने कुनै आधार देखिँदैन’ उच्च सैनिक स्रोतले भन्यो । युद्धकार्य विभागका प्रमुखउपरथी पाण्डेलाई सात दिनभित्र बढुवा सिफारिस गर्ने गरी २९ असोजमा सूचना प्रकाशित भए पनि हालसम्म फाइल अघि बढिसकेको छैन । यद्यपि प्रधानसेनापति हाल देश बाहिर रहेकोले र उनी बिहीबार नेपालफर्के लगतै यस विषयमा निर्णय हुने स्रोतले बतायो । प्रधानसेनापति शर्मा हाल चीन भ्रमणमा रहेका कारण पनि ढिलाइ भएको हो । स्रोतका अनुसार अहिलेसम्म सिफारिस पत्र मन्त्रिपरिषद्मा पुगिसकेको छैन । तर अब बस्ने मन्त्रिपरिषद्को बैठकमा यससम्बन्धी निर्णय हुने स्रोतले बतायो ।

नेपाली सेनामा विगतको परम्परालाई हेर्ने हो भने पनि जन्ममिति विवादमा जुन मितिले पहिले अवकाशमा जान्छन्, त्यो कायम गरेर अवकाशमा पठाउने गरिएको थियो । गौरवशमशेर राणादेखि पूर्णचन्द्र थापा सेना प्रमुख भएका बेलामा जगदीशचन्द्र पोखरेल, देवकुमार सुवेदीदेखि ज्ञानेन्द्र रायमाझीसम्मलाई यहीअनुसार अवकाश दिइएको थियो ।

तर पाण्डे भने रथीमा बढुवा सिफारिस मात्रै भएका छैनन्, अब हुने प्रधानसेनापतिको रोलक्रममै उभिएका छन् । पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा निकट जर्नेल पवनबहादुर पाँडे लगायतसँग निकट सम्बन्ध भएका कारण उनीअहिलेसम्म सो विवादबाट पन्छिदै आएको बताइन्छ । ‘अहिले मात्र उनको जन्ममिति बारे विवाद भएको होइन, पहिला हालका प्रधानसेनापति प्रभुराम शर्मा समेतले उनको छानवीन गरेका थिए तर त्यो त्यतिकैमा रोकिएको थियो ।’

नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी सातदिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्था बमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीनतारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि पाण्डेलाई सिफारिस गरिएको उल्लेख छ । उनको उमेर सम्बन्धी विवाद सार्वजनिक भएपछि जंगी अड्डाले समेत खण्डन गरेको थियो ।

‘स्वीकृत दरबन्दीमा रिक्तहुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानुनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्रक्रिया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेरसम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्थालगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रक्रियालाई विवादित तुल्याउने आशयले भएको टीकाटिप्पणीमा सत्यता नरहेको ब्यहोरा जानकारी गराइन्छ ।’

सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुँदाहँुदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढंगले सञ्चार माध्यममार्फत भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक छ ।’ यो बीचमा उपरथी पाण्डेको बढुवा रोकी सैनिक ऐन तथा मुलुकीअपराध संहिता बमोजिम किर्तेमा कारबाही गर्न मागसहित जंगीअड्डामा समेत उजुरी परेको छ ।

यस्तै प्रधानसेनापतिको कार्यालय, बढुवा समिति, रक्षा र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा समेत उजुरी परेको छ । उजुरीमा पाण्डेमाथि मुलुकी अपराध संहिता र सैनिक ऐन २०६३ बमोजिम किर्तेमा कारबाही गर्न माग गरिएको छ ।

उमेर विवादबाहिर नआउँदै पाण्डेले शक्तिकेन्द्रमार्फत आफ्नो बढुवाको निर्णय गराउन विभिन्न चलखेल गरेको चर्चा पनि सैनिक वृत्तमा छ । साथै राजनीतिक नेतृत्वलाई दबाब बढाएको चर्चा पनि उत्तिकै चलेको छ । उनको उमेर किर्तेसम्बन्धी विवादबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का जानकार रहेको बताइए पनि उनको कुनै धारणा सार्वजनिक भएको छैन ।

प्रतिक्रिया