बारामा गोली हानी प्रधानाध्यापकको हत्या

काठमाडौं । बाराको कलैयामा अज्ञात समूहको गोली प्रहारबाट प्रधानाध्यापकको मृत्यु भएको छ । सोमबार दिउँसो गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा आएका दुई जनाले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बताइएको छ । बारा प्रहरीका अनुसिार कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले दुई वटा मोटरसाइकलमा मास्क लगाएर आएका व्यक्तिले गोली प्रहार गरी फरार भएको जानकारी दिए ।

स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि दुईवटा गोली प्रहार गरिएको थियो। उनको टाउको र छातीमा गोली लागेको थियो । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया