भारतले थप निर्यात अनुमति नदिंदा दसैंमा दैनिक ५ सय मेगावाट विद्युत् खेर

काठमाडा । दसैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा र भारतले थप विद्युत नियति अनुमति नदिंदा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखाना बन्द हुँने र काठमाडौंमा चिसो सुरु भइ नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक माग घटेको छ ।

बर्खा सकिए पनि र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र नीजि क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।

प्राधिकरण, यसका सहायक कम्पनीहरु र नीजि क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको छ भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपतगर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रुपमा ५ सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।
‘दसैंकाकारण आन्तरिक माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँखपत गरी बचत भएको थपकरिब ३ सय मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउनन सक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, यसबाट दैनिक रुपमा करौंडौं रुपैयाँ गुमाइरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने ‘प्रक्रियामा रहेकाले छिट्टै थपविद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं, स्वीकृति नपाउने हो भने अझै विद्युत् खेर फाल्नु पर्ने अवस्था छ ।’

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धा मार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युतव्यापार निगम लि.(एनभिभिएन) लाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिष्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाखरुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले यस वर्ष गत २८ जेठबाट भारतीयबजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷८१को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाखरुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । जेठ र असारमा भारत तर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

दसैंमा विनाअवरोध विद्युत् आपूर्ति

नेपाल विद्युत प्राधिकरणले यस वर्षको दसैंमा विना अवरोध विद्युत् आपूर्ति गरेको छ । यसवर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्फुट् बाहेक दसैंमा विगत वर्षमा झै विना अवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दसैंमा विद्युतअपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीहरुलाई तयारी अवस्थामा राखेको उल्लेख गरेको छ ।

प्रतिक्रिया