मासु खान बडादसैँ पर्खनुपर्ने अवस्थामा अधिकांश नेपाली

विन्दुकान्त घिमिरे


नेपालीहरूको महान चाड बडादसैँ सुरु भइसकेको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेर सुरु हुने बडादसैँ विजयादशमीका दिन देवी विसर्जन गरी समापन हुन्छ । अष्टमी र नवमीका दिन व्यापक रूपमा पशुबलि दिइने भएकोले प्रसस्त मात्रामा मासुखाने चलन छ । १० दिनसम्म धुमधामका साथ मनाइने चाड भएका कारण पनि बडादसैँ भन्ने गरिएको हो ।

विजयादशमीका दिन देवी विसर्जन गरिए पनि टीका लगाउने चलन पूर्णिमासम्म हुन्छ ।
दसैँ पर्वको मुख्य आकर्षण भनेको मासु, रंगीचंगी लुगाफाटो र मान्यजनबाट आशिष लिने हो । बडादसैँ शक्ति प्राप्तिका लागि आराधना गरिने चाडपर्व भएका कारण पशुबलि लिने चलन छ । जसका कारण दसैँ र मासु एकअर्काका पर्याय जस्तै बनेका छन् । शाकाहारीका लागि बाहेक मासुविनाको दसैँ हुँदैन । मासु खानका लागि चाडपर्व नै पर्खनुपर्ने वर्गको जनसंख्या नेपालमा उल्लेख्य छ । जतिसुकै विपन्न भए पनि दसैँमा प्रसस्त मासु खाने तथा खुवाउने चलन छ ।

जसका कारण दसैँका अवसरमा मासुको खपत अत्यधिक बढ्ने गर्छ । नेपालमा वर्षभरी मासुको जति खपत हुन्छ त्यसको ३० प्रतिशत खपत दसैँका अवसरमा मात्रै हुने गर्छ । त्यसैले दसैँपर्वमा अर्थतन्त्रमा मासुको स्थान सबैभन्दा बढी छ । प्रायः सबै घरपरिवारको सबैभन्दा धेरै खर्च मासुमै हुन्छ । सरकारी तथ्यांकअनुसार दसैँको अवधिमा उपत्यकासहित देशभर गरी राँगा, माछा, खसी÷बोका र च्याङ्ग्राको ९ करोड १९ लाख ६ हजार किलो मासुको खपत हुन्छ । प्रतिकेजी सरदर ७ सय रुपैयाँको हिसाब गर्ने हो भने पनि करिब ७० अर्ब रुपैयाँ हुन्छ । यो त बजारको मात्रै तथ्यांक हो । आफ्नै घरमा पारेका खसी÷बोका आफैँले उपयोग गरेको तथ्यांक हिसाब गर्ने हो भने यसको दोब्बर हुन्छ ।

केही वर्ष अघिसम्म भारतबाट खसीबोका तथा तिब्बतबाट भेडा च्याङ्ग्रा आयात अत्यधिक हुन्थ्यो । जसका कारण नेपालबाट ठूलो परिमाणमा रकम बिदेसिने गथ्र्यो । तर पछिल्ला वर्षहरूमा खसीबोकामा नेपाल करिबकरिब आत्मनिर्भर छ । खसीबोकाको आन्तरिक व्यपारका कारण सहरको पैसा गाउँ जान थालेको छ । जसलाई सकरात्मक रूपमा लिनुपर्छ । विदेशबाट खसीबोका आयात गर्न कडाइ गरिएपछि नेपालका ग्रामीण भेकहरूमा बाख्रापालन फष्टाएको छ । तर, चोरी पैठारी नियन्त्रण हुन सकेको छैन । खुला सिमानाको फाइदा उठाएर चोर बाटोबाट भारतीय खसीबोका ल्याएर खोरमा पाल्ने र दसैँका बेला बेच्ने समस्या तराईमा देखिएको छ । यसरी आयात भएको खसीबोकाका कारण नेपाली किसान मारमा परेका छन् ।

मासुसँग जोडिएको दसैँको अर्थतन्त्र खसीबोका बेचेर दसैँ मनाउन आवश्यक अन्य वस्तुको जोहो गर्नुपर्ने वाध्यतामा अधिकांश नेपाली किसान छन् । दसैँका लागि भनेर दुई वटा पाठा हुर्काउने, एउटा आफैँले खाने र अर्को बिक्री गरेर अन्य खर्च जुटाउने चलन छ । तर किसानहरूको यो वाध्यतालाई दलालहरूले आफ्नो स्वार्थका लागि प्रयोग गर्ने गरेका छन् । किसानहरू सस्तोमा खसीबोका बिक्री गर्न बाध्य छन् ।

उपभोक्ताहरू महँगोमा मासु किन्न बाध्य छन् । उदाहरणका लागि किसानहरूले जिउँदो खसी प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री गर्छन् । काठमाडौं उपत्यकामा खसीको मासुको बजार मूल्य प्रतिकेजी १४ सय रुपैयाँ छ । यो तथ्यांकले पनि किसान र उपभोक्ता के कसरी ठगिएका छन् ? आफ्नो जिम्मेवारीमा राज्य कहाँनिर चुकेको छ ? भन्ने स्पष्ट हुन्छ । हरेक दसैँमा मासुको मूल्य करिब २५ प्रतिशत महँगो हुने र वर्षभरी नै त्यही मूल्य कायम रहने गरेको देखिन्छ ।

तर, विगत तीन वर्षको तथ्यांक हेर्ने हो भने मासुको मूल्यमा खासै वृद्धि भएको देखिन्न । कोभिडका कारण क्रय शक्ति घटेको र भेटघाट तथा आवतजावत कम भएका कारण दसैँमा मासुको खपत अप्रत्यासित बढेन, जसका कारण आकस्मिक मूल्यवृद्धि हुन पाएन । तर, यसपटक नेपालीहरू कोभिडमुक्त दसैँ मनाउँदै छन् । जसका कारण यो दसैँमा खसीको मासुको मूल्य अप्रत्यासित वृद्धि हुनसक्छ । सर्वसाधारण उपभोक्ता मारमा पर्न सक्छन् । त्यसैले राज्य संयन्त्रमा रहनेहरू चनाखो हुनु जरुरी छ ।

बडादसैँमा मात्रै नेपालमा करिब ७६ अर्ब रुपैयाँको मासु खपत हुने सरकारी तथ्यांक छ । यो तथ्यांकमा अण्डा, कुखुरा, हाँस, बंगुरलगायतका मासुको लेखाजोखा समावेश छैन । दसैँमा देवी दुर्गालाई बलि दिने र घरमै मार हानेर मासु खाने चलन पनि रहेकाले उपत्यकासहित देशभर साढे ७५ अर्ब रुपैयाँको मासु उपभोग हुने गरेको छ । यो वर्ष भने मासुको उपभोग दर अझै बढ्न सक्ने सरोकारवाला विज्ञहरूको भनाइ छ । दसैँको अवधिमा काठमाडौं उपत्यकामा ५० हजार खसी÷बोकाको माग हुन्छ । उपत्यका बाहेकको क्षेत्रमा पनि ३० लाख गोटा खसी÷बोकाको माग हुन्छ । सामान्य दिनभन्दा दसैँको समयमा दैनिक खपत करिब पाँच गुणा बढ्छ ।

खसी–बोकाको देशभर कुल मागमध्ये अहिले करिब ९५ प्रतिशत स्वदेशी उत्पादनबाट पूरा हुँदै आएको छ । बाहिरबाट सबै प्रक्रिया पूरा गरी करिब पाँच प्रतिशतको हाराहारीमा मात्रै खसी÷बोका आयात भइरहेको सरकारी दावी छ । आर्थिक वर्ष ०७८÷७९ मा ४ करोड ६२ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका तयारी मासु आयात भएको थियो । चालु आर्थिक वर्षको साउनमा मात्रै ३२ लाख रुपैयाँ मूल्य बराबरको तयारी मासु आयात भएको थियो ।

यो वर्ष दसैँको लागि भनेर सरकारी, निजी क्षेत्र, सहकारीमार्फत करिब ५५ हजार खसी÷बोका उपत्यकाको बजारमा भित्रिएको छ । यसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई हजार, चौपाया खरिद बिक्री सेवा संघले ४० हजार र किसानसम्बद्ध विभिन्न सहकारीले १३ हजार गोटा खसी÷बोका बजारमा भित्र्याएका छन् । यसैगरी सीमा नाका नजिक भएका जिल्लाहरूमा भन्सार छलेर भारतबाट भित्रिने खसी÷बोकालाई नेपाली उत्पादन भएको भन्दै पशु चिकित्सकले प्रमाणित गरेर नेपालमा ठुलो संख्यामा ल्याउने गरेका छन् ।

यसपटक महानवमी तथा विजयादशमीको आसपासमा जिउँदो खसीबोकाको मूल्य बढ्न सक्ने निजी क्षेत्रका व्यवसायीहरूले बताएका छन् । चौपाया खरिद बिक्री सेवा संघले दसैँको समयमा स्वदेशी र भारतबाट आयातित जिउँदो खसी÷बोकाको प्रतिकिलोमा १ सय ५० रुपैयाँसम्म बृद्धि हुन सक्ने जनाएको छ । राजधानी काठमाडौं केन्द्रित व्यवसायीले अहिले स्वदेशी जिउँदो खसी–बोका प्रतिकिलो ६ सय ५० र भारतबाट आयातित खसी÷बोका प्रतिकिलो ७ सय १५ रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

दसैँ र मासु भनेको पर्यायवाची

उच्च वर्गदेखि दैनिक ज्यालादारीमा काम गर्ने समूहले पनि सकेसम्म मासुको जोहो गरी दसैँ मनाउने चलन छ । चाहे त्यो खसी÷बोकाको मासु होस् वा कुखुराको । नेपालमा सबैभन्दा बढी मासुको खपत दसैँको सात दिनको अवधिमा हुन्छ । पशु सेवा विभागका अनुसार दसैँको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढी हुने गरेको छ ।सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर २ सय १२ ग्रामसम्म पुग्छ ।

विभागका अनुसार दसैँको अवधिमा उपत्यकासहित देशभरगरी राँगा, माछा, खसी÷बोका र च्याङग्राको ९ करोड १९ लाख ६ हजार किलो मासुको खपत हुन्छ । यसको बजार मूल्य ७५ अर्ब ५६ करोड २० लाख ८० हजार रुपैयाँ हुन आउँछ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता चन्द्र ढकालका अनुसार दसैँको अवधिमा उपत्यकामा ५० हजार खसी÷बोकाको माग हुन्छ । उपत्यका बाहेकको क्षेत्रमा पनि ३० लाख गोटा खसी÷बोकाको माग हुन्छ । ‘सामान्य दिनभन्दा दसैँको समयमा दैनिक खपत करिब दोब्बर परिमाणले बढ्छ ।

यसैगरी यो समयमा पाँच हजार गोटाको संख्यामा च्याङ्ग्रा पनि खपत हुन्छ । यही अवधिमा १ हजार ५ सय गोटा राँगा पाडा पनि खपत हुन्छ । दसैँको सात दिनको अवधिमा ४९ हजार गोटा हाँस, १ हजार २ सय ९५ गोटा बंगुर र ९१ हजार किलो माछाको पनि माग हुन्छ । सामान्य दिनमा उपत्यकामा दैनिक १ हजार १ सयदेखि १ हजार २ सयको संख्यामा खसी–बोका खपत भए पनि दसैँ सुरु हुनासाथ उपत्यकामा खसी÷बोकाको माग वृद्धि भएर दैनिक ७ हजार १ सय ४२ गोटासम्म पुग्छ ।

गत वर्ष कोभिड महामारीको तीव्र संक्रमण फैलिएका कारण सर्वसाधारणले चाहेर पनि रमाइलो गरी दसैँ मनाउन पाएका थिएनन् । यो वर्ष अधिकांश नेपालीले कोभिडविरुद्धको खोप लगाएको र कोभिडको संक्रमण दर पनि निकै घट्दो अवस्थामा रहेकाले दसैँ मान्न सर्वसाधारण निकै हौंसिएका छन् । यसले गर्दा मासुजन्य बस्तुको बजार निकै तातिएको छ ।

सरकारको आधिकारिक तथ्यांकअनुसार दसैँमा उपत्यकासहित देशभर ३० लाख ५० हजार गोटा खसीबोका खपत हुन्छ । पशुसेवा विभागका अनुसार औषत ३० किलोको एउटा खसीको औषत मूल्य प्रतिकिलो सात सय रुपैयाँ मान्दा ३० लाख ५० हजार गोटा खसीबोकाको मूूल्य ६४ अर्ब ५ करोड रुपैयाँ पर्न आउँछ । दसैँको अवधिमा खसी–बोकापछि राँगा÷पाडाको मासु अत्यधिक खपत हुन्छ ।

खासगरी नेवार समुदायमा राँगाको छोइला, कचिला, भुटन, कबाब, ममलगायतका परिकार बनाएर खाने चलन अत्यधिक भएकाले यो बेला राँगा÷पाडाको मासुको उपभोग दर पनि निकै बढ्छ । दसैँको समयमा १ हजार ५ सय गोटा राँगाको माग हुन्छ । राँगा व्यवसायी बुद्ध साहीका अनुसार बजारमा तीन प्रकारको राँगा÷पाडाको बजारीकरण हुन्छ ।

५० देखि ९० किलो, ९० देखि १ सय ७० किलो र दुई सयदेखि २ सय ५० किलो गरी तीन प्रकारको राँगा, पाडा र भैँसीको बजारीकरण हुन्छ । यसमध्ये बजारमा सबैभन्दा बढी १ सय ७० किलो तौलको बढी बिक्री हुन्छ । एक सय किलो औषत तौल भएको १ हजार ५ सय राँगा, पाडा र भैंसीलाई जनही ७५ हजार रुपैयाँका दरले हिसाब गर्दा ११ अर्ब २५ करोड रुपैयाँ बराबरको दसैँको अवधिमा यसको कारोबार हुन्छ । दसैँको अवधिमा मुख्यगरी काठमाडौं र पोखरामा च्याङ्ग्राको कारोबार हुन्छ । सरकारी तथ्यांकअनुसार उपत्यकामा दुई हजार र पोखरामा ३ हजार २ सयको संख्यामा च्याङ्ग्राको बिक्री हुन्छ ।

तर पाँच हजार गोटाकै हिसाब गर्दा पनि औषत ३५ किलोको जिउँदो च्याङग्रालाई प्रतिकिलो औषत मूल्य १ हजार ३ सयका दरले २२ करोड ७५ लाख रुपैयाँ बराबरको दसैँको अवधिमा यसको कारोबार हुन्छ । पशु सेवा विभागकाअनुसार दसैँको अवधिमा ९१ हजार किलो माछा पनि खपत हुन्छ । ३ करोड ४५ लाख रुपैयाँ बराबरको जिउँदो र आयातित माछा पनि नेपालमा खपत हुन्छ । औषत मूल्य ३ सय ८० रुपैयाँका दरले ३ करोड ४५ लाख रुपैयाँ बराबरको ९१ हजार किलो जिउँदो र आयातित माछाको बजारीकरण दसैँको समयमा हुन्छ ।
काठमाडौंमा मासु आपूर्तिको व्यवस्था

पशु सेवा विभागका अनुसार उपत्यका र देशभरकै मासुजन्य बस्तुको माग पूरा गर्न आपूर्ति गर्ने प्रणालीलाई कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ ।स्वदेशी बजारमा मासुजन्य वस्तुको जे जति माग छ, त्यसलाई पूरा गर्न आन्तरिक रूपमा कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याइएको छ । खसी÷बोकाको देशभर कुल मागमध्ये अहिले करिब ९५ प्रतिशत स्वदेशी उत्पादनबाट पूरा हुँदै आएको छ ।

बाहिरबाट सबै प्रक्रिया पूरा गरी करिब पाँच प्रतिशतको हाराहारीमा मात्रै खसी÷बोका आयात भइरहेको विभागको दाबी छ । आर्थिक वर्ष ०७९–८० मा ४ करोड ६२ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका तयारी मासु आयात भएको थियो । चालु आर्थिक वर्षको साउनमा मात्रै ३२ लाख रुपैयाँ मूल्य बराबरको तयारी मासु आयात भएको थियो । ०७७ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मासुजन्य पदार्थमा मुलुक आत्मनिर्भर भएको भनेर घोषणा गर्नुभएको थियो । यो वर्ष दसैँको लागि भनेर सरकारी, निजी क्षेत्र, सहकारीमार्फत करिब ५५ हजार खसी–बोका उपत्यकाको बजारमा भित्रँदै छ ।

यसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई हजार, चौपाया खरिद बिक्री सेवा संघले ४० हजार र किसानसम्बद्ध विभिन्न सहकारीले १३ हजार गोटा खसी–बोका बजारमा भित्र्याएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुलभ मूल्यमा च्याङ्ग्राा उपलब्ध हुन नसकेकोले थप एक हजार गोटा खसी÷बोका बजारमा ल्याइएको छ ।

यसबाहेक असंगठित रूपमा थप करिब १० हजारको संख्यामा खसी÷बोका पनि उपत्यकाको बजारमा भित्रिएको अनुमान गरिएको छ । बाटोघाटो र ढुवानीको अभावका कारण बजारमा भित्रिने कुल खसी÷बोकामध्ये झण्डै १० प्रतिशतको हाराहारीमा आयातित खसीबोका हुन सक्ने औँल्याइएको छ ।

दसैँमा हुने गरेको डलरखेति

वर्षभरी अरू बेला चुप लागेर बस्ने, बडादसैँको पूर्वसन्ध्यामा पशु अधिकार भन्दै जुरमुराएर उठ्ने प्रवृत्तिले भने विवाद निम्त्याउने गरेको छ । विवाद यतिमा मात्रै सीमित छैन । बडादसैँ एउटा जातिका विरुद्ध अर्काजातिले मनाउने गरेको भन्दै मिडियावाजी गर्ने प्रचलन पनि बढेको छ । बडादसैँको पूर्वसन्ध्यामा यस्ता खालका आर्टिकल पनि आउने गरेका छन् । बडादसैँको पूर्व सन्ध्यामा पशु अधिकारकर्मी जुरमुराउनु, अक्षता र जमराको विरोध हुनु संयोग मात्रै हो या कसैले प्रायोजन गरेको हो ? भन्ने प्रश्न स्वभाविक रूपमा उठ्ने गरेको छ ।

गैरहिन्दूको कित्ताबाट पशुबलि तथा अक्षता तथा जमराको विरोध हुँदा धार्मिक सद्भाव खलबलिने संभावना बढ्छ । पशुको हत्या नगरी पनि जीवनयापन संभव भएकोले सकेसम्म शाकाहरी भोजन गर्नुपर्ने सन्देश प्रवाह गर्नु राम्रो हो । तर मासु खान कुनै धर्मले सिकाएको होइन । मानिसहरू विभिन्न धार्मिक आस्थामा संलग्न हुनुअघिदेखि नै पशुको वध गरेर मासु खाने चलन थियो । आफूले भोजन गर्नुअघि देवता–पितृलाई अपर्ण गर्नुपर्ने मान्यताअनुसार पशुवलीको चलन आएको हो ।

पशुवलीको चलन हिन्दूधर्मावलम्बीहरूमा भन्दा इशाई तथा इस्लाम धर्मावलम्बीहरूमा बढी छ । तथ्यांक हेर्ने हो भने बडादसैँका अवसरमा जति पशुहरूको बध गरिन्छ त्यो भन्दा हजारौँ गुणा बढी पशुको बध क्रिसमस र बकर इदको अवसरमा गरिन्छ । अमेरिकामा प्रत्येक दिन लगभग तीन देखि पाँच मिलियन भेडा र दुई मिलियन खसी, बोका, बाख्रा बध हुन्छन्, कुखुरा २४ मिलियन र गाई चार हजार प्रत्येक घण्टा बध हुन्छन् भने क्रिसमसमा एकै दिन २२ मिलियन टर्कीको बध हुन्छ ।

अमेरिकामा एक वर्षभित्र चार सय मिलियन टर्कीको मात्र बध हुन्छ । तर क्रिसमस र बकर इदका बेला कुनै पशुअधिकारकर्मीहरूले ¥याली निकाल्ने हिम्मत गरेको देखिँदैन । यता नेपालमा बडादसैँको पूर्वसन्ध्यामा पशुअधिकार भन्दै विरोध ¥याली गर्ने परम्पराजस्तै बन्न लागेको छ । नेपालका सन्दर्भमा सर्वसाधारण जनताले मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था छ । त्यसमा पनि सर्वसाधारणले धित मरुन्जेल मासु खाने भनेको बडादसैँको बेलामा मात्रै हो । धनीमानीहरूले त दिनदिनै मासु खाइरहेका छन् ।

राजधानी काठमाडौंमै पनि हरेक दिन मासुका लागि हजारौँ पशुको बध गरेको देखिन्छ । अधिकारकर्मी हुँ भन्दै बडादसैँमा दिइने बलीको विरोध गर्नेमध्ये कतिपयको मासु विनाछाक नै नचल्ने गरेको देखिएकै छ । आर्थिक उपार्जन तथा जीविकोपार्जनका लागि पेसा तमाम छन् । अर्काको चाडपर्वमाथि घृणा फैलाउने व्यवसाय भनेको स्वयंमा हिंसा हो । यस्ता व्यवसाय नगरेकै राम्रो । इसाई तथा इस्लामीहरूले दैनिक मिलियन बध गर्दा जायज हुने नेपालीहरूले चाडपर्वको अवसरमा मासु खाने चलनको भने विरोध गर्ने भनेको जो होचो उसैको मुखमा घोचो भनेको जस्तै हो ।

आफूले अँगालेको धर्म बिस्तार गर्ने अभियानमा रहेका इसाई संघ संस्थाहरूले नेपाली आस्थामाथि आक्रमण गर्नु अस्वभाविक नहोला, तर स्वयं नेपालीहरू पनि आफ्नै आस्थाको विरुद्ध उनीहरूको बहकावमा आएर विरोध गर्नु विडम्बना हो । स्वेच्छाले मासु नखान पाइयो । तर स्वेच्छाले मासु खानेहरूको विरोध गर्न पाइँदैन । मासु सेवनका फाइदा दसैँको मूख्य खाद्य परिकार नै मासु हो । शरीर वृद्धि, बलवृद्धि, आयुवृद्धि, स्वास्थ्य वृद्धि, बुद्धिवृद्धिका लागि मासु समान सर्वसुलभ खाने कुरा अरू छैनन् । तर मासु खाँदा भाँति पु¥याउन सकिएन भने लाभभन्दा हानि धेरै गर्छ । सन्तुलन मिलाएर खान नसके रोगको मुख्य स्रोत बन्छ मासु ।

जब सही किसिमको मासु छनौट गर्न सकिँदैन, सही ढंगले भण्डारण गर्न सकिँदैन, सही ढंगले पकाउन जानिँदैन, सही ढंगले खान जानिँदैन तब मासु हानिकारक हुन्छ । यदी सही ढंगले, सही मात्रामा मासु सेवन गर्ने हो भने त्यसले हानि होइन, फाइदा गर्छ । मासुलाई धेरै प्रोटिनको राम्रो स्रोत मानिन्छ । मासुबाट प्राप्त हुने प्रोटिन गेडागुडीबाट पाइने प्रोटिनभन्दा बढी बायोलोजिकल भ्याल्यु हुन्छ । यसको अर्थ भनेको मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ ।

मासु आइरनको राम्रो स्रोत हो । सागसब्जी, तरकारी, फलफूलबाट पनि आइरन पाइन्छ । तर, मासुबाट हेम–आइरन पाइन्छ । जुन आइरनलाई शरीरले बनस्पतिबाट पाइनेभन्दा बढी सोस्न सक्छ । शरीरमा आइरनको कमि भएमा रगतको कमि हुन गई रक्तअल्पताको समस्या निम्तन्छ । मासुमा पाइने अर्को महत्वपूर्ण भिटामिन भनेको भिटामिन बी–१२ हो । जुन वनस्पतिजन्य खाद्यपदार्थबाट प्राप्त गर्न सकिँदैन । पछिल्लो समय धेरै मानिसमा भिटामिन बी–१२ को कमि देखिन थालेको छ ।

यसको कमीले खुट्टा छिटो निदाउने, हात खुट्टा कटकट खाने, चाँडै बिर्सने र रगतको कमी हुने, डिप्रेसन लगायतको समस्या निम्तन सक्छ । मासुबाट फ्याट, भिटामिन बी, ए, के, पोटासियम, फोस्फोरस, जींक, म्याग्नेसियम लगायतका पौष्टिक तत्व पनि प्राप्त हुन्छ । जुन स्वास्थ्यको लागि अतिआवश्यक छ । यसैगरी सुंगुरको मासुमा बोसोको मात्रा अरू मासुको तुलनामा अत्यधिक हुन्छ । तर, यसको बोसो कुखुरा, खसी र राँगाकोजति हानीकारक भने हुँदैन । किनकी यसमा कोलेस्ट्रोल फ्याटको मात्रा कम हुन्छ र अनस्याचुरेटेट फ्याट बढी हुन्छ । जुन स्वास्थ्यको लागि राम्रो हो । त्यसैले सकेसम्म खसी कुखुराको भन्दा सुंगुरको मासु खानु नै उत्तम हुने खाद्य तथा पोषणविद्हरू बताउँछन् ।

प्रतिक्रिया