रौतहटमा जग्गा हड्प्ने गिरोह सक्रिय

रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित अलपाइन होटलमा जग्गा ठगी प्रकरणविरुद्ध पीडितले पत्रकार सम्मेलन गरेका छन् । चन्द्रपुर नगरपालिका–८ का ३० वर्षीय अर्जुन चौधरीले आफू ठगिएको व्यहोरा पत्रकार सम्मेलन गरी बताएका हुन् ।

व्यवसायका लागि पटकपटक विभिन्न बैंकमा जाँदा पनि बैंकबाट चौधरीले ऋण नपाएपछि उनकोे व्यवसाय गर्ने योजना सफल हुन सकको थिएन । यसैको फाइदा जग्गा ठगी गर्नेले उठाए । त्यही ठगी समूहका एक जनाले चौधरीलाई सम्पर्क गरी उनको जग्गा आफ्नो नाममा पास गरेमा बैंकबाट ऋण लिई दिने कुरामा विश्वस्त पारे । यसै कुरामा विश्वास गरी चौधरीले २० लाख रुपैयाँ लिने गरी आफ्नो जग्गा उनको नाममा पास गरेका थिए ।

अहिले जग्गा पास गरेको सात महिना बितिसक्दा पनि उनको हातमा न पैसा पर्यो न त जग्गा नै फिर्ता पाए । व्यवसाय गर्ने सपना बोकेर हिँडेका पीडित चौधरीको सपना सपनामै सीमित रहन पुग्यो । रौतहट शिवनगर घर भई हाल चन्द्रनिगाहपुरमा व्यवसाय गर्दै आइरहेका ३५ वर्षीय ओमनाथ गिरीले निज चौधरीको ५ कठ्ठा १० धुर हालको बजार मूल्य करिब तीन करोडभन्दा बढी मूल्यको जमिन हडपेर पीडितलाई घरबारविहीन बनाएका हुन् ।

गिरी र चौधरीको यसअघि चिनजान थिएन । चिनजान गराउने बिचौलिया थिए चन्द्रपुर नगरपालिका–२ का रविप्रसाद साह । साहजस्ता बिचौलियालाई मोटो रकम दिएर प्रयोग गरी गिरीले धेरैको जग्गा हडप्ने कार्य गरेको समेत पत्रकारमा जानकारी गराएका थिए ।

चौधरीले आफ्नो जग्गा फिर्ता दिनका लागि गिरीसँग पटकपटक ताकेता गरे पनि उनी असफल भए । धेरैचोटी ताकेता गर्दा गिरीले विचौलियाले लगेको मोटो रकम फिर्ता दिलाइदिएमा जग्गा फिर्ता गरिदिने भन्दै मानसिक तनावसमेत दिएका थिए । जग्गा फिर्ता पाउनका लागि चौधरीले विभिन्न पार्टीका नेताहरूसमक्ष हारगुहार लगाउन पनि पुगे तर हात लाग्यो शून्य ।

एकातिर असफलता अर्काेतिर घरपरिवारको मानसिक तनावले गर्दा उनले आत्महत्या गर्नेसम्मको सोच बनाएको पत्रकार सम्मलेनमा बताए । अन्त्यमा साथीभाइले पत्रकार सम्मेलन गरी न्यायको लागि लड्न प्रेरित गरेकाले आज यहाँ उपस्थित भएको बताए ।

बिचौलिया साह र पीडक गिरीको जालझेलमा घरबारविहीन हुन पुगेका अर्जुन चौधरी एक उदाहरण मात्र हुन् । गिरीजस्ता जग्गा ठगीमा सामेल भू–माफियाहरूको एउटा ठूलो जमात जिल्लाभरि सक्रिय छन् ।

केही समय अगाडि एनआइसी एसिया बैंकले ठग्यो भन्दै रोइकराइ गर्ने एक हुल भू–माफियाहरूले अरूको जमिन आफ्नो नाममा गरेर बैंकबाट कृषिको नाममा ३० करोडभन्दा माथि ऋण लिएर चौधरीजस्ता जग्गाधनीहरूलाई घरबारविहीन बनाउने षड्यन्त्रको पर्दाफास छिट्टै हुने क्रममा छ ।

पीडितहरूलाई केही समय मागेर जग्गा बैंकबाट निकाली पास गरिदिने आश्वासनपछि यो षड्यन्त्र केही समयको लागि थामथुम भए पनि पीडितहरूको चिन्ता भने चाडबाडको बेलामा अझै सकिएको छैन । पछिल्लो समय यसरी सर्वसाधारणको जग्गा ललाइफकाई हड्पेर बैंक ऋण लिने र साँवा व्याज भुक्तानी नगरी जग्गाधनीलाई घरबारविहीन बनाइदिने भू–माफियाहरूको बढ्दो चलखेलबाट सचेत हुनुपर्ने उदाहरण चौधरीको कथाबाट स्पष्ट बुझिन्छ ।

आर्थिक मन्दीको मार खेपिरहेका युवापुस्ताहरूको हतासले यस्ता दुर्घटना हुनबाट जोगिनुपर्ने देखिन्छ । चर्को मिटर व्याजको जाल यिनै गिरी जस्ता भू–माफियाहरूको सञ्जालबाट स्थापित हुने र मारमा पर्ने युवाहरूले आत्महत्या गर्नुपर्ने स्थितिले समाजमा यस्ता घटना हुनबाट युवाहरू स्वयं सचेत हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया