रौतहटको वृन्दावनमा नयाँ हाकिमको रुपमा पटेल हाजिर

रौतहट । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको कार्यालयमा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा रासनरायण पटेल पुनः दोस्रो पटकको लागि हाजिर भएका छन् ।

बिहीबार सो नगरपालिकाका नग प्रमुख विनोदप्रसाद कुर्मीले त्यहाँ निर्वाचित वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुको साथै कार्यालयका कर्मचारीहरूको उपस्थितिमा फूलमाला, खादा तथा टीका लगाएर स्वागत गर्दै पटेललाई कार्यालयमा हाजिर गराएका हुन् ।

कार्यालयमा हाजिर भएलगतै हाकिम पटेलले सर्वसाधारणले कार्यालयबाट पाउने सबै प्रकारका सेवा तथा सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गर्दै आफूले नियमानुसारका महसुस हुने गरी, सर्वसाधारण नागरिकलाई सेवा दिन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

अधिकृत पटेलले नगरपालिकालाई नमुना बनाउने काममा आफ्नो सहयोग सधैं रहने उल्लेख गर्दै जनप्रतिनिधिलाई नियम र कानूनले दिएसम्मको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । पटेलले यसअघि वृन्दावन नगरपालिकामा भएको कमी कजोरीहरुलाई सुधार्दै आफू पनि अगाडि बढ्ने र सबैलाई एक ढिका भएर अगाडि बढ्न आग्रह गरे ।

उनले अब पालिकाको प्रशासनिक र आर्थिकलगायत अन्य कामकाज पनि अघि बढ्ने विश्वास व्यक्त गरे । यति मात्र न भई नगरपालिकाको खाता सञ्चालन भएलगत्तै रोकिएर बसेका कर्मचारीहरुको तलब, सामाजिक सुरक्षा भत्ता र जनप्रतिनिधिहरुको सेवासुविधालगायत अन्य बाँकी बक्यौता भुक्तानीको कामकाज पनि अगाडि बढाउने विश्वास दिलाउँदै उनले आफूले सो पालिकाको गरिमा बढाउने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । साथै उनले सबै जनप्रतिनिधि, कर्मचारी, राजनीति कर्मी, नागरिक समाज र पत्रकार जगतकोसमेत साथ र सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गरे ।

वृन्दावन नगरपालिका विगत केही समयदेखि कार्यालय प्रमुखविहिन रहेको कारणले नगरको सम्पूर्ण कामकाज अस्तव्यस्तमा परेको थियो । सो कुराको मध्यनजर गर्दै कार्यालयले २०८० असोज १८ गतेको पत्रबाट नगर कार्यपालिकाको निर्णयसहित लेखी पठाइएको पत्रबमोजिम सो कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी पटेलले जिम्मेवारी पाएका हुन् ।

पटेल नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह तर्फका अधिकृत स्तर छैटौँ तहका सोही नगरपालिकामा कार्यरत कर्मचारी हुन् । उनले विगतका दिनमा पनि सो नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर कामकाज गरिसकेका छन् ।

उक्त कार्यक्रममा वडा नं १ का वडाध्यक्ष रामनाथ सहनी, वडा नं. ६ का वडाध्यक्ष मजहर मन्सुर, वडा नं. ८ का वडाध्यक्ष रबिन्द्रप्रसाद साह, वडा नं. ९ का वडाध्यक्ष प्रवेज आलमको साथै कार्यपालिका सदस्यहरु लालपरी देवी, पुनम पासवान, एतबरिया देवी, राजेश पासवान र रामबाबु साहलगायत विभिन्न कर्मचारी तथा भद्रभलादमी बुद्धिजीवीहरुक उपस्थिति समेत रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया