लमजुङ । चाडपर्व नजिकिएसँगै लमजुङको बेसीशहर नगरपालिकाले जिल्ला कारागारका कैदीबन्दीलाई दशैँको लागि उपहार स्वरुप दुईवटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका दुईवटा खसी सहयोग गरेको हो ।
नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापति अधिकारी, कैदीबन्दीका नाइकेलाई उक्त खसी सहयोग गरेका हुन् । नगरप्रमुख अर्यालले कारागारमा बन्दी जिवन बिताइरहेकाहरु परिवारबाट टाढा रहने भएकोले उनीहरुलाई थोरै भए पनि चाडपर्वमा खुसी दिनका लागि नगरपालिकाले सहयोग गरेको बताए ।
पछिल्लो समयमा जिल्लामा मात्रै नभइ देशको अन्य ठाउँमा हत्या, हिंसा ,चोरी, डकैती, बलात्कार जस्ता नकरात्मक गतिविधिले मुलुका मान्छेको जनजीवन कष्टकर बन्दै गएको छ । विभिन्न घटना तथा अपराधमा कारागार चलान भएका कैदीबन्दीलाई यसरी सेवा सुविधा दिएपछि जिल्लामा कसरी अपराध कम हुन्छ ? ।’
यस विषयलाई केही मानीसहरुकाे राम्रो भने पनि सरासर अपराधीलाई अपराध गर्न प्रोत्साहन मिलेको कतिपयको भनाइ छ । स्थानीय स्तरका नाजुक आर्थिक अवस्था भएका अपांग, बेसाहारा, अनाथलाई पनि सरकारी निकायको सहयोग आवश्याक रहेको केही व्यक्तिको बुझाई छ । प्रश्न हुन्छ, ‘किन यता ध्यान जाँदैन जनप्रतिनिधिहरुको ? यो सर्वसाधारणको चासोको विषय बनेको छ ।’
त्यसो त यो वर्ष मात्रै होइन, गत वर्ष पनि नगरपालिकाले ३० हजार बराबरको खसी सहयोग गरेको थियो । अर्यालले नगरपालिकाले चालुतर्फको अन्य सामाजिक सहायता शिर्षकबाट कैदीबन्दीलाई ४० हजार रुपैयाँको दुईवटा खसी सहयोग गरेको बताए । कारागारका जेलर कमलापति अधिकारीले दशैँमा कैदीबन्दीका लागि सरकारले थोरै मात्र सहयोग गर्ने भएकोले बेसीशहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदीबन्दीलाई खुसी थप्ने बताए ।
खसी सहयोग कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायत कर्मचारी र सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।
बेसीशहर नगरपालिकाले प्रत्येक वर्ष दशैँमा सहयोग गर्दै आइरहेको छ । लमजुङ कारागारमा हाल ७ जना महिलासहित ८८ जना कैदीबन्दी रहेको छन् । फितलो कानूनी व्यवस्थाले गर्दा जिल्लामा अनैतिक गतिविधि बढेको छ । यस्को न्यूनीकरण गर्न सेवा सुविधामा थप नभइ कडा कानूनी दायरामा कारागार चलान गर्नुपर्ने केहीको भनाइ छ ।
लमजुङ
प्रतिक्रिया