कठमाडौं । भ्रमणको लागि छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।
तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन चीन पुगेका गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएको बताइएको छ । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो ।
श्रेष्ठको सचिवालयका अनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । उनको अहिले आईसीयूमा राखेर उपचार भइरहेको श्रेष्ठको सचिवालयले जनाएको छ । चिकित्सकका अनुसार श्रेष्ठ खतरामुक्त्त छन् ।
गृहमन्त्री श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुन सोमबार चीन पुगेका थिए ।
वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार श्रेष्ठलाई गएराति १२ बजे हृदयाघात भएको हो । श्रेष्ठले छात्ती दुख्यो भनेपछि राति नै उनलाई बेइजिङस्थित इन्टरनेशनल मेडिकल साइन्सेज हस्पिटल भर्ना गरिएको छ । उपचारमा संलग्न चिकित्सकले श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको बताएका छन् ।
राति नै तुरुन्तै उनको मुटुको एन्जीओप्लास्टी गरिएपछि उनको अवस्था अहिले स्थित रहेको श्रेष्ठको सचिवालयले जनाएको छ । उनलाई २४ घण्टासम्म अस्पतालमै अब्जर्भेसनमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया