काठमाडौं । नेपाली कला तथा साहित्य क्षेत्रमा योगदान दिएका चार स्रष्टालाई सम्मान गरिएको छ । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले सोमबार ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विद्याका विद्वान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गरेको छ । यस्तै, कार्यक्रमका प्रमुख अतिथि अभिनेत्री मनिषा कोइरालाले ‘सरस्वती सम्मान’ साहित्यकारहरू विष्णुविभु घिमिरे र लक्ष्मण नेवटिया एवं ‘नारायणगोपाल संगीत सम्मान’ गायिका झुमा लिम्बूलाई प्रदान गरिन् । सो अवसरमा अभिनेत्री कोइरालाले सिर्जनामार्फत समाजलाई योगदान दिएका स्रष्टालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताइन् । उनले आयोजकले स्रष्टाको योगदानको उचित कदर गर्दै समाजमा सिर्जनाको महत्वलाई अझ स्थापित गर्न मद्दत गरेको धारणा राखिन् ।
उनले भनिन्, ‘आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत प्रस्तुत गर्ने साहित्यकार तथा कलाकारलाई प्रोत्साहित गरेकोमा आयोजकलाई धन्यवाद दिन चाहान्छु ।’ कला मन्दिरका संरक्षक बसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको सुनाउँदै सबैबाट उस्तै सहयोग मिल्ने आशा राखेको बताए । सो कार्यक्रममा प्रा.डा.उषा ठाकुरको ‘विचार र विश्लेषण’ तथा कवि लक्ष्मण नेवटियाको कविताकृति ‘व्यंग्यधाम’ को विमोचनसमेत गरिएको थियो ।
प्रतिक्रिया