चाडपर्व र बढ्दो महँगी

फलफूल तथा तरकारीको मूल्यवृद्धिको फाइदा ठूला व्यापारी र बिचौलियाले मात्रै उठाइरहेका छन् । वास्तविक दुःख गर्ने किसान वर्ग र त्यसको दैनिक प्रयोग गर्नुपर्ने उपभोक्ता भने सधैँ ठगिइरहेका छन् । तरकारी र फलफूलको मूल्यवृद्धि नियन्त्रण गर्ने हो भने सबैभन्दा पहिला बिचौलिया हाबी हुने वातावरण अन्त्य गर्नुपर्छ । किसानले आफ्नो उत्पादन जम्मा गर्ने स्थानीय संकलन केन्द्रमा राज्यसंयन्त्रकै उपस्थितिमा मूल्य तोक्नुपर्छ ।

विश्वनाथ खरेल

नेपालीहरूका ठूला चाड पर्वहरू दसैँ, तिहार, छठ, धान्य पूर्णिमा, ल्होछार, माघी आदि हुन । यी मध्ये सबैभन्दा महान पर्व बडादसैँ हो । यो पर्व आश्विन महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन चल्ने भएको हुँदा नाम दसैँ रहन गएको अनुमान गर्न सकिन्छ । यस पर्वलाई हाम्रो देशको राष्ट्रिय पर्वको रूपमा मनाइन्छ । यस पर्वमा मान्यजनको आशीर्वाद, निधारभरि रातो टीका, कपाल र कानमा जमरा, गलामा विभिन्न किसिमका मालाहरू दसैँ पर्वका विशेषता हुन् ।

बडादसैँ पर्वमा नौ दिनसम्म देवीका विभिन्न रूपमा पूजाआजा, अर्चना, फूलपाती महोत्सव आदि कार्यक्रमहरू गरिन्छन् । यसर्थ यस वर्षको महान पर्व बडादसैँ संघारमा आइरहेको छ । यस वर्षको बडादसैँको विजयादशमी भने कात्तिक ७ गते मंगलबार परेको छ । टीकाको राम्रो साइत भने बिहान ११ बजेर २ मिनेटमा रहेको ज्योतिषीहरूले बताएका छन् । यद्यपि, नेपाल सरकारले पनि अन्य पर्वमा भन्दा यस पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउने हुँदा धेरै बिदा सरकारी कर्मचारीहरूले पाउने व्यवस्था छ । यस समयमा आ–आफ्ना घरमा गएर आफन्तहरूसँग भेटघाट गरी रमाइलो गर्दै ठूलो पर्वको रूपमा मनाइने गरिन्छ । यस पर्वमा टाढा–टाढा बसेका आफन्तसँगसँगै मिठोमसिनो खाने प्रचलन विगतदेखि रहिआएको छ । यस पर्वमा धेरै बली दिने पर्वको रूपको साथसाथै आफ्ना इस्टदेवतालाई मान्ने पर्वको रूपमा पनि लिन सकिन्छ ।

दसैँ पर्व मनाउनको लागि राजधानीबाट २०÷२५ लाख मानिसहरू विभिन्न जिल्लाहरू जाने अनुमान गर्न सकिन्छ । चाडपर्वका बेला अतिरिक्त उपभोग गर्ने चिनी, दूध, घ्यू जस्ता पदार्थको मूल्य पनि मानिसको काबुभन्दा बाहिर गएको छ । विगत वर्षहरूको भन्दा यस वर्षको दसैँ पर्वमा मासुको मूल्यमा वृद्धि भएको छ । हाल नै बजारमा तेल, घ्यू, चिनी, चामल, दाल, चिउरा आदिको मूल्य आकासिएको छ । त्यसमध्ये मासुको उपभोग पनि बढिनै हुने गरेको पाइन्छ । जसले गर्दा हाल मासु प्रतिकिलो १४ सयभन्दा बढी नाघिसकेको अवस्था छ भने दसैँमा १५÷१६ सय नपुग्ला भन्न सकिन्न । त्यसैगरी चडवाडमा सबैभन्दा बढी प्रयोग हुने तेल, घ्यू, चिनी, दाल, चामलमा पनि मूल्यवृद्धि कहालीलाग्दो रूपमा भएको छ । खासगरीकन हरेक नेपालीको भान्सामा दिनहुँ चाहिने चामल, तेल, गेडागुडी र दालको मूल्य अकासिएको छ ।

सबैभन्दा बढी जिराको मूल्य तीन दोब्बर बढेको छ भने त्यसपछि चिनी, अनि चामल, तेलको निकै मूल्य बढेको छ । यसरी अकासिएकोे मूल्यवृद्धिले आमजनताको ढाड सेकेको छ । कमाइधमाइ गर्ने र व्यापार बिजनेस गरेर दुई÷चार पैसा आम्दानी गर्न नसकिरहेको अवस्थामा बढ्दो मूल्यवृद्धिले चाडपर्व त परै जावस् दैनिक चुलो पनि कसरी बाल्ने हो ? भन्ने अवस्थामा पु¥याएको छ ।
सागपात, तरकारीमा पनि सोचेभन्दा कैयौँ गुणा मूल्यवृद्धि हुन पुगेको छ । हरेक वर्ष, हरेक वस्तुहरूमा केही प्रतिशत मूल्यवृद्धि त हुँदै आएको थियो तर यो वर्ष लगभग शतप्रतिशत जस्तो मूल्यवृद्धि हुन पुग्दा यसले उपभोक्तालाई चर्को मारमा पारेको छ । मनोमानी किसिमले मूल्यवृद्धि नगर्न नगराउन नियन्त्रण गर्न सरकार तथा त्यस मातहतका निकाय पनि नभएका होइनन् । तर, पनि महँगी नियन्त्रणका लागि कसैले पनि चासो देखाएको देखिँदैन । उपभोक्ता ऐन, नियमहरू बने पनि तिनको प्रभावकारी कार्यान्वयन पनि हुन सकेको देखिँदैन ।

दसैँ आफैँमा पनि खर्चालु पर्व हो । एकतर्फ चाडपर्वले देशको व्यापार–व्यवसायमा टेवा पु¥याउँछ भने अर्कातर्फ यस्ता चाडपर्व सर्वसाधारण जनताका लागि ठूलो चुनौतीको रूपमा देखा पर्छन् । तीन वर्ष अघि कोरोना महामारीले देशलाई थिलथिलो बनाएको थियो । जसलेगर्दा देशमा अधिकांश मानिसहरू बेरोजगारी भएका थिए । बेरोजगारीले गरिबीको रेखामुनिको जनसंख्या पनि बढाएको छ । यस्तो अवस्थामा दशैंजस्ता चाडपर्वले उनीहरूलाई थप आर्थिक भार पर्ने देखिएको छ ।

चाडपर्व भनेको हुनेखाने व्यक्तिहरूको मात्र हो भन्ने कुरालाई औँल्याएको देखिन्छ । यतिखेरको आवश्यकता पर्व र मेलाको जगेर्ना पनि हुने खालका यस्ता पर्वहरू मनाउन गाह्रो पर्दै गएको छ । नेपालको संविधानले नै धर्मअनुसार रीतिरिवाज र संस्कार अंगीकार गर्ने अधिकार नागरिकलाई दिएको छ । यो संवैधानिक व्यवस्थालाई कुण्ठित गर्ने अधिकार कसैलाई पनि छैन् । हाम्रा चाड पर्वका आस्थाको धरोहर यी स्थललाई कसरी सुरक्षित बनाउने सबाल नै निकै महत्वपूर्ण रहन्छ । स्थानीय स्तरमा हुने जात्रा तथा मेलालाई पनि व्यवस्थित गरिनुपर्छ । यस्ता संस्कारलाई हरेक समुदायले आफ्नो जीवनशैली र पद्धतिसँग जोडेका हुन्छन् । आ–आफ्नो गच्छ हेरेर मात्र यस्ता किसिमका चाडपर्व मनाउनु पर्छ । देखासिखी गरेर चाडपर्व मनाउनु हुँदैन । स्थानीय स्तरमा क्रियाशील सामाजिक संस्था, आमा समूह, युवा क्लबलगायतका संस्थाको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ ।

महँगी नियन्त्रण गरेर नागरिकका गाँस, वास र कपासजस्ता न्यूनतम आवश्यकता पूर्ति गर्न राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । मूल्यवृद्धि स्थायी समस्याजस्तै बनिसकेको छ । यद्यपी, मौसमअनुसार बजारमा यो कुनै न कुनै क्षेत्रमा प्रकट भइरहन्छ । सधैं देखिने र सबैजसो क्षेत्रले बेहोर्नुपर्ने भएका कारणले पनि यो विषय सरकारको प्राथमिकतामा नपरेजस्तो देखिन्छ । राज्यको गलत बुझाइका कारण यस्तो अवस्था उत्पन्न भएको हो । हरेकको भान्सासँग जोडिएका यस्ता समस्याको स्थायी समाधानका उपाय खोज्न ढिला भइसकेको छ ।

चाडपर्व बेलामा अर्थात सामान्य अवस्था किन नहोस्, सधैंजसो मूल्यवृद्धिको पीडा समाजका निम्न आय भएका वर्गले बढी खेप्नुपर्छ । कृषकले खेतबारीमा उत्पादन गरेको तरकारी उपभोक्ताको भान्सासम्म पुग्दा न्यूनतम चारदेखि ६ तहका बिचौलियाले फाइदा उठाउँछन् । तिनै बिचौलियाको प्रभावकै कारण अस्वाभाविक मूल्य बढिरहेको छ । यसरी बढेको मूल्यको फाइदा न किसानले उठाउन सक्छन् न त थोरै मात्रामा तरकारी किनेर बेच्ने व्यापारीले लिन सक्छन् । बलिया बिचौलिया समूहको प्रभावकै कारण किसानले खेतबारीबाट बेचेका सामानको मूल्य उपभोक्ताको भान्सासम्म आइपुग्दा १ सय ५० प्रतिशतसम्म वृद्धि हुन्छ । कुनै सामग्रीमा त दुई सय प्रतिशतसम्म पनि मूल्य बढ्ने गरेको पाइन्छ

फलफूल तथा तरकारीको मूल्यवृद्धिको फाइदा ठूला व्यापारी र बिचौलियाले मात्रै उठाइरहेका छन् । वास्तविक दुःख गर्ने किसान वर्ग र त्यसको दैनिक प्रयोग गर्नुपर्ने उपभोक्ता भने सधैँ ठगिइरहेका छन् । तरकारी र फलफूलको मूल्यवृद्धि नियन्त्रण गर्ने हो भने सबैभन्दा पहिला बिचौलिया हाबी हुने वातावरण अन्त्य गर्नुपर्छ । किसानले आफ्नो उत्पादन जम्मा गर्ने स्थानीय संकलन केन्द्रमा राज्यसंयन्त्रकै उपस्थितिमा मूल्य तोक्नुपर्छ । किसानको सबै उत्पादन उचित मूल्यमा किन्ने प्रबन्ध त्यहीँ गर्नुपर्छ । अहिले उपत्यकामा दैनिक नौ सय टनभन्दा बढी तरकारीको माग छ । मौसम तथा ढुवानी समस्याले दैनिक चार सय टनको हाराहारीमा मात्रै तरकारी उपत्यका भित्रिरहेको छ । तसर्थ मागअनुसार आपूर्ति नहुनु पनि मूल्य बढ्नुको एउटा कारण मान्न सकिन्छ । तर, यससँगै तरकारी उत्पादनलाई एकैनासको बनाउन कृषकको क्षमता वृद्धि गर्न आवश्यक छ ।

प्रतिक्रिया