‘हामीले राजनीतिको कोर्स चेन्ज गरिदिएका छौँ’

नेकपा एसको १५ दिने जागरण अभियान सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पाँच प्रदेशमा समाजवाद जागरण अभियान सम्पन्न गरेको छ । पार्टीले काँकडभिट्टाबाट सुरु गरेको सो अभियान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न गरेको हो । यही असोज १४ गतेदेखि सुरु भएको अभियान २९ गतेसम्म सञ्चालन भएको थियो । पार्टीका नीति सिद्धान्त र कार्यदिशाबारे जनतालाई बुझाउन अभियान गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।
सो अभियानअन्तर्गत देशको राजनीतिक परिस्थिति, भ्रष्टाचार, बेथितिको अवस्था र गरिबी न्यूनीकरणका लागि पार्टीको योजनाबारे जनतामा जागरण फैलाइनुका साथै जनताको घरदैलोमा पुगेर आर्थिक, राजनीतिक र सामाजिक सुरक्षाका विषयमा सुझाव संकलन गरिएको छ । पुँजीवादको विकल्पमा समाजवाद कार्यान्वयनमा जोड दिएको अभियानले जनताका सुझाव संकलन गरी क्रान्तिकारी समाजवादी नीति निर्माणमा गर्नेछ ।

जनताका समस्या समाधानका लागि पार्टीका वैचारिक नीति तथा राजनीतिक दृष्टिकोण आधारभूत तहसम्म स्थापित गर्न थालिएको सो अभियानका लागि विभिन्न सभा तथा सम्मेलन गरिएका छन् । काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजको चिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दीबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, हेटौँडा, चितवन, कावासोती, बर्दघाट, बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, कोहलपुरलगायत स्थानमा ठूला सभा सम्पन्न भएका छ्न् ।
यो अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी करिब चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको पार्टीको प्रचार विभागले जनाएको छ । पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेको सो अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन, अन्तरक्रिया, कोणसभा तथा ठूला आमसभासमेत गरिएका छन् । यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुने अभियानले बुधबार मणिग्राम र बुटवलमा ठूला सभा गरेको छ ।

‘समाजवादी जागरण अभियान–२०८०’, असोज १४ देखि पूर्व मेची नदीको किनारबाट सुरू भएर देशको दक्षिणी भू–भागका सबै जिल्लाहरू हुँदै सुदूरपश्चिमतिमा गएर सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालको अगुवाइमा सुरू भएको अभियान अहिले पश्चिम नेपालमा बृहत् सभाहरू गर्दै करिब १ हजार ३ सय किमि यात्रा गरेर सम्पन्न भएको छ । सयौँ नेता कार्यकर्तासहित देशव्यापीरूपमा हुँदै गरेको यो अभियान वर्तमान राजनीतिक सन्दर्भमा विभिन्न हिसाबले महत्वपूर्ण छ ।

सुर्खेतमा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको सरकार तलमाथि नहुने दाबी गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने जिकिर गरे ।

जागरणसभालाई सम्बोधन गर्दै उनले भने, ‘कतिपयलाई लागेको होला, यो गठबन्धन सरकार टिक्छ कि टिक्दैन भन्ने । कोशी प्रदेशमा नयाँ समस्या खडा भयो । त्यसले यो सरकारमाथि आशंका उठेको हुनसक्छ । यो सरकारलाई कसैले ढाल्न सक्दैन । कसैले जतिसुकै फुर्ती देखाए पनि यो फुर्ति चल्नेवाला छैन । किनभने हामी छौँ । हाम्रो पार्टीले राजनीतिक कोर्स चेन्ज गरिदिएको छ ।’

उनले एमालेलाई लक्षित गर्दै थपे, ‘आफूलाई ठूला भन्ने दलहरूलाई पनि हामीले देखाइदिएका छौँ । चुरीफुरी धेरै नगर्नुस् तपाईंहरूको खुट्टी हामीले देखिसकेका छौँ । के गर्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्न हामीलाई थाहा छ ।’

देशलाई सही दिशा दिन गठबन्धन बनाएको उनले बताए । नेता नेपालले अहिले जनतामा विरोधीहरूले सबै पार्टी एउटै भन्ने भ्रम फैलाइरहेको बताए । सो पार्टीको अभियानबारे केन्द्रिय सदस्य सुदेश पराजुली भन्छन्, ‘२०७९ सालको स्थानीय, प्रदेश तथा संघको चुनावमा पुराना राजनीतिक दलप्रतिको वितृष्णा मुख्यरूपले प्रकट भयो ।’ कारण जुनसुकै होस् तर पुराना राजनीतिक दलले जनअपेक्षा अनुरूप डेलिभरी गर्न नसक्नुले उक्त वितृष्णा पैदा गरेको सरसरी बुझ्न सकिन्छ । राजनीतिमा त्यही वितृष्णा चर्काएर घण्टीको उदय मात्र भएन अन्य प्रतिगामी शक्तिहरू पनि उपद्रो अवस्थामा देखिए । त्यति मात्र होइन नेपाली सहिष्णु समाजको नयाँ मोडेललाई समेत चुनौती दिँदै धार्मिक, जातीय तथा साम्प्रदायिकजस्ता अतिवाद अनेकन रूप धारण गरी समाजमा शृंखलाबद्ध रूपमा प्रकट हुन थाले ।

उनी भन्छन्, ‘रोजगारी, विकास, समृद्धि, सुशासन अग्रगमन बहसबाट नेपाली समाज अलग गर्दै विभाजन द्वन्द्व र अनुत्पादक बहसतिर समाजलाई धकेल्ने प्रयास निरन्तर भइरहेको छ । यसलाई तुरुन्तै सच्चाउन आवश्यक ठानेर नेकपा एकीकृत समाजवादीले रोजगारी, विकास निर्माण, सुशासन, समृद्धिलगायत सिंगो नेपाली समाजलाई अझै अग्रगतिको बाटोमा कसरी डोहो¥याउन सकिन्छ भनेर बहसको सृष्टि ग¥यो । समाजवादी जागरण अभियान त्यसैको एक कसी हो ।’ मुलतः यो अभियान राष्ट्रव्यापीरूपमा समाजवादको बहस छेड्ने र वैज्ञानिक समाजवादको आधार तयार गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।

पराजुलीका अनुसार नेपाली राजनीतिप्रति जनतामा भएको निराशावादी चिन्तनको हावी, वितृष्णा र गैरराजनीतिक सोच–चिन्तनहरूलाई परास्त पार्दै आशा जगाउन र राजनीतिक कोर्सलाई प्रतिगमनतिर फस्नबाट जोगाएर अग्रगमनको बाटोमा हिँडाउन यो यात्राले खास महत्व बोकेको छ । नेपालको राजनीतिक उपलब्धिलाई बचाएर थप उपलब्धि हासिल गर्न संविधानले मार्गनिर्देश गरेअनुसारको समाजवादी कार्यदिशा, कार्यक्रमहरू जनताको बीचमा सरकारले लैजानु अनिवार्य थियो । तर, संविधान निर्माणपछि बनेका सबैजसो सरकारले व्यक्तिवादलाई प्रश्रय दिँदै गए, जनताका अपेक्षाहरूलाई पूरा गर्न सकेनन, सुशासन, रोजगारी, समृद्धिको सपनालाई साकार पार्न सकेनन् । जसका कारणले जनतामा राजनीतिप्रति विश्वास गुम्दै गयो र हाम्रो व्यवस्थाका उपलब्धिमाथि समेत गम्भीर प्रश्न उठाउने दुस्साहस गर्न थालियो ।

उनी भन्छन् हजारौँ सहिदको बलिदान र लाखौंको संघर्षले स्थापित सत्ताले जन अपेक्षाअनुसार काम गर्न नसक्नुका अनेक कारण मध्ये हाम्रो राजनीतिले सही कोर्ष पक्डिन नसक्नु मुख्य हो । यो मेची–महाकाली समाजवादी जागरण अभियान नेपाली राजनीतिले पक्डिन नसकेको कोर्षलाई करेक्सन गर्ने एक महत्वपूर्ण अध्याय हुने निश्चित छ । हाम्रो राजनीतिले छुटाएका विषयहरू जस्तो रोजगारी, विकास, समृद्धिसँगै कम्युनिस्ट आन्दोलनमा देखापरेका दक्षिणपन्थी, अवसरवाद र अराजकतावादविरुद्ध संघर्ष गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक सैद्धान्तिक मार्गमा हिँडाउने प्रयासस्वरूप गरिएको यो अभियानलाई जनताले उत्सवको रूपमा लिएका छन् ।

प्रतिक्रिया