काठमाडौं–दिल्लीको भन्दा काठमाडौं–धनगढीको हवाई भाडा महंगो

सुदूरपश्चिम । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।

देशको आन्तरिक हवाई सेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौं–धनगढीको हवाई भाडा रु सात हजार ९ सयबाट वृद्धि गरी रु १७ हजारभन्दा बढी पुर्याएको गुनासो यात्रुको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे । उनले भने, ‘काठमाडौंदेखि नयाँ दिल्लीको हवाई भाडा रु १७ हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।’

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाई मार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडादर अनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए ।

‘मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ’, उनले भने, ‘चाड पर्वको बेला काठमाडौंबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडौं जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।’ भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ ।

हाल काठमाडौं–धनगढीको भाडादर रु १४ हजार सात सय एकदेखि रु १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौंसम्मको भाडा भने निम्नतम रु सात हजार ९ सय छ ।

गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत जोड्ने गरिएको छ । यस अघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौंमा रु चार सय र धनगढीमा रु पाँच सय तोकिएको छ ।

धनगढी विमानस्थलबाट बुद्ध एयर र श्री यएरलायन्सले काठमाडौं–धनगढी–काठमाडौंसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।

निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ ।

प्रतिक्रिया