‘ब्युँझिएको सिरानी’ को मञ्चन थपियो

काठमाडौं । जेडी तमुले निर्देशन गरेको नाटक ‘ब्युँझिएको सिरानी’ को चार दिन मञ्चन सो थपिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा १६ असोजदेखि २८ गतेसम्म चल्ने भनिए पनि दर्शकको चापका कारण नाटकको सो ४ दिन थपिएको निर्देशक तमुले जानकारी दिए ।

वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सहप्रस्तुतिमा तयार पारिएको नाटकमा मानसिक स्वास्थ्यको विषयलाई चित्रण गरिएको छ । निर्देशक तमुका अनुसार मानसिक स्वास्थ्यमाथि केन्द्रित रहेर तयार पारिएको नाटकलाई दर्शकले मन पराइरहेका छन् । सामाजिक मनोदशा र मानवीय संवेगात्मक विषयलाई नाटकले कलात्मक रुपमा उधिनेको छ । निर्देशक तमु एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय छन् । नाटकमा अभिनय र समसामयिक नृत्यको संयोजन छ । उनले भने, ‘यो एउटा नाटक मात्र नभई एक सशक्त अभियान पनि हो । जसले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने र छलफल गर्ने गर्दछ ।’

नाटकमा रूपेश लामा, सुरज तमू, मनि के राई, रेनुका घर्ती मगर, वेदना राई, सुजन सेनेहाङ, लुनिभा महर्जन, रामचन्द्र मनेरू, सृष्टि महर्जन, दिया शाक्य, मुस्कान राउत, ग्लोरी थापा, सृजना भट्टराई लगायतका कलाकारको अभिनय छ । अनिल सुब्बाले कला निर्देशन गरेको नाटकमा गायिका झुमा लिम्बुले संगीत संयोजन गरेकी छन् । यस्तै, प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा संगीत भरेका छन् । नाटक कार्तिक २ गतेसम्म मञ्चन हुने निर्देशक तमुले जानकारी दिए ।

प्रतिक्रिया