भूकम्पका कारण बझाङमा १२ हजारभन्दा बढी भवनमा क्षति !

बझाङ । असोज १६ गते आएको विनासकारी भूकम्पका कारण जिल्लाभरी १२ हजार ३ सय ७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तहबाट प्राप्त गरेको विवरणअनुसार उक्त तथ्यांक छ ।

जिल्लाभरी पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३ सय ७६ घर भवन र २ हजार ४ सय ४५ घरमा पूर्ण क्षति पुगेको छ । ६ हजार ८४ आंशिक र ३ हजार ५ सय २४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १ सय २३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १ सय ५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

भूकम्पका कारण जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ भने भूकम्पमा परी जिल्लाभर ६ वटा चौपाया मरेका थिए भने एक जनाको मृत्यु भएको छ । भूकम्पपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बझाङ पुगेर भूकम्पको क्षति तथा पुनर्निर्माण सम्बन्धमा अध्ययन गरेको थियो ।

जिल्लामा भूकम्पको प्रभाव, क्षति र भावी रणनीतिका सम्बन्धमा जिल्लाका सरोकारवालासँग आयोजित छलफलमा पुनर्निर्माणका लागि प्राधिकरणले आवश्यक तयारी थालेको समेत जानकारी गराएका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव कृष्ण गैरेले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गरेको योजनाअनुसार प्रभावित क्षेत्रमा प्रारम्भिक अवलोकन, अनुगमन गर्न आफूहरू आएको बताएका छन् ।

उनले पुनर्निर्माणमा स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति, प्रदेश सरकार तथा संघ सरकारको भूमिकाका बारेमा समेत सरोकारवालासँग जानकारी लिएको र निजी आवास पुनर्निर्माण, प्रबलीकरण, बस्तीको जमिनको अवस्था, घरको अवस्थालगायत विषयमा एक हप्ताभित्र प्राधिकरणबाट प्राविधिक खटाएर पुनर्निर्माणको कार्य अघि बढाइने भएको छ ।

सुरुमा प्राधिकरणका कर्मचारीले स्थानीय तहको समन्वयमा पीडितको घरमा पुगेर विस्तृत विवरण तयार गर्ने, पालिकास्तरीय विपत् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन, जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा अनुमोदनपछि पुनर्निर्माण बढ्नेछ ।
पीडित नागरिकको घरघरमा गएर सत्यतथ्य विवरण ल्याई पुनर्निर्माणको कामलाई छरितो बनाउनुपर्नेसमेत स्थानीयले सुझाव दिएका छन् । जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिकालगायत स्थानीय तहका विद्यालय भवन भत्किएकाले विद्यालय बन्द अवस्थामा छन् । जिल्लाका झन्डै आठ हजारभन्दा बढी नागरिकहरू त्रिपालमुनि रात काट्न बाध्य छन् ।

प्रतिक्रिया