आज बडादसैंको घटस्थापना

काठमाडौं । आज (आइतबार)देखि २०८० सालको बडादसैं सुरु भएको छ । बडादसैंको पहिलो दिन आइतबार घटस्थापना गरिन्छ । आइतबार घटस्थापनाको शुभ–साइत ११.२९ वजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आइतबारका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०ः१९ बजे रहेको छ ।
कात्तिक २ गते बिहीबार पचली भैरव यात्रा गरिन्छ । कात्तिक ४ गते शनिबार फूलपाती परेको छ । फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ ।

मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ८ः२४ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ९ः३५ बजे स्थिरासन गराइन्छ । कात्तिक ५ गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ । कात्तिक ६ गते सोमबार महानवमी पर्व मनाइन्छ ।
विजया दशमी कात्तिक ७ गते मंगलबार परेको छ । यसपटक टिकाको उत्तम साइत नेपाली समयअनुसार ११ बजेर २ मिनेट जाँदा देखिएको छ ।

प्रतिक्रिया