अफवाह फैलाउने माथि निगरानी जरुरी

इजराइलको संकटग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको उद्धारमा सरकारले ढिलाइ गर्दा गलत सूचना प्रवाह गर्ने तत्वहरू हावी भएका छन् । सामाजिक सन्जालमा अनेक खालका अफवाह पोस्ट भएका कारण इजराइलमा रहेका नेपालीका घरपरिवार तथा आफन्तजनमा तनाव उत्पन्न हुनु स्वभाविकै हो । शनिबार भएको आक्रमणपछि हमास समूहले थप आक्रमण गरेको छैन । एक जनाको अवस्था अज्ञात रहेको समाचारबाहेक कुनै पनि नेपाली हमास समूहको बन्धकमा छैनन् । समस्याग्रस्त क्षेत्रका सबै नेपालीलाई इजरायली सरकारको सहयोगमा सुरक्षित स्थानमा राखिएको राजदूतावासले जनाएको छ । अबका दिनमा के हुन्छ ? यसै भन्न सकिने अवस्था छैन, तर तत्कालका लागि धेरै आत्तिनुपर्ने अवस्था छैन । जुन कुराको पुष्टि इजराइलमै कार्यरत नेपालीहरूले गरिसकेका छन् । सार्वजनिक सूचना, राजदूतावास तथा गैरआवासीय नेपालीहरूको संगठनले नेपाल फर्कन चाहनेहरूको सूची तयार गरिरहेको छ ।

सरकारले इजरायलबाट नेपाल फर्किन चाहनेहरूका लागि अनलाइनमार्फत रजिष्ट्रेसन फर्म खुला गरेर विवरण संकलन गरिरहेको छ । नेपाली दूतावासका अनुसार हालसम्म करिब चार सय नेपाली नागरिकले नेपाल फर्किन चाहेका छन् । करिव पाँच हजार नेपालीहरू कार्यरत इजराइलबाट करिव चार सय जनाले स्वदेश फर्कन इच्छा व्यक्त गर्नुको अर्थ हो, ‘बाहिर हल्ला गरिएजस्तो असुरक्षता इजराइलमा छैन ।’ बडादसैंको मुखमा चार सय जना स्वदेश फर्कन चाहनु भनेको स्वभाविकै हो । तर आफ्ना नागरिक संकटमा पर्दा तत्काल उद्धार गर्न हाम्रो देश सक्षम छ भन्ने प्रत्याभूति दिन सरकार चुकेको छ । चार दिन बित्दासमेत आफ्ना नागरिक लिन विमान पठाउन नसक्नु सरकारको कमजोरी हो ।

धेरै नै टीकाटिप्पणी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएको समाचार आएको छ । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि राष्ट्रिय ध्वजाबहाक नेपाल वायु सेवा निगमको विमान बुधबार राती दुबई हुँदै इजराइल प्रस्थान गर्ने र १५ घण्टापछि आफ्ना नागरिक लिएर फर्कने समाचार आएको छ । उडान अनुमति तथा सबै प्रक्रिया मिलाएरै सरकारले यो समाचार प्रवाह गरेको हो भने बिहीबार साँझसम्ममा इजराइलको संकटग्रस्त क्षेत्रमा कार्यरत नेपालीहरू स्वदेश आइपुग्नेछन् ।

विरानो मुलक इजराइलमा यस्तो द्वन्द्व हुँदा त्यहाँ कार्यरत नागरिकका आफन्तजनहरू कति तनावमा होलान् ? भन्ने कुरा अनुमानसमेत गर्न सकिन्न । यस्तो अवस्थामा उनीहरूलाई थप तनाव उत्पन्न हुने गरी गलत सूचना सामाजिक संजालमा पोस्ट गर्नेहरूमाथि राज्य संयन्त्रले निगरानी गर्न सकेको छैन । अहिले पनि पुराना भिडिओ तथा तस्बिर पोस्ट गरेर आतंकित बनाउने र २० वर्ष अघिको इराक घटना दोहोर्याउने प्रयास भएको अनुमान सजिलै लगाउन सकिन्छ । त्यसो त कतिपय मिडियाकर्मीहरूले समेत यतिबेला बेमौसमका विष्लेषण तथा टिप्पणी पोस्ट गरेका छन् । हमासले इजरायलमाथि किन आक्रमण गर्यो ? भन्ने चासो यतिबेला ह्वात्तै बढ्नु स्वभाविकै हो । सयौं वर्ष पुरानो घाउ हो यो । तर जुन शैलीको आक्रमण भएको छ, त्यो सर्वथा निन्दनीय छ । अहिले त्यो घाउ खोतलेर सामाजिक सन्जालमा पस्कनु भनेको मृतकका आफन्तमाथि पीडा थप्नु र इजरायलमै बसेर ढुक्कसँग काम गरिहेका नागरिकका आफन्तमाथि थप पीडा दिनु हो । यो घटनापछि पनि लाखौँ प्यालेस्टाइनीहरू इजराइलका मुख्य सहरमा रोजगारी गरिरहेका छन् । उनीहरू आतंकित भएको समाचार आएको छैन ।

प्रतिक्रिया