आठबिसकोट । पालिकामा उत्पादन वस्तुको बजारीकरणका लागि आठबिसकोटका नगरप्रमुख रवि केसी छिमेकी जिल्ला डोल्पामा पुगेका छन् । सोमबार वडा अध्यक्षसहित डोल्पा पुगेका केसीले पालिकामा उत्पादित वस्तुको बजारीकरणका लागि डोल्पाका सरकारी कार्यालयका प्रमुखहरू र पालिकाका प्रमुखहरूसँग छलफल गरेका हुन् । प्रमुख केसी पालिकामा उत्पादन भएको दूध तथा पशुजन्य निर्यातका लागि डोल्पा जिल्लाका समन्वय समितिका उपप्रमुखसहित डोल्पाका पालिका प्रमुखहरू र रुकुम पश्चिमका नगरप्रमुखलगायत जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूसँग बैठक बसी विभिन्न छलफल भएको हो ।
अन्तरजिल्लाका पालिका प्रमुखहरूको बैठकले स्थानीय उत्पादनलाई अन्तरपालिकामा आयातनिर्यात गर्ने निर्णय गरेको हो । डोल्पाका जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकमा डोल्पाको ठुलिभेरी नगरपालिकाका प्रमुख सुवर्णकुमार बुढा, आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेल, प्रहरीप्रमुख शिवबहादुर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाका सरकारी कार्यालयका प्रमुखहरू र पालिका प्रमुखहरू बीचको बैठकमा विकासमा पछाडि परेको गाउँपालिकामा विशेष प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइएको जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्रबहादुर बुढाथोकीले बताए ।
विशेषगरी आठबिसकोटमा उत्पादन भएका दूध तथा पशुजन्य वस्तुलाई डोल्पामा निर्यात गर्ने र डोल्पामा उत्पादन हुने स्याउ, अंगुर र ओखर लगायतका उत्पादन रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आयात गर्ने निर्णय भएको आठबिसकोटका नगरप्रमुख केसीले जानकारी दिए । केसीका अनुसार छिमेकी जिल्लाका पालिका र जिल्लाभर आठबिसकोटले उत्पादन गरेको दूध तथा अन्य कृषि उपजलगायत डोल्पासम्म पु¥याउने लक्ष्य रहेको केसीले बताए ।
दुबै जिल्लाका पालिकामा उत्पादन हुने कृषि तथा अन्य वस्तु व्यावसायिक प्रयोजनका लागि आदानप्रदान गरिने उनको भनाइ छ ।
त्यस्तै बैठकले जाजरकोटको तल्लु र रुकुम पश्चिमको गोतामकोटलाई जोड्ने निर्माणाधि बेलीबृज तत्कालै निर्माण गर्न सम्बन्धित निकायलाई दबाब दिने निर्णय गरेको छ । अन्तर जिल्लाका पालिकाहरूको समन्वय र सहकार्यले दुबैजिल्लाको आत्मीयता बढ्ने र एकरूपताका साथ विकासको निर्माणमा सहज हुने विश्वास लिइएको छ ।
बैठकमा स्थानीय समस्यालाई समयमै समाधान गर्दै विकास निर्माणका कामलाई जनताले महसुस गर्ने गरी द्रुत गतिमा अघि बढाउनुका साथै प्रभावकारी जनसेवामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको थियो । नगरपालिका तथा गाउँपालिकामा रहेका विभिन्न विषयगत कार्यालयहरूलाई पनि प्रभावकारी सेवा प्रवाहका लागि प्रतिबद्ध रहनुपर्नेमा जोड दिइएको थियो ।
रुकुम पश्चिम
प्रतिक्रिया