सास्ती नहोस् यात्रुलाई

नेपालीहरूको महान चाड बडादसैँ सुरु हुन एक साता बाँकी रहँदै गर्दा राजधानी काठमाडौंबाट चल्ने लामादुरीका बसहरूको अग्रिम टिकट बुकिङ सोमबारदेखि खुला गरिएको छ । बुकिङ खुला भएको पहिलो दिन काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट २४ हजार ३ सय ४० जनाले टिकट किनेका छन् । सोमबार टिकट लिनका लागि आइतबार रातीदेखि नै यात्रुहरू नयाँ बसपार्कमा आएर लाइन लागेका थिए भने मंगलबार टिकट लिन सोमबार रातीदेखि नै लाइन लागेका थिए । टिकट लिनका लागि रातीदेखि नै लाइन लाग्नुपर्ने वाध्यता विगतदेखिकै हो । ढिलो टिकट लि“दा सिट नपाइने, थोत्रा बसमा यात्रा गर्नुपर्ने वाध्यता आइलाग्ने, यातायात मजदुर तथा दलालहरूले ब्ल्याकमेलिङ गर्ने लगायतका समस्याका कारण यात्रुहरू सकेसम्म छिटो टिकट बुकिङ गर्न चाहन्छन् । अग्रिम टिकट बुकिङ खुला गर्दा यातायात व्यवसायीहरूलाई पनि आवश्यक बसहरूकको व्यवस्था गर्न सहज हुन्छ । ट्राफिक प्रहरीलाई पनि कुन दिन कति यात्रु बाहिरिन्छन् ? भन्ने मोटामोटी अनुमान गर्न सजिलो हुने भएकोले आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन सहज हुन्छ । यति हुँदाहुँदै पनि यात्रुले सास्ती पाउने क्रम हरेक वर्ष घट्दो होइन बढ्दो छ । राजधानी काठमाडौं उपत्यकाको जनसंख्या १० वर्ष अघिको तुलनामा खासै नबढेको जनगणनाको तथ्यांकले देखाएको छ । १० वर्ष अघिको तुलनामा राजधानी काठमाडौं आउने जाने वैकल्पिक सडकहरू पनि धेरै बनिसकेका छन् । निजी सवारी साधनमा बाहिर जाने, हवाइजहाज प्रयोग गर्ने जनसंख्या पनि बढेको छ । यति हुँदाहुँदै पनि यात्रुले सास्ती पाउने क्रम नघट्नु दुर्भाग्य हो ।

बडादसैँको पञ्चमीदेखि महानवमीसम्मका चार दिन बिहान ६ बजे नयाँ बसपार्कबाट छुटेको गाडी कलंकीसम्म पुग्दा ९ बज्ने गरेको घटना नयाँ होइनन् । यसैगरी विजयादशमीको भोलिपल्टदेखि पूर्णिमासम्म नौबिसेबाट ३० किलोमिटरको दुरी तयगरी काठमाडौं आइपुग्न पाँच घण्टा लाग्ने गरेका घटना पनि नयाँ होइनन् । हरेक वर्ष यस्ता घटना दोहोरिँदा पनि संबन्धित निकायको ध्यान जान सकेको छैन । त्यसो त चालकले खाना खानका लागि एउटा मात्रै होटल भएको ठाउँमा बस रोक्ने, राजमार्गहरूमा बासी खाने कुरा बेच्ने, खानेकुराको मूल्य दोब्बर लिने समस्या पनि ज्युँका त्युँ छन् । जसका कारण दसैँका बेला यात्रुहरू बिरामी पर्ने गरेका छन् ।

नेपाल प्रहरीको अनुगमन संयन्त्र फितलो मात्रै होइन, भ्रष्टाचारमा पनि लिप्त छ । राजमार्गको अनुगमनका लागि नेपाल प्रहरीले छुट्टै जनशक्ति परिचालन गर्नुपर्छ । यसैगरी धेरै खेप ओसार्ने नाममा हतारमा बस चलाउने, मर्मत संभार नगर्ने, क्षमताभन्दा बढी यात्रु कोच्ने लगायतका समस्या दसैँका बेला बढी देखिन्छन् । कतिपय कच्ची सडकहरू पनि बस दुर्घटनाका कारक बन्ने गरेका छन् । कच्ची सडक मर्मतका लागि संघीय सरकारले स्थानीय सरकारलाई परिपत्र गर्न ढिलाइ भइसकेको छ ।

बडादसैँका बेला यात्रुले ट्राफिक जामको सबैभन्दा सास्ती बेहोर्नुपर्ने भनेको नयाँबसपार्कदेखि नौबिसेसम्मको सडक खण्डमा हो । विजयादशमीको दिनसम्म नयाँ बसपार्कदेखि थानकोट नागढुंगा सडक खण्डमा घण्टौँ जाम हुन्छ । विजयादशमीको भोलिपल्टदेखि पूर्णिमाको दिनसम्म नौबिसेदेखि थानकोट–नागढुंगा सडक खण्डमा घण्टौ“ जाम हुने गर्छ । सरकारले दतारुकता देखाउने हो भने यस वर्षदेखि यो समस्या केही कम गर्न सकिन्छ । किनकी नागढुंगा सुरुङ मार्गको आपतकालिन सुरुङ छिचोलिइसकेको छ । साढे दुई किलोमिटर लामो यो आपतकालीन सुरुङ मार्गलाई बडादसैँका बेला एकतर्फी रूपमा मज्जाले प्रयोग गर्न सकिन्छ । बडादसैँका सुरुका चार दिन काठमाडौंबाट बाहिरिनका लागि र अन्तिम चार दिन काठमाडौं भित्रिनका लागि यो सुरुङ मार्गलाई प्रयोगमा ल्याउने हो भने ट्राफिक जामको ५० प्रतिशत समस्या समाधान हुन्छ । यसैगरी नारायणगढदेखि बुुटवालसम्म र आँबुखैरेनीदेखि पोखरासम्मको सडक बिस्तारको काम दसैँका बेला स्थगित गर्नुपर्छ ।

प्रतिक्रिया