मानसिक स्वास्थ्यबारे जानकारी गाउँ गाउँमा पुर्याउनु आवश्यक : जिसस प्रमुख जिसी

प्युठान । जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिसीले जिल्लामा मानसिक स्वास्थ्य सम्वन्धी जनचेतनालाई गाउँ गाउँसम्म पुर्याउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवशको अवसरमा आयोजित एक कार्यक्रममा जिसीले मानसिक स्वास्थ्यको विषयमा जिल्लामा स्थानीय तहहरुले जनचेतनामुलक अभियान चलाउन आवश्यक रहेको बताएका हुन् ।

मानसिक स्वास्थ्य समस्या जिल्लामा सामाजिक समस्याको रुपमा देखिएको भन्दै जिसीले त्यसको समाधानका लागि सबैको सहकार्यमा अगाडि बढ्नुपर्ने बताए । मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्याको घटना हुने गरेको भन्दै आत्महत्या गर्न खोज्नेलाई बचाउनका लागि चेतनामुलक कार्यक्रम गाउँ गाउँमा लैजान आवश्यक रहेकोले ढिलो नगरी पहल थाल्नुपर्नेमा जिसीले जाेड दिए ।

प्युठानमा पछिल्लो ३ वर्ष यता २ सय ५० जनाले आत्महत्या गरेको तथ्यांक प्रहरी रेकर्डमा देखिन्छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अपराधका घटनाहरुमध्ये सबैभन्दा बढी आत्महत्याका घटना रहेको बताएको छ । यसले जिल्लामा मानसिक स्वास्थ्य समस्याको अवस्था जटिल बन्दै गरेको ग्राफ देखाएकोले सबै पक्ष सचेत हुनुपर्ने सरोकारवालाहरुको तर्क छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले मानसिक स्वास्थ्यदेखि विविध कारणले आत्महत्याका घटना हुने गरेको बताए । आत्महत्या न्यूनिकरणका लागि प्रहरी-समुदाय साझेदारी कार्यक्रम अन्तरगत जिल्लामा सचेतना अभियान चलाउन थालिएको उनले जानकारी दिए ।

जिल्लाको तथ्यांक हेर्दा बालबालिका देखि जेष्ठ नागरिसम्मले आत्महत्या गरेको प्रहरी प्रमुख थापाले बताए । डिप्रेशनका कारण सवैभन्दा बढी व्यक्तिले आत्महत्या गरेको देखिन्छ । त्यसका अलावा अरु कारणहरु समेत रहेका प्रहरीको भनाइ छ । आत्महत्या गर्ने कारणहरुमध्ये ७० देखी ८० प्रतिशत डिप्रेशन भएका व्यक्तिले गर्ने गरेको प्युठान अस्पतालका डा. पंकज पाठकले बताए । मानसिक स्वास्थ्य समस्यालाई ध्यान नदिँदा आत्महत्याको घटना हुने गरेको भन्दै आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि मानसिक स्वास्थ्य समस्याको उपचार गरेर आत्महत्या गर्नबाट रोक्न सकिने डाक्टर पाठकको भनाई छ ।

मानसिक स्वास्थ्यको विषयमा शिक्षा र चेतना जगाउन ढिला भैसकेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताए । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यसतर्फ ध्यान दिएर कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ ।

सन २०३० सम्म एक तिहाईले आत्महत्याको घटनालाई घटाउने लक्ष्य राखिएकोले त्यो अनुसारको अभियान चलाउन आवश्यक रहेको उनको भनाइ छ । बदलिंदो सामाजिक परिवेशका कारण मानसिक स्वास्थ्यमा समस्या भैरहेको अवस्थामा यसतर्फ ध्यान दिनुपर्ने मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार जिल्लाको प्रमुख समस्याको रुपमा रहेको मानसिक स्वास्थ्य समस्या न्यूनिकरण गर्न स्थानीय सरकारले कदम चाल्नुपर्ने आवश्यक छ । अहिले मनोपरामर्श सेवा, सचेतना कार्यक्रमबाट आत्महत्या गर्ने व्यक्तिलाई बचाउन सकिने भएकाले यसमा ढिलाई गर्न नहुने अध्यक्ष श्रेष्ठले बताए । त्यसका लागि व्यक्ति, परिवार र बहुसरोकारवाला निकायको भूमिका हुनुपर्ने उनको भनाई छ ।

स्वास्थ्य कार्यालय प्युठानको आयोजना तथा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको सहयोगमा भएको अन्र्तक्रियामा जिल्ला स्तरीय मनोसामाजिक स्वास्थ्य प्रर्वद्धन तथा व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्युठानकी उपप्रमुख गोमा रेग्मीको अध्यक्षतामा र समन्वय प्रमुख धरमबहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया