जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको रामबाबु रायको ‘जनकपुर बिग मार्ट’मा शनिबार राती भीषण आगलागी भयो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घण्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । आगलागी भएको करिब आधा घण्टामै बारुणयन्त्र घटनास्थलमा पुगे पनि मार्टमा लुगाकपडा धेरै भएकाले नियन्त्रणमा लिन कठीन भएको थियो ।
सञ्चालक रामबाबु रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीन तले घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए । उनले मार्टको दोस्रो तल्लामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए ।
‘क्षणभरमै जल्यो सम्पत्ति’
सर्लाहीको मलंगवा नगरपालिका–११ स्थायी ठेगाना भएका राय विगत २५ वर्षदेखि व्यापारिक कारोबारमा संलग्न छन् । सुरुमा उनले काठमाडौंमा ‘डोर टु डो’ अर्थात घरघरमा गएर सामान बेच्ने काम गरेपछि अरूकै पसलमा बजार व्यवस्थाकका रूपमा काम गरे ।
सर्लाहीबाट झोला भिरेर काठमाडौं छिरेका रायले केही समय अरूको पसलमा काम गर्न सिकेपछि आफ्नै व्यापार सुरु गरे । ‘म शून्य लगानीबाट उठेको मान्छे हो । सुरुमा काठमाडौंका घरघरमा गएर सामान बेचेँ । त्यसपछि काठमाडौंबाहिर जिल्लाजिल्लामा गएँ । त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ’, भावविह्वल हुँदै रायले भने, ‘तर २५ वर्षसम्म गरेको मिहिनेत र लगानी एकै रातमा सखाप भयो । झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोला मात्रै बोकर सडकमा आएँ ।’
व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५÷१६ वर्ष उनले काठमाडौंको न्यूरोडस्थित रञ्जना हाउस र महाबौद्धबाट व्यापार गरे । तर २०७२ सालको भूकम्पपछि व्यापारमा मन्दी भएपछि जनकपुर झरेका रायले यहाँ रामानन्द चोक नजिकै कपडा व्यापार सुरु गरे । छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सम्पूर्ण लगानी हाल डिपार्टमेन्ट स्टोरसमेत रहेको घरमा लगानी गरे ।
‘म एकै पटक ठूलो लगानी गरेर आएको होइन । स–सानो व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएपछि जनकपुर आएको हुँ । यहाँ आएपछि अरू सबै व्यापार छाडेँ । भएको सम्पत्ति बेचेर करिब तीन करोडमा यही घर र व्यापारमा लगानी गरेँ तर एकरातमा सबै सखाप भयो’, रायले भने । रायले यही व्यापारलाई बढाउन काठमाडौंको थानकोटमा रहेको चार आना जग्गा, लज र अरू सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक शाखा जनकपुरबाट ३ करोड ६५ लाख रुपैयाँ ऋण (लोन) लिएको बताए ।
‘पीडामाथि पीडा’
रायलाई व्यापारमा हिम्मत गर्न सघाउने उनको श्रीमती थिइन् । उनले बाहिर र श्रीमतीले पसल सम्हाल्ने काम गरिहेका थिए । ‘घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुई वटै किड्नी फेल भयो । त्यसपछि हाम्रो दुःखका दिन सुरु भए । आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो । अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो’, रायले आफ्नो पीडा सुनाए ।
जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रका व्यापारमा मन्दी छ । त्यसको असर रायले पनि भोगे । सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दिले समस्या भोगेका उनी दसैँ आएपछि केही भए पनि राहत होला भन्ने आशामा थिए । त्यसैलाई मध्यनजर गरी केही दिनअघि मात्रै नयाँ सामान ल्याएका थिए ।
‘समस्या थियो तर पनि हिम्मत हारेको थिइन । राम्रा दिन आउने आशामा बसिरहेको थिएँ । दसैँ तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपे तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए’, गम्छाले टिलपिलाएका आँसु पुच्दै रायले भने, ‘भगवान ! पीडामाथि पीडा किन दिएको ? अब के गरेर खानु ? कसरी ऋण तिर्नु कुनै विकल्प रहेन मसँग ।’
सबैभन्दा दुःखको कुरा त रायले बैंकबाट ऋण लिँदा गरिने बिमाबाहेक सामानको बिमासमेत गरेका छैनन् । ‘जायजेथा बेँचेर लगानी बढाएँ । २५ वर्ष पसिना बगाएँ । काठमाडौंबाट भूकम्पले विस्थापित ग¥यो, फेरि उठ्न खोज्दै थिएँ । जनकपुरले त उठिबास नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने !’ रायले निराशा पोखे ।
प्रतिक्रिया