बजेट नहुँदा सम्पन्न योजनाको भुक्तानीमा समस्या

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका करिब १३ करोड ऋणमा डुबेको छ । संघीय सरकार र प्रदेश सरकारले स्थानीय तहको बजेट कटौती गर्दा योजनाको भुक्तानीमा समस्या भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा बजेट कटौतीले अप्ठ्यारोमा परेको हो ।

संघीय सरकारबाट आएको ५० प्रतिशत बजेट कटौती गर्दा गत वर्ष र चालु वर्षमा सम्पन्न भएका योजनालाई अन्तिममा भुक्तानी दिन समस्या भएको बेनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय मणिराज शाहले बताए । उनले निर्माण सम्पन्न भइसकेकै योजनाको भुक्तानी दिन समस्या भएको बताए । सञ्चालन भएका योजनाहरूको समेत भुक्तानी हुन नसक्दा थप ऋण बढ्दै गरेको जनाइएको छ ।
‘बजेट अनुसार योजना निर्माण गरी कार्यान्वयन गरौँ । अघिल्लो र चालु आर्थिक वर्षको बजेट कटौतीले समस्या निम्त्याएको छ’, उनले भने, ‘यस वर्ष कार्यान्वयन भएका योजनाका भुक्तानी दिनका लागि आगामी वर्षमा बजेट विनियोजन गर्नुपर्ने समस्या सिर्जना भएको हो ।’ प्रदेश तथा संघीय सरकारले बजेट दिने आश्वासन दिए पनि पूर्वाधारतर्फ आएको बजेट उल्टै फिर्ता लिएको नगरपालिकाले जानकारी दिएको छ ।

योजनाहरू तथा विभिन्न कामहरूको समयमै भुक्तानी नहुँदा पालिकामा समस्या बढ्दै गएको छ । आर्थिक दायित्व बढेकोले सबै वडाबाट ५० प्रतिशत बजेट कटौती गरेर आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख रवि केसीको भनाइ छ । पालिकाले तिर्नुपर्ने आर्थिक दायित्व १३ करोड रहेको केसीले बताए । प्रमुख केसीका अनुसार अघिल्लो सरकारको नेत्तृत्वमा निर्माण भएका योजनाहरूको समेत भुक्तानी हुन नसकेको बताए । उनका अनुसार पाँच करोड रकम संघीय सरकारले फिर्ता लिएको र प्रदेश सरकारले दिने भनेको बजेटसमेत कटौती गर्दा पालिकाको आर्थिक दायित्व बढ्दै गएको बताए ।

उनले संघ र प्रदेशमार्फत हुने बजेट कटौती गर्ने समस्यालाई रोक्न संघले दबाब सिर्जना गर्ने बताए । ‘स्थानीय तहको आन्तरिक आम्दानी कम हुँदा संघ र प्रदेश सरकारबाट आउने बजेट कटौतीले समस्या उत्पन्न भएको छ । आम्दानीका स्रोत बढाउनतर्फ नगरपालिकाले सोच्नुपर्ने भएको छ’, उनले भने, ‘पालिकाका गौरवका योजनाहरूमा भुक्तानी समस्याले योजनाहरू अलपत्र हुने देखिन्छ । पछिल्लो समयमा त निर्माण व्यवसायीले काम गरेवापतको भुक्तानी समयमा पाउन नसक्दा विकास निर्माणको काम नै रोकिन थालेको छ ।’

पालिकामा मात्रै १३ करोडको आर्थिक दायित्व भएपछि नगरपालिकाको सडक निर्माण, वर्षाको समयको आपतकालीन समस्या समाधान, सडक निर्माणमा भएको ढिलासुस्ती, निर्माण व्यवसायीले समयमा नै भुक्तानी पाउन नसकेको जनाइएको छ । बजेट अभावका कारण प्रशासन तथा लेखा सेवा विभागअन्तर्गतका कार्यालयहरूमा आकस्मिकसहित सबै सेवा प्रवाह प्रभावित भएको बताइएको छ । संघीय÷प्रदेश अर्थ मन्त्रालय र मन्त्रालयहरू बीचको समन्वय गरेको वर्षौं भए पनि समस्या समाधान नभएको बताइएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया