बहुप्राविधिक शिक्षालयमा बाटोघाटोको असुविधाले विद्यार्थीलाई सकस

लमजुङ । जिल्लाको एक मात्रै प्राविधिक शिक्षालय जहाँ वन विज्ञान विषयको पढाइ हुँदै आएको छ । जिल्लाको राइनास नगरपालिकामा पर्ने यो शिक्षालय स्थापना भएको करिब तीन वर्ष पुग्न लाग्यो । शिक्षालय राइनास नगरपालिका–८ को कुसुण्डे भन्ने ठाउँमा पर्दछ । स्थापना भएको थोरै समय भएता पनि बन विज्ञान पढ्नकै लागि नेपालका आधाभन्दा धेरै जिल्लाका विद्यार्थीहरू यहाँ आउने गरेको पाइन्छ । विगतमा उक्त शिक्षालयको आफ्नै भवन नहुँदा शिक्षालयले सोही वडामा रहेको वीर भक्ति माविमा केही समय आफ्नो शिक्षालयको पढाइ सञ्चालन गरेको थियोे ।

तर पछि शिक्षालयले आफ्नै जग्गामा अस्थायी संरचना बनाएपछि भने आफ्नै भवनमा पठनपाठान सुरु गरेको हो । सुरुआती अवस्थामा हुँदै गर्दा शिक्षालयमा विद्यार्थीहरूको आकर्षण निकै थियो । शिक्षालयमा अध्ययन गर्नका लागि आधाभन्दा धेरै विद्यार्थी पूर्व शिक्षालय प्रमुख ईश्वरि देवकोटाको पहलमा नै आएको शिक्षालयका एक विद्यार्थी बताउँछन् । तर शिक्षालयमा आफूले चाहेको व्यक्ती राख्न, शिक्षालयमा राजनीति गर्न नपाएपछि पूर्वप्रमुखमाथि केही स्थानीय पार्टीका नेताहरूको समूहले यौनजस्तो गम्भीर आरोप लगाएको र त्यही आरोपका कारण उनी शिक्षालय प्रमुखबाट सरुवा भएको वडाका स्थानीयहरू बताउँछन् ।

सो ठाउँका स्थानीयहरू अझैसम्म उनै प्रमुख देवकोटालाई शिक्षालय प्रमुखमा ल्याउनका लागि पहल गर्न भन्दै लागि परेका छन् । हामीले केही विद्यार्थीहरूसँग कुरा गर्दा उनीहरू भन्छन्, ‘शिक्षालय प्रमुखलाई राजनीतिक प्रतिशोधका कारण सो आरोप लगाइयो ।’ शैक्षिक सत्र २०८० मा वन विज्ञान र कृषि बाली विज्ञानमा गरी ४०–४० जनाको लागि भर्ना खुलेको भए पनि वन विज्ञान विषय अध्ययनका लागि विद्यार्थी १० जना पनि नरहेको शिक्षालयले जनाएको छ ।

पढ्नकै लागि भनेर अन्य जिल्लाजस्तै डडेल्धुरा, बैतडी, कालिकोट, हुम्ला, अछाम, मुगु, कैलाली, जुम्ला, सुर्खेत, जाजरकोट लागयतका दुर्गम भेगका विद्यार्थीहरू शिक्षालयमा आउने गरेका र पछिल्लो वर्षहरूमा भने विद्यार्थीको अभाव खड्किन थालेको छ । केही समयअगाडि यस्तो थियो कि राइनास बहु प्राविधिक शिक्षालयले स्थापना भएकै वर्षमा विद्यार्थीहरूको ओइरो लगाउँदा यहाँका स्थानीयहरू पनि आफ्ना सन्तानलाई यहीँ पढ्नका लागि अनुरोध गर्दथे तर पछिल्लो समय शिक्षालयको गतिविधिमा न यहाँका स्थानीयवासीको चासो छ न त जनप्रतिनिधिको ?

शिक्षालयसम्म पुग्नका लागि मध्यपहाडी लोकमार्गबाट करिब तीन सय मिटर उत्तरतर्फ कच्ची बाटो हुँदै जानुपर्छ । बाटो निकै सकसपूर्ण रहेको र दिनहुुँ पानी परेका बेलामा शिक्षालयसम्म पुग्दा कतिपटक लड्नुपर्ने हो थाहा हुँदैन भन्छन् विद्यार्थीहरू । अधिकांशको गुनासो यसैमा पाइएको छ ।
के अबको दिनमा शिक्षालयमा विद्यार्थी नभएकै कारण यस क्षेत्रबाट नै गुमनाम हुने त होइन ? भन्ने गम्भीर प्रश्न उठेको छ । यस विषयमा समयमै ध्यान दिन जरुरी रहेको सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया