रौतहट । जिल्लाको अधिकांश पालिकाको ग्रामीण भेग गाउँ घर र हाट बजारमा संचालित कुटाइ, पिसाइ तथा पेलाइ गर्ने उद्योगी व्यवसायीहरूले मापदण्ड विपरीत कम तौल भएका ढुंगा, इँटा, फलाम लगायतका ढक तथा काठका फल्याक र बाँस र डोरी लगायतका तराजु बनाएर नापतौलमा प्रयोग गरी गाउँघरका स्थानीय सर्वसाधारण तथा गरीब किसान उपभोक्ताहरूलाई ठगी गरिरहेको गुनासो बढेको छ ।
जिल्लाको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेको त्यस्ता अधिकांश उद्योगका सञ्चालकहरूले नेपाल सरकार तथा गुणस्तर निर्धारण तथा गुणस्तर तथा नापतौल निर्धारण विभागले तय गरेको ढक, तराजु, नाप प्रयोग नगरी आफनो किसिमले कम तौल र नाप भएका ढुंगा, इँटा, फलामको रडको ढक प्रयोग गरी उपभोक्ताको वस्तुको तौल बढाइघटाइ ठगी गर्ने गरेको साथै काठको पटहा÷फल्याक र डोरी तथा बास र डोरीको तराजुमा नापतौल गरी उपभोक्ता ठग्ने गरेको गुणासो स्थानीयहरूको छ ।
खासगरी स्थानीय गाउँघरमा रहेका यस्ता उद्योग सञ्चालकहरूले सर्वसाधारणलाई गर्ने गरेको अबैध तरिकाको ठगी सम्बन्धमा स्थानीय प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयको ध्यान जान जरुरी रहेको छ । सहर बजारमा कहिलेकाहीँ अनुगमन भए पनि ग्रामीण क्षेत्र गाउँ घरतिर स्थानीय प्रशासन र सम्बन्धित निकायको ध्यान कहिले नगएको सर्वसाधारण, गरिब किसानको गुनासो रहेको छ ।
यसरी उपभोक्ता खुलेआम ठगिँदा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज मुकदर्शक बनेर बसेको छ । कहिले अनुगमनमा आएको सुनिँदैन । आउँदा पनि अत्तोपत्तो हुँदैन । तसर्थ यसतर्फ विभागले यथाशीघ्र ध्यान दिनुपर्ने जानकारहरूले जोड दिएका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया