बर्दिया राष्ट्रिय निकुञ्जतिर बरालिँदा

सौन्दर्य सागर रारा – ३

सानु डोरेटो बाटैमा थचक्क बसेका छन् दुई महतारी चाकल माडेर । म गाडीभित्रबाट तेता हेर्देछु । दुईटीले नै साडी । चोलो । पटुका लाको छ । नांगा खुट्टा छन् । निन्याउरो छ अनुहार । मुखमा ज्योति छैन । एउटीको अगाडी घाँसको भारी छ । अर्कीको अगाडी बाँधेर बोकेको अहिले भने भुइँमा बिसाको चिर्पट दाउराको बिटो छ । मैले ती दुई महिलातिर हेर्दाहेर्दै गाउँघर सम्झेँ । त्यहाँबाट निकै पर तर बाटो भने तेही । चार जना अल्लारे केटाकेटी खेतका आलीमा उभिएर एकोहोरो टुलुटुलु हाम्रो गाडीतिर हेर्दैछन् । तन्नेरी । तरुनी । सबैको अनुहार अँध्यारो छ । पीडा बोकेजस्तो । लाएका लुगा गतिला छैनन् । एकअर्कामा गफसफ नगरी मौन उभिएका जस्तो ठानेँ मैलेँ । जाँदाजाँदै मैले उनीहरूलाई पढ्न खोजेँ । गाउँघरको जीवन बुझ्न खोजेँ । सकिनँ ।

पोष चापागाई

सिन्जा भ्याली ः जाँदा याद गरिनँ । फर्किंदा नियालेर हेरेँ सिन्जा भ्याली । टम्म बसेको सम्म फाँट पो रहेछ सिन्जा भ्याली । नेपाली भाषाको उत्पत्ति स्थल नराम्रो कसोरी भनाैँ म नेपालीको प्राध्यापक । गाडीबाट फाँटमा बग्दै गरेको नदीतिर हेरेर सोधेँ, ‘के नाम होला ?’

फ्याट्टै हाजिरजवाफे पाराले नारायणजीले भन्नुभयो, ‘भाउजुको नाम सम्झिनुस् न । ‘हिमा’ नदी हो त्यो देखिएको ।’

हिमा नदीले सिन्जा भ्यालीलाई ऊर्जावान् धनधान्य सम्पन्न बनाएको रहेछ । एउटा नदीले कतिसम्म थेग्दो हो । डाँडा, पाखा, पहरा सबै ठडिएकै छन् । तल गहिरोमा बसेको फाँटमा जताततै हरियो छ । धान खेत लोभलाग्दो छ । लोभलाग्दो धान खेतले आफूतिर तान्छ ।

खेतको बीचबीचमा झुरुम्म जोडिएर बसेका पाँच–सात घर देखिन्छन् ठाउँठाउँमा । झ्याल ढोका देखिन्न माथिबाट । छैन नै होला ? देखिन्छ । छत ढलान गरेजस्तो ।

एकतले ती घर माटोले छाएको देखिन्छ । पूर्वेलीलाई माटाको छानु भन्ने सुन्दै नौलो लाग्ने । तर हो यस्ता माटो छाने घर स्वर्गद्वारी जाँदा बाटैभरी देखेथेँ ।

पाण्डु गुफाः हिजो जुम्ला बजार पुग्ने पुग्ने बेलामा हामी गाडी रोकेर सु गर्न झरेका थियौँ । त्यहीँ उभिएको एउटा पठ्ठोले भनेथ्यो । अलितल पाण्डु गुफा छ । जानुस् न । हेर्नुस् ।

हेर्ने । घुम्ने कुरामा म सधैँ चम्किन्छु । कुरा सुन्ने बित्तिकै हामीहरू गुफा हेर्न ओरालो बाटोबाट झरेका थियौँ । अहिले फर्किंदा हामी हिजो झरेकै ठाउँमा आइपुगेका छौँ ।

अँ, ठाडो ओरालो, तेर्सो, सम्म, माटोको छानुमा धान सुकाएको हेर्दै पाण्डु गुफा लेखेको ठाउँमा पुगेका थियौँ । गेटजस्तो ठाउँबाट भित्र पस्यौँ । अँध्यारो कोठामा पाँच पाण्डव र द्रौपदी बसेका देख्यौँ । भुइँ कालो । कोठाका सिलिङ, काठ काला ।

मूर्तिहरू जुरुक्क उठेर हामीलाई कहाँदेखि आयौँ भनी सोध्लानजस्तो लाग्थ्यो । पाण्डुसेन नपाको पाण्डुगुफा साच्चै पाण्डवकालीन लागेको थियो । त्यहाँका पण्डितजीले हामीलाई रातो अबीर लाइदिए । पछि हामी बाटो लागेका थियौँ ।

तातोपानी ः जुम्ला बजारको छेउमा पुगेपछि हिजो कसैले हामीलाई सुनाएको थियो । यही सडकमुनि छ तातोपानी । तेतिवेला गाडीमै बसेका भए पनि हाम्रा सुकोमल पाउहरू अररिएर एकै डल्लो परेका थिए । आजै नुहाउने अहिले कि भोलि बिहान भन्ने सामान्य छलफल भएको थियो । अहिले नै जाने । बिहान अन्तै जानुपर्छ । यसो भनेर हामी तातोपानी भए ठाउँमा पुगेथ्यौँ ।

हो, धाराबाट गलल तातोपानी झरिरहेको थियो धारो माथि मुनि, वर पर सबैतिर फोहोरको डंगुर देखेपछि नुहाउन सिकसिको लागेर रोडमा आएका थियौँ । हो, अहिले हामी त्यही रोडमा छौँ ।

नौला कुराः राराबाट घर फिर्दा जुम्ला हँुदै सुर्खेततिर हान्नियौँ । सुर्खेत पुग्दा रातीको नौ बजेको थियो । गाडीमा जाँदाजाँदै माथि डाँडाको वनबाट तल गहिरोमा बसेको झिलिमिलि सुर्खेत बजार देखेँ । पहिलोपटक प्लेनबाट अमेरिकाको टेक्सस सहरमा ओर्लिन ओर्लिन लाग्दा माथि आकाशबाट देखेको झिलिमिलीजस्तै लाग्दै छ सुर्खेत बजारको बिजुली बत्ती ।

म मेरो स्वर्ग आइपुगेँजस्तो लाग्यो । अध्ँयारो वनबाट उज्यालो सुर्खेत सहर देख्दा । झ्याम्म वनभित्रको सलल गाडी बग्ने पिच सडकबाट सुलुल बग्दै हामी सुर्खेत बजारभित्र पस्यौँ ।

‘होटल नमस्ते दि नेपाल’ सुर्खेतभित्र पस्यौँ । बुक गरेका थियौँ । खोज्न । पुग्न । गाह्रो भएन । पाकपुक बजायौँ । मस्त निदायौँ । भइ त गो उज्यालो । लागि त हाले घाम ।

काँडे सेल रोटीः होटलबाट घुम्न बाहिर निस्कियौँ । चिया खाएर जाने ? हुन्छ । हामी रोडपारिको चिया दोकानमा पस्यौँ । ठूलो कराहीमा सेल रोटी पकाउँदै रहेछन् । पसले भाइतिर हेरेर सोधेँ, ‘यो ठाउँको नाम के हो ?’

उनले नअक्मकाइ भने, ‘पीपल चौतारो भन्छन् यो ठाउँलाई । अलि तल छ राजाचोक ।’

ए ।

चिया पकाउनुस् । चियासँगै एकओटा सेल पनि दिनुस् । मैले भनेँ । एकै छिनमा सेल र चिया ल्याए ।
सेलमा ठोक्किए मेरा आँखा । हेर्छु ।

चिसोमा नुहाइसकेपछि नुहाउने मान्छेको जिउभरी काँडा उम्रिएजस्तो सेलको शरीरभरी काँडैकाँडा पो देखिन्छ त । ताता सेललाई पनि काँडा उम्रियो कि क्या हो । छक्क परेँ म । तीखा होइन । डल्ले÷थेप्चे काँडा ।

मैले पूर्वमा धेरै रोटी खाएँ । यस्ता काँडे रोटी देखेकै थिइनँ । नौलो । घोचेनन् काँडाले । मीठो मानेर खायौँ । अनि बाटो लाग्यौँ ।

लक्ष्मीनारायण मन्दिरः हेर्नुपर्छ लक्ष्मीनारायण मन्दिर । बाटोमा कसैले हामीलाई सुनायो । हुन्छ । हेर्ने भन्यौँ ।

एकैछिनमा कार रोक्यो चालकले । किन ? ऊ क्या त मन्दिर । झ¥यौँ । वरिपरि पिच सडक । बिचमा चिटिक्कको सानु नयाँ मन्दिर । सफा मन्दिरसँग कुम जोडेर उभिएको धाराबाट तुरुरु झरिरहेको थियो पानी । हात धोयौँ । भित्र पस्यौँ । शिरोनमन ग¥यौँ । बाहिर निस्कियौँ ।

देवी देवताको दर्शन किन गर्छ मान्छे ?

धेरै पापीले पापबाट मुक्ति पाउन दर्शन गर्छ । (पापमोचनको लक्ष्य)

कहिल्यै पाप नगरेको मान्छेले पनि ढोग्छ । पाप कर्म मबाट नहोस् भनेर । (सुरक्षितता )

म सधैँ सत्मार्ग चयन गर्नसकुँ भनेर मान्छेले देव दर्शन गर्छ । (सत् अन्वेषण )

लौकिक कष्ट मुक्ति हेतु पनि शिरोनमन हुन्छ मान्छेबाट । (कष्ट मुक्ति )

मैले के सम्झेँ । साथीहरूले के मागे । थाहा छैन । आस्तिक, नास्तिक दुवै मन्दिरभित्र पस्छन् । लोक, लाज, भय । मन्दिर बाहिर निस्केपछि कसले के गर्छ अरूलाई चासो हुन्न ।

सफा रोडमा म हराएँ । मन हरायो । इन्द्रीयहरू हराए । वरको रुखमा काग कराइरहेको थियो । पुलुक्क मन्दिरतिर हेरेँ । साथीहरूसँगै म पनि गाडीमा पसेँ ।

काँक्रे विहारः बजार नजिकै रहेछ विहार । काँक्रे भनेको के हो ? उत्तर आएन कसैबाट । बजार नजिकै । बजारमै जोडिएको भने पनि हुने रहेछ विहार ।
गाडीबाट बाहिर आयौँ । थोरै हिँड्यौँ । तल वन । माथि वन । अग्ला सालका रुख । फलामको गेट आयो । त्यहाँबाट माथि … विहारमा पुगिन्छ रे ! गेटभित्र पस्यौँ ।

अहिले हामी छापेका ढुंगाको खुड्किलामा टेक्दै माथि उक्लदैछौँ । खुड्किलामा कुल्चिँदा खस्रक्क पात बजेको आवाज आउँछ । सालघारीमा पात नभए के हुन्छ त भन्छ मेरो मन । खुड्किलाका छेउछेउमा कतै कतै विहारबारे लेखेको देख्छु । अलि पर छ पढ्न मिल्दैन । साथीहरू फोटो खिच्न मस्त छन् । टुप्पोमा पुगेछौँ । वनभित्रको थुम्कामा चढेजस्तो लाग्छ । कुन हो विहार ?
– म

यही त हो – ऊ

छैन त ? –म

भत्कियो नि । त्यसैले त अहिले निर्माण हँुदै छ धमाधम – ऊ । ढुंगाका मूर्तिहरू भुइँभरी असरल्ल छरिएका छन् । टुँडालहरू कतै सग्लै, कतै भाच्चिएका छन् । पुराना इँटाको गाह्रको डल्लो खसेको छ । जताततै झ्यालढोका देखिन्छ भुइँभरी । के विजोग हेर्न आइएछ भन्छ मेरो पिन्चे मन ।
रुखमुनि छाप्रोमा बसेर भक्तपुरबाट गएका दक्ष कलाकारहरू ढुंगामा काठमा विविध चित्र कोर्दैछन् । खोप्दैछन् । सिर्जना गर्दैछन् ।

‘भक्तपुरबाट कहिले आउनुभएको ?’, म ।

‘धेरै भो । हामी रातदिन १० जना यहाँ काम गर्छौं’, ऊ ।

फोटो सेसन आयो । मोबाइलमा भकाभक गोदेको छ छ ।

भो फिरौँ ? दुई–चार जना घुमन्तेहरूलाई त्यही छोड्यौँ अनि जुन खुड्किलाबाट चढेर माथि पुगेका थियौँ । तिनै खुड्किलाबाट झरेर रोडमा आयौँ ।

भोले मन्दिरः परालको माँचमा टन्नै छ पराल । गोरु चर्दैछन् । खाली चउरमा गाडी रोकेको छ । छेउको भित्तामा उभिएर ऊ सु गर्दैछ तर कुकुरले जस्ते खुट्टा उचालेर होइन । तन्नेरी आँपका बोटहरू मज्जाका छन् । भर्खर दाएका गोरुजस्ता । नजिकै छ मन्दिर । मन्दिरको गजुरतिर परबाट हेर्दैछन् सहरका घरहरू ।

अर्को गाडीसँगै गएर बस्यो हाम्रो पनि कार । कार दोस्ती पो देखेँ त मैले । पूर्ण आस्तिक बनेर हामीहरू हिँड्दै गयौँ । नजिकै दुई पाइलामा मन्दिरको गेटभित्र पस्यौँ । म मन्दिर पुग्दा जहिले पनि मन्दिरलाई एक फन्को वा तीन फन्को परिक्रमा गर्छु अनि मात्र मूल गेटबाट मन्दिरभित्र पस्छु । यस्तो सान्निध्य लैलैमा कहाँ पाइन्छ र ?

मन्दिरभित्र मूर्ति पूजा गर्दै थिए भक्तजन । भिड होइन । खाली पनि थिएन । पूजा गर्ने पालो आइनसकेकोले म यसो हेर्दै थिएँ । शिवजीको मूर्तिमाथि सिमेन्टले बनाएको छुट्टै भाग खण्ड थियो । मन्दिर भित्रको गारो पनि अन्य मन्दिरहरूको भन्दा छुट्टै देखेँ । मैले पुजारीलाई सोधेँ, ‘उनले निर्धक्कसँग भने, ‘मन्दिरको गारो र मूर्ति माथिको भाग शिव मन्त्र विधिबाट निर्माण भएको छ त्यसैले जो कोहीलाई पनि अनौठो लाग्छ देख्दा ।’

हामी मान्छेको स्थूल शरीर सृष्टिकर्ता परमपिताले झुक्नकै लागि त बनाएका हुन् नि भन्दै पालो आएपछि जटाजुट धारी शिवको दर्शन गरेँ कुप्रो परेर ।
कुप्रो परेको बेला पुजारीले मलाई भने, ‘यो मन्दिरको निर्माण वि.सं. १६३९ मा भएको थियो ।’ निस्किएर गाडीतिर जाँदा आँपका फूलहरू टाउको भरी झरे । गाईवस्तु । माँच । आँपका बोट । मान्छे मन्दिरहरूले म दिङ्ला पुगेँ । सम्झना आयो ।

बुलबुले तालः बजारको माझमा रहेछ यो ताल । गाडीमा घुम्नेलाई के को महाभारत ? हिँडेरै पनि एकै छिनमा पुगिने । गाडीबाट निस्कियौँ । त्यहीँ रहेछ तालको गेट । गेटमा टिकट काट्नुपर्ने रहेछ छिर्न । नकाटी धर । काट्यौँ । मान्छेको कुडुलो । छिर्दैछन् । निस्किदैछन् । छिर्ने समूहमा हामी पनि ठेलिदैछौँ । चिरिच्याट्ट परेको पठ्ठो बाटोबाट हिड्दैछौँ हामी ।

भित्र पुलिस छन् थुप्रै । पार्किङमा गाडीहरू छन् । बाटोको दायाँबायाँका रुखहरू पुलिस देखेर चुइक्क बोल्न सकेका छैनन् डरले । शान्त भिड । आवाजविहीन आवाज ।

को रहेछ ? मैले सोधेँ ।

‘कुन्नि को भिआइपी आएको छ रे !’, ऊ ।

इँटा छापेको तेस्रो बाटो तुरियो । एक तहमुनि, ढुंगा छापेको ठाउँमा हिँड्दै छौँ हामी । त्यहीँ एकातिर अग्ला वरपीपल ताललाई छाता ओढाएर बसेका देखेँ ।

पोखरीलाई वरिपरि फलामेबारले घेरेको छ । वारको नजिक उभिएर पोखरीतिर हेर्दे छन् मान्छे । म पनि बार छेउ गएँ । भित्र हेर्न थालेँ । नीलो छ पानी । पोखरीको पानी बीचबीचमा भुलभुल उफ्रिँदै छ । जमिनबाट पानी उम्रिएको मुहानमा भुलभुल गरेजस्तो । हामी पूर्वेलीहरू भुलभुल भन्छौँ । हन, त्यसैलाई पश्चिमाहरूले बुलबुल भनेको पो हो कि क्या हो ?

तालको नीलो पानीसँग मैले निकैबेर आँखमिचौली खेलेँ । पानीसँग लभ परेको देखेर श्रीमतीले भनिन् – कति हेर्नु परेको पानी । जाऔँ । भो । पुग्यो ।
मैले भनेँ – नकराउन । सानी नानी पोखरी कति राम्री । नानीको बुलबुल उफ्राइ झन् कति राम्रो । यति सुन्दर दृश्य त देवलोकका देवताहरू पनि हेर्न पाउँदैनन् । हेर्न देउन ।

(झननन्न झन् झन् । बुलबुले तालैमा । )

निस्कियौँ । हेर्दैछौँ । घुम्दैछौँ । पोखरीको बाहिरपट्टि एक भागमा पोखरीबाटै निस्किएका ध्वाँक्कका चार वटा धारा देखेँ । ती धारमा थुप्रै कोमलकाया वनिता मातृ शक्तिहरू माडीमाडी नुहाइरहेका थिए । महिलाले नुहाएको पुरुषले नहेर्नु भन्छन् । मैले मुन्टो बटारेँ । अर्कोपट्टि पुग्यौँ । त्यहाँ तीन वटा गतिला धाराबाट पानी झरिरहेको थियो । मान्छेहरू नुहाइरहेका देखिन्थे । निस्कौँ । हुन्छ । निस्कियौँ ।

सोध्दै नसोधी राइनो होटलको कोठा पो बुक ग¥यौँ त ?

कहाँ छ त्यो होटल ?

बर्दिया राष्ट्रिय निकुञ्जभित्र ।

जाने । जाने । अहाँ आज रात जंगलभित्र सुत्न पाइने भो ।

नयाँ हेर्न । अनुभव गर्न । कहिल्यै मलाई सोध्नु पर्दैन । सबैको अनुहारमा मुस्कुराहट फैलियो ।

हामीले गाडीलाई बर्दिया राष्ट्रिय निकुञ्जतिर उडायौँ । बेलुकाको चारजति बजेको छ । निन्याउरा छन् घाम मलीन ।

मार्ग दृश्य एक ः माथि छ वन । ढाडतिर छ वन । अगाडि छ सानु तराइवाला खोल्सो । दुईतिर खेती । बीचको खोल्सामा बग्दै छ पानी । खोल्सो र खेतको डिल छोएर अघिअघि जाँदै छ गाडी बाटो खेतमा । रोडमा होइन । सानु डोरेटो बाटैमा थचक्क बसेका छन् दुई महतारी चाकल माडेर । म

गाडीभित्रबाट तेता हेर्देछु ।

दुईटीले नै साडी । चोलो । पटुका लाको छ । नांगा खुट्टा छन् । निन्याउरो छ अनुहार । मुखमा ज्योति छैन । एउटीको अगाडी घाँसको भारी छ । अर्कीको अगाडी बाँधेर बोकेको अहिले भने भुइँमा बिसाको चिर्पट दाउराको बिटो छ । मैले ती दुई महिलातिर हेर्दाहेर्दै गाउँघर सम्झेँ ।
दृश्य दुई ः त्यहाँबाट निकै पर तर बाटो भने तेही । चार जना अल्लारे केटाकेटी खेतका आलीमा उभिएर एकोहोरो टुलुटुलु हाम्रो गाडीतिर हेर्दैछन् । परिवेश अघिकै । अर्थात् खेत । जंगल । कुलो । डोरी बाटो । उनीहरूले गाडीतिर हेरेजस्तै मैले पनि उनीहरूको अनुहार पढेँ ।

तन्नेरी । तरुनी । सवैको अनुहार अँध्यारो छ । पीडा बोकेजस्तो । लाएका लुगा गतिला छैनन् । एकअर्कामा गफसफ नगरी मौन उभिएका जस्तो ठानेँ मैलेँ । जाँदाजाँदै मैले उनीहरूलाई पढ्न खोजेँ । गाउँघरको जीवन बुझ्न खोजेँ । तेती सकिनँ ।

आदरणीय पाठकहरू । ती जस्तै हाम्रो गाउँमा बस्ने गाउँलेहरूको जीवन पढ्नुहोस् । अनि भन्नुहोस् । सुन्दर भूमि र प्राकृतिक स्रोत भएको देशका जनतालाई कसले यति निरीह बनायो ? सरकारले हो ?

राइनो होटलको गेटमा पुग्यौँ । गाडी रोक्यौँ । ठूलो रुख मुनि । जताततै रुखका हाँगा नुहेर भुइँसम्म लत्रिएका । गाडी बाटोमा पनि बर्को ओडेर उभ्भिएका वृक्ष सन्ततीहरू । इँटा छापेको भुइँमा टेक्दै हामी लुरुलुरु हिँडदैछौँ । हेर्दैछु म । सबै नौलो । अग्ला रुखको फेदमा थुपुक्क बसेका एकतले पराल छाने चिटिक्क मन भावन घरहरू । खै के घर भन्ने ? जंगलभित्र उभ्भिएका मुना महलहरू ।

हलमा पु¥याएँ । उज्यालै थियो । साँझ साँझको मुलायम बेला । होटल व्यवस्थापकसँग परिचय गराए । हात मिलायौँ । त्यो मान्छे मज्जाको लाग्यो । होला इन्डियन । न हुन पनि सक्छ । टुपी शिखा पारेको । धोती आकारको लुगा लाको । एकछिन नेपालीपछि ऊ त भटट अंग्रेजीमा हाँडीमा भुटेका मकै उफ्रिएजस्तो उफ्रिन थाल्यो । हाम्रा साथीहरूले पनि उसको ताइँ झार्ने गरी अंग्रेजीमा फट्फारे ।

भन्यो – साँचो लिनुस् । कोठामा आराम गर्नुस् । डुल्ने मन भए बाहिर नजिकै हात्ती पालेको हात्तीसार छ । जानुस् । हात्ती हेर्र्नुस् । त्यहाँबाट सूर्यास्त पनि देखिन्छ ।

हुन्छ । भन्दै हातमा साँचो लिएर कोठातिर लाग्यौँ ।

कोठामा बस्ने मन कसैको थिएन । कोठामा बस्न बर्दिया आएका हौ र ? जे ताछिन्छ । ताछियोस् । आज सूर्यास्त त हेर्ने हेर्ने । यसो भन्दै कोठा ढप्क्याएर बाहिर निस्कियौँ ।

उही त हो मधेस । उनै कुखुरा । उनै छाप्रा । उनै घुँडा घुँडा वस्त्र धारण गरेका मान्छे । नबुझिने बोली । हाँसका जोडी ढल्किँदै गइरहेका । रुखबाट बिष्ट्यायो चराले अघिल्तिर ।

साइत प¥यो ।

होइन । के को साइत । चराले फोहोर फालेको त हो ।

नहरमा बगिरहेको छ पानी । बगेको देखिन्न । पोखरीको पानी लाग्छ रोडसँगैको बारीमा नरिवल र सुपारीका पात हल्लिदै छन् । दाना हेर्छु । देख्दिनँ । बाटै छेकिने गरी नाङ्लामा बेच्न राखेको देखिन्छ ः नरिवल, सुपारी, मिश्री, सुर्तीसस्ता चकलेट ।

भुराभुरी नाक पुछ्दै नांगै कुद्दैछन् । प…रबाट हामीतिर आउँदैछ गोरु गाडा । भैँसीको ढाडमा बसेर चराउँदै छ केटो । मेरो बाको खेती होक्लाबारी पुगेको लाग्छ मलाई । बाटोमुनि झुरुम्म देखिन्छन् पराल छाने घर । एक–दुई तले । गोबरको गन्ध उडिरहेको छ । वरपर रातै फुलैफूल । घुँडामाथि मैला साडी र टाउकामा ढकी बोकेर हिँड्दै गरेको मातृशक्ति । खुर्र बाटो काट्दै गरेका कुखुराका चल्ला । हेर्दैहेर्दै गइरह्यौँ ।

सूर्यास्तः यो हात्ती पाल्ने ठाउँ हो होटलको । कसैले भन्यो । हामी अलिमाथि छौँ । डिलमा उभिएर तलका हात्तीतिर हेर्देछौँ । टहराभित्र बसेका छन् केराका थाम लुछ्दैछन् । सानु छावालाई खेलाउँदै छे । होली छावाकी आमा । गन्ध हामी भए ठामसम्म आइरहेको छ हात्तीसारको ।
हात्तीसारसँगै दुईतिर झाडी । बीचमा नबोल्ने खोल्सो बग्दै छ । हात्ती कटेरोनिर के के जाति लेखेको र घोचामा टाँसेको देखेँ । मनैमन भनेँ, ‘पर्यटकलाई अल्मल्याउन लेखेको होला ।’

यहाँबाट सूर्यास्त देखिन्छ । ऊ उता हेर्नुस न । म हेर्दैछु । प…र प…र सूर्यास्त हुँदै छ । क्रमशः । आज । अहिले यतिबेला सूर्य मर्दैछन् । फेरि भोलि सखारै सूर्यदेव बाँच्नेछन् । धर्तीमा ज्योति विस्तार गर्नेछन् ।

सूर्य प्रत्येक साँझ मर्छन् र प्रत्येक बिहान जन्मिन्छन् तर मान्छे मरेपछि सूर्यजस्तै भोलि बिहान किन जन्मिदैनन् ? यसलाई पूर्वीय दर्शन भन्छ – कर्म प्राप्ति । सबै मान्छेको यस्तो अवस्था रहन्न । हेर्दाहेर्दै घाम अस्ताए ।

हामी माथिको डिलबाट तल हात्तीसारतिर लाग्यौँ । के जानु नि । नजिकै थियो । सबै ह्वारै भित्र पस्यौँ । यो कति वर्षको भयो ? कति वर्षकी भई ? कुनको बानी राम्रो ? कुनको नराम्रो ? माहुतेलाई सोध्दाका ज्यास्ती । फोटा खिच्न हुन्छ ? हुन्छ हुन्छ । नजिकै नजानुहोस् । अलिपरबाट जति खिचे पनि हुन्छ । भकाभक गए फोटा । दे दनादन । मनलाग्दी पुच्छर । सुँढ । ढाड । करङ छोयौँ ।

अब फिरौँ ?

हुन्छ ।

अघिकै बाटोबाट फर्कियौँ । अँध्यारो हुँदै थियो निष्पट्ट भने भइसकेको थिएन । पुगेर कोठाभित्र पस्यौँ । बाहिर निस्केँ । त्यही भेटिए एक जना भाइ ।

कुरा थालेँ –

यो ठाउँको नाम ?

गुरुद्वारा बर्दिया ।

होटलको नाम ?

राइनो ।

म बसेको कोठाको नाम ?

क्रोकोडायल ।

मनैमन भनेँ, ‘सन्सनीपूर्ण नामहरू ।’

सात बजेतिर डिनर हलमा गयौँ । अग्लो टायल छाने हो कि पराल छाने (बिर्से ) घर । हल । हलभित्र टन्नै छन् । सेताहरू । सेतीहरू । खानेकुरा सबै विदेशीका । उनीहरूसँगै बसेर हामीले पनि विदेशी खाना खायौँ । मनमनै भनेँ, ‘हाम्रै सिन्की गुन्दुक मीठो ।’

खाइसकेर सबैजना एउटा कोठामा बसेर गफ गर्दे थियौँ । एक्सक्यूज मि भन्दै टुपीवाला हामी गफिएका ठाउँमा आयो ।

भन्न थाल्यो, ‘भोलि बिहान चाँडै जंगल जानुपर्छ । तपाईंहरू ६ जनाको मात्रै ग्रुप छ । असजिलो होला भनेर तपाईंहरूको ग्रुपमा अरू विदेशी राखेको छैन । एउटा जिपले तपाईंहरूलाई घुमाउँछ । जिपमा खाजाको प्याकेट पनि हुन्छ । डराउनु पर्दैन जंगलमा केही हुन्न । जिप बिहान ६ बजे छुट्छ । तेतिबेलासम्म तयार भइसक्नुहोला । अरू त के छ र ? जानुस् । घुम्नुस् । हेर्नुस् । रमाइलो गर्नुस । अँ एउटा गाइड तपाईंहरूसँगै हुन्छ । ऊ परिपक्क छ । राम्ररी गाइड गर्छ । मुसुमुसु हासिरह्यौँ हामी ।

धन्यवाद ! भनेर ऊ गयो ।

पेट पूर्ण भो अघायौँ । गफ पूर्ण भएको थिएन । कोठा बाहिर सबै आयौँ । गफ सुरु भो । न आदि न अन्त । न छेउ । न टुप्पो । कुरा कथुरे को छ । छ ।
भो सुतौँ ।

हुन्छ ।

चुकुल बन्द भए सबैका । अब कोठाभित्र अरू कोही छैन । आफ्नाआफ्नी मात्रै । स्वतन्त्र । उन्मुक्त । सुतेर । घुरेर । कोल्टो फर्केर । ढाड जोडेर । बोलेर । नबोलेर । चलेर । नचलेर । रात बितायौँ । क्रमश ..

प्रतिक्रिया