मुगुमा भएको आगलागीमा ४ करोडभन्दा बढीको क्षति

मुग । मुगुको सदरमुकाम गमगढीमा शुक्रबार राति भएको आगलागीमा ४ करोडभन्दा बढीको भौतिक संरचना र धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आइतबार बिहान जिल्ला विपद् समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले आगलागीमा ४ करोडभन्दा बढीको क्षति भएको बताए ।

आगलागीमा जलेका घरहरूका घरधनी, बहाल तथा भिन्न व्यवसाय गर्दै आएका व्यवसायीको सामान, भौतिक संरचनाको सूचना र बजार मूल्यको विश्लेषण गरेर अनुमानित क्षति निकालिएको प्रहरीले जानकारी दिएको छ । बैठकमा नेपाल रेडक्रस मुगु शाखाको तथ्यांक अनुसार आगलागीबाट २८ परिवारका ९५ जना परिवार प्रभावित भएका छन् ।

यस्तै आगलागीबाट ८ घर पूर्ण र ३ घर आंशिक क्षति भएको उल्लेख छ । आगलागीबाट क्षति भएका घरहरूमा विभिन्न व्यवसाय गर्दै आएका ९ जना व्यवसायीका पसल र घरभाडामा बस्दै आएका ११ जनाको सामान तथा लत्ता कपडा जलेको रेडक्रसले जनाएको छ । आगलागीबाट प्रभावित परिवारमध्ये ४७ जना बालबालिका र ४८ जना अन्य उमेर समूहका रहेका छन् ।

प्रतिक्रिया