मुशायरामा गुञ्जिए तीन स्रष्टा

काठमाडौं । आदिगजलकार मोतीराम भट्टको १५८औँ जन्मजयन्तीको सन्दर्भ पारेर ३ जना युवा गजलकारका गुञ्जिएका छन् । नेपाल गजल प्रतिष्ठानले शनिबार राष्ट्रिय नाचघरमा आयोजना गरेको गजल मुशायरामा तीन जना गजल स्रष्टाले गुञ्जिएका हुन् । मुशायरामा तनहुँका अनजान यात्री, धादिङकी राधा कणेल र झापाका मिलनकुमार ढुङ्गानाले तरन्नुम शैलीमा गजल प्रस्तुत गरे ।

प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारबाट थप ३ जना गजलकारका १÷१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिएको थियो । गजलकार नृपेश उप्रेतीको गजल ढुङ्गानाले, खिम पुनको गजल यात्रीले र रोमा लम्सालको गजल कणेलले वाचन गरेका थिए । यसका साथै १० जना गजलकारका १० उत्कृष्ट शेरलाई कार्यक्रमका परिकल्पनाकार एवं सूत्रधार आँचलकुमार शर्माले वाचन गरेका थिए । कार्यक्रममा राधा कणेलको एउटा गजल गजलकार रश्मि असफल र राधा कणेलले संयुक्त वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रवि प्राञ्जलले नेपाली गजल लेखन थप सशक्त बन्दै गएको भन्दै खुसी व्यक्त गरे । उनले गजलवाचनले पनि स्रोतामा प्रभाव छाड्ने र गजलको अर्थबोध गराउने हुँदा वाचन र लेखनको तालमेल हुनुपर्ने बताए । उनले गजलले भन्न खोजेको आशय वाचनबाट अझ सशक्त तवरले प्रकट हुने भएकाले गजलवाचनमा विशेष ख्याल गर्नु पर्नेमा जोड दिए ।

नेपाली गजलको उन्नयनमा विगत लामो समयदेखि अनाममण्डली, गजलगृह, नेपाल गजल प्रतिष्ठानलगायत संस्थाको भूमिका उल्लेखनीय रहेको प्राञ्जलको भनाइ थियो । कार्यक्रममा प्रतिष्ठानले ४ ओटा सम्मान तथा पुरस्कार स्थापना गरेको जानकारी दिइएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार गजल स्रष्टा डा. प्रदीपकुमार मैनालीले आफ्नो लोकप्रिय गजल ‘के लत बस्यो मलाई’ का नाममा प्रत्येक वर्ष प्रदान गर्नेगरी १० हजार रुपैयाँ राशिको ‘के लत बस्यो मलाई गजल पुरस्कार’ तथा सम्मान स्थापना गरेका छन् । यसरी नै दीपशिखा शर्माले २/२ वर्षमा प्रदान गर्नेगरी ३५ हजार रुपैयाँ राशिको ‘पद्मिल गजल बहार पुरस्कार तथा सम्मान’, निर्मला घिमिरेले ३५ हजार रुपैयाँ राशिकै २/२ वर्षमा प्रदान गर्नेगरी ‘इशा पुस्तक पुरस्कार तथा सम्मान’ र अमरदेव बाँस्तोलाले २/२ वर्षमै प्रदान गर्नेगरी ३० हजार रुपैयाँ राशिको ‘कलाकृति बहर बहार संगीत सम्मान’ स्थापना गरेका छन् । यी सबै पुरस्कार र सम्मान नेपाल गजल प्रतिष्ठानमार्फत प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । संस्थाले आगामी कात्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा सांगीतिक गजल गुञ्जन कार्यक्रमसमेत आयोजना गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया