हाब्रे संरक्षणमा सरोकारवालाको चासो

कालीकोट । पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाको जिल्लास्तरीय सरोकारवालाहरूको समीक्षा गोष्ठी सम्पन्न भएको छ । हिमालयन सामुदायिक स्रोत विकास केन्द्र एचसिआरडिसी र मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको संयुक्त साझेदारीमा समीक्षा गोष्ठी गरिएको हो ।

हिमालयन सामुदायिक स्रोत विकास केन्द्रका अध्यक्ष कर्णप्रसाद चौलागार्इंको अध्यक्षता, जिल्ला समन्वय समिति कालिकोटका उपप्रमुख मीना रावलको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको विशेष आथित्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाले गरेका क्रियाकलाप तथा थप गर्नुपर्ने कार्यमा विस्तृत छलफलसमेत गरिएको थियो । लोप हँुदै गएको रेडपान्डा(हाब्रे) संरक्षण गर्न कालीकोटका सरकारी तथा गैरसरकारी संस्थाहरू सक्रिय हुनुपर्ने सहभागिहरूले बताएका छन् ।

रेडपान्डा पाइने कालीकोटका तीन वटा स्थानीयतह महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र पचालझरना गाउँपालिकाका अधिकांश क्षेत्रमा हाब्रे भेटिएको रेडपान्डा नेटवर्कको एक रिपोर्टले जनाएको छ । पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाको जिल्लास्तरीय सरोकारवालाहरूको गोष्ठीमा कर्णप्रसाद चौलागार्इंले रेडपान्डा बहुमूल्य नभई लोप हुन लागेको दुर्लभ प्राणी हो भन्दै यसको संरक्षणमा सबैको चासो हुनुपर्ने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले आगलागीबाट वन्यजन्तु बचाउन सबै नागरिकहरू संवेदनशील हुनुपर्ने बताएका छन् । हाब्रे संरक्षणमा जुटेका व्यक्ति तथा संस्थाहरूले सक्रिय हुन आवश्यक रहेको माझीले बताए । हाल सम्मको रिपोर्टअनुसार विश्वमा १० हजारको हाराहारीमा रेडपान्डा(हाब्रे) रहेको रिपोर्टमा छ । नेपालमा मात्र पाँच सयको तुलनामा रेडपान्डा(हाब्रे) रहेको हुरेन्डेकका उपाध्यक्ष वीरेन्द्रबहादुर बुढाले बताएका छन् । वन्यजन्तु संरक्षणमा वातावरण वचाउ अभियान महत्वपूर्ण रहेको पनि बुढाले बताए ।

जिल्ला समन्वय समिति कालिकोटका उपप्रमुख मीना रावलले वन्यजन्तु नै हाम्रा सम्पत्ति रहेको बताउँदै पर्यटकीय दृष्टिकोणले दुर्लभ रेडपान्डा बचाउन सबैको चासो रहनुपर्ने बताएकी छन् । पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाका फिल्ड प्राविधिक लक्ष्मण सिंहले वातावरण, जल, जंगलको संरक्षण हामीले गर्न नसके वन्यजन्तु संरक्षण गर्न नसक्ने बताउँदै सबैले हरियो वनलाई मास्न नहुने बताएका छन् ।

डिभिजन वन कार्यालय कालिकोटका प्रमुख रमेश गिरीले वन्यजन्तु संरक्षणमा आफ्नो र कार्यालयको तर्फबाट सधँैभरि लागि रहेको बताएका छन् । आगामी दिनमा डिभिजन वनले नागरिकसँगको सहकार्यमा रेडपान्डा मात्र नभएर अन्य वन्यजन्तु र वन संरक्षणमा सदैव साथमा रहने प्रतिबद्धता जनाए । गोष्ठीमा सहभागी सम्पूर्णले नागरिक समाज, स्थानीयबासी, तिनै तहका सरकार सबैले वन जंगल संरक्षण गरी जंगलमा वासस्थान बनाएका वन्यजन्तुको रेखदेख गर्ने र सिकार रोक्नुपर्ने बताएका छन् ।

कार्यक्रममा प्रहरी प्रमुख अर्जुन केसी, पत्रकार महासंघ कालिकोट सचिव खडानन्द अधिकारी, इन्सेक प्रतिनिधि कालीबहादुर मल्ल, जिल्लास्थित पत्रकार तथा सञ्चारकर्मी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजनाका संयोजक गोपाल कार्कीले गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया