सुर्खेत । नेकपा एमालेमा गुट नरहेको भनियता पनि प्रदेश अधिवेशनको दृश्यले यसलाई असत्य सावित गरिदिएको छ । एमालेमा दोश्रो वरियताका लागि गुटको खेल हुने गरेको छ ।
खासगरी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको जुँगाको लडाई प्रदेश अधिवेशनमा देखिने गरेको छ । कर्णाली प्रदेशको पहिलो अधिवेशन यही असोज १० र ११ गते हुँदैछ । यसमा पनि यी दुई नेताबीचको गोरु जुुधाईमा प्रदेशका नेताहरू मिचिने भएका छन् ।
राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट हुने भएको छ । प्रदेश अधिवेशन नजिकिँदै जाँदा अध्यक्षमा ५ जना दाबेदार देखिएका छन् । यसअघि अधिकांश केन्द्रीयस्तरका नेताहरूले अध्यक्षको लागि आन्तरिक इच्छा जाहेर गरेका थिए ।
प्रदेश अध्यक्ष पोलिटब्यूरो सरह हुने भएपछि पोलिटब्यूरोका नेताहरू पनि सर्वसम्मत अध्यक्षको कसरतमा थिए । तर, अधिवेशनका लागि एमाले कर्णालीले भदौ ३० गते प्रदेशका ७९ वटै स्थानीय तहमा प्रतिनिधिको छनोट गर्ने मिति तोकेको थियो । त्यस मितिमा केन्द्रीय नेताहरू प्रतिनिधि हुन पाएनन् ।
एमाले कर्णाली प्रदेश कमिटीका अनुसार २१ वटा जनसंगठनबाट गरी ५० जना र अन्य जिल्लागत भूगलोबाट ५०४ गरी जम्मा ६०४ जना प्रतिनिधि छनोट हुँदै छन् ।
डोल्पा र रुकुमपश्चिम जिल्लाले प्रतिनिधिहरूको खाका तयार पारेर प्रदेशमा पठाइसकेको छ भने अन्य जिल्लाका केही पालिकाबाट मात्रै प्रतिनिधिको विवरण प्रदेश पार्टी कार्यालयमा आएको छ ।
यसअघि एमालेले प्रत्येक जिल्लालाई भदौ ३० गते एकै दिन प्रतिनिधि चयन गर्ने र असोज २ गतेभित्र पठाइसक्ने गरी आन्तरिक निर्देशन जारी गरेको थियो । तर, प्रतिनिधि छनोटमा निर्देशनको अवज्ञा गर्दै नेताहरूको प्रभाव र गुट–उपगुटका कारण ढिलाइ भइरहेको छ ।
नेताहरूले अधिवेशनमा निर्वाचन हुने निश्चित भएपछि प्रतिनिधि छनोटबाट नै गुटको खेल खेल्न सुरु भएको बताएका छन् । हालसम्म एमाले कर्णाली प्रदेश अधिवेशनमा अध्यक्ष पदमा पाँच दाबेदार देखिएका छन् । उनीहरूले आफ्नो दाबेदारी सार्वजनिक नगरे पनि भित्रभित्रै कसरत गरिरहेका छन् ।
अध्यक्षका लागि सल्यानबाट पोलिटब्युरो सदस्य गुलाबजंग शाह र कालिकोटबाट केन्द्रीय सदस्य प्रेमबहादुर सिंह प्रतिनिधि बनिसकेका छन् । अध्यक्षकै आकांक्षी देखिएका हालका उपाध्यक्ष जाजरकोटका लालबहादुर महतारा, प्रदेश कमिटी सदस्य कालीकोटका मीनबहादुर शाही र दैलेखका राजबहादुर शाही पनि प्रतिनिधि छनोट भएका छन् ।
यस्तै, सुर्खेतका ध्रुवकुमार शाही पनि अध्यक्षका आकांक्षी छन् । तर, टिम बनाएर चुनावी मैदानमा जाँदा उनी अध्यक्ष नभएर अन्य पदाधिकारीमा लड्नुपर्ने अवस्था आउनसक्ने नेताहरू बताउँछन् ।
अध्यक्षका लागि गुलाबजंग शाह र प्रेमबहादुरले सर्वसम्मतिको प्रयास गरिरहेका छन् । तर, सर्वसम्मत नेतृत्व चयन हुने अवस्थामा अन्य नेताले पनि दाबी गर्न सक्नेछन् । त्यसमा पनि एमाले लुम्बिनी प्रदेश अधिवेशनको असर कर्णालीमा पर्ने सम्भावना देखिन्छ । लुम्बिनीमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनाव मात्र भएन, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका उम्मेदवारबीच तीव्र गुटगत प्रतिस्पर्धा नै भयो र अन्ततः पौडेल पक्षधरले बाजी मारे ।
कर्णालीका अधिकांश नेता महासचिव पोखरेलनिकट मानिन्छन् । तर, पछिल्लो समय एमाले स्थायी कमिटी सदस्य गोरख बोगटीलाई उपाध्यक्ष पौडेलपक्षधर भन्न थालिएको छ ।
यस्तै, एमाले कर्णालीमा स्थायी कमिटीका २,पोलिटब्युरोमा ४ र केन्द्रीय कमिटी सदस्य गरी २८ जना छन् । ती नेतामध्ये केहीबाहेक सबै पोखरेलनजिक मानिए पनि भित्रभित्रै नेतापिच्छेका आ–आफ्नै गुट–उपगुटसमेत बनेका छन् । खासगरी स्थायी कमिटी सदस्य यामलाल कँडेल र गोरख बोगटीका समूहबीच ध्रवीकरण बढेको छ ।
प्रतिक्रिया