गत महिना चन्द्रमाको दक्षिणी ध्रुवनजिकै चन्द्रयान–३ अवतरण गराएर भारतले इतिहास रच्यो । चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू संकलन गरेर १० दिन बिताएका थिए ।
यो महिनाको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुने गरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए किनकि ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिन्छ ।
भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले यही ‘२२ सेप्टेम्बरतिर’ चन्द्रमामा अर्को चन्द्रदिनको आरम्भ हुँदा तिनीहरू ‘बिउँझिने’ आशा गरिएको बताएको थियो । इसरोले ती रोभर र ल्यान्डरको गतिविधि र खोजहरूबारे नियमित जानकारीहरू प्रकाशित गर्नुका साथै तस्बिरहरू पनि सार्वजनिक गरिरहेको छ ।
ती जानकारीहरूले थुप्रै भारतीयलाई उत्साहित बनाएको छ भने केहीले त्यसरी पत्ता लागेका नयाँ कुराहरूको महत्व के छ भनेर चासो देखाएका छन् । बिबिसीले नासाकी पूर्ववैज्ञानिक तथा दिल्लीमा रहेको अन्तरिक्ष शिक्षा कम्पनी स्टेम एन्ड स्पेसकी सहसंस्थापक मिला मित्रलाई चन्द्रयान–३ ले गरेका ठूला खोज र तिनको महत्वका बारे विस्तारमा बताउन अनुरोध गरेको छ ।
कति दुरी तय भयो ?
सेप्टेम्बर २ तारिखमा प्रज्ञान रोभरलाई निष्क्रिय अवस्थामा राख्नुअघि इसरोले उक्त रोभरले ‘सय मिटरको दुरी पार गरिसकेको र यात्रा जारी रहेको’ बताएको थियो । प्रति सेकेन्ड एक सेन्टिमिटरको दरले अघि बढ्ने उक्त ६ पांग्रे रोभरका लागि त्यो यात्रा लामो हो ।
मित्र भन्छिन्, ‘उक्त रोभरले चन्द्र सतहमा सुरक्षित रहेर चलायमान हुन सक्यो र यसअघि अनुसन्धान नभएको चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा धेरै संख्यामा रहेका खाडल ‘क्रेटर’ हरूमा खसेन जुन उल्लेखनीय विषय हो ।’
उक्त रोभरमा ‘रकर बोगी’ भनिने पांग्राहरूको विशेष संयोजन छ जसको अर्थ ती सबै ६ वटा पांग्राहरू एकैसाथ चल्दैनन् । यसबाट उक्त रोभरलाई माथि चढ्न र तल ओर्लन सहयोग पुग्छ । तर गहिरो क्रेटरमा खसेमा भने त्यो बाहिर निस्कन सक्दैन । त्यही भएर उक्त रोभरले क्रेटरहरूको मुख छल्दै तिनलाई घुमेर अगाडि बढ्नु वा फर्केर पछाडि सर्नु जरूरी हुन्छ ।
र, मित्र भन्छिन्, त्यस्तो कार्य पृथ्वीमा रहेको नियन्त्रण केन्द्रमा बसेका वैज्ञानिकहरूले गर्छन् जसले ‘चन्द्रमालाई रोभरको आँखाबाट हेर्छन् ।’
‘रोभर स्वचालित छैन र त्यसका गतिविधिहरू त्यसले पठाएका तस्बिरहरूको आधारमा नियन्त्रण केन्द्रबाट सञ्चालित हुन्छन् ।’
‘घुमाउरो तरिकाले ती तस्बिरहरू नियन्त्रण केन्द्र (कमाण्ड सेन्टर) सम्म आइपुग्ने भएकाले त्यसका लागि केही समय ढिलो हुन्छ । प्रज्ञानले ती तस्बिरहरू पहिला ल्यान्डरमा पठाउँछ । ल्यान्डरले चन्द्रमा वरिपरि घुमिरहेको अर्बिटरमा त्यसलाई पठाउँछ र अर्बिटरबाट त्यो पृथ्वीमा आइपुग्छ ।’
त्यसैले कमान्ड सेन्टरले पठाएको निर्देशन रोभरसम्म पुग्दा त्यो जोखिमको केही कदम अगाडि पुगिसकेको हुनसक्छ । दुई वटा क्रेटर वरपर सुरक्षित रूपमा घुमेर अघि बढ्न सकेको तथ्यले कमान्ड सेन्टरसँग छिट्टै सञ्चार सम्पर्क गर्न सकेको रहेछ भन्ने देखाएको मित्रले बताइन् ।
तातो र चिसो तापक्रमको चरम अवस्था
चन्द्रमाको माथिल्लो तहको माटो र त्यसको १० सेन्टिमिटर गहिराइको तापक्रममा निकै भिन्नता देखिएको छ । चन्द्र सतहको माटोका बारे संकलन गरिएको पहिलो खेपको डेटाका अनुसार त्यहाँको सतहमा तापक्रम ६० डिग्री सेल्सिअस देखिएको छ भने जमिनको ८० मिलिमिटर (झण्डै तीन इञ्च) सतहमुनि स्वात्तै घटेर माइनस १० सेल्सिअस तापक्रम देखिएको छ ।
नासाका अनुसार चन्द्रमा चरम प्रकृतिको तापक्रमका लागि चिनिन्छ । दिउँसोको समयमा चन्द्रमाको भूमध्यरेखा वरपरको तापक्रम १ सय २० डिग्री सेल्सिअस पुग्छ भने रातीको समयमा त्यो माइनस १ सय ३० डिग्री सेल्सिअस पुग्छ । र, सूर्यको किरण कहिल्यै नपर्ने तथा सधँै छायामा रहने क्रेटरहरूमा तापक्रम माइनस २ सय ५० सेल्सिअस मापन गरिएको छ ।
तर तापक्रममा देखिएको यो फराकिलो अन्तर महत्त्वपूर्ण छ किनभने यसले चन्द्रमाको माटोको तापलाई रोक्न सक्ने एकदमै राम्रो इन्सुलेटर वा अवरोधक हो भन्ने देखाउने मित्र बताउँछिन् ।
‘यसको अर्थ अन्तरिक्षमा बस्ती बनाउन परे तातो, चिसो र विकिरणलाई रोक्न त्यसको प्रयोग गर्न सकिन्छ । यो बसोबास स्थलका लागि प्राकृतिक इन्सुलेटर हुन जानेछ’, उनले भनिन् । यो सतहमुनि पानीको बरफ छ भन्ने संकेत पनि हुन सक्छ ।
चन्द्रमाको क्रमिक विकासबारे जानकारी
रोभरमा रहेको लेजर डिटेक्टरले दक्षिणी ध्रुव नजिकैको चन्द्रमाको सतहमा रसायनहरूको मापन ग¥यो । त्यसले त्यहाँ एल्मुनिअम, क्याल्सिअम, आइरन, क्रोमिअम, टाइट्यानिअम, म्याङ्गनिज, सिलिकन र अक्सिजनजस्ता तत्वहरूको समूह नै फेला पा¥यो । तर वैज्ञानिकहरूका अनुसार पत्ता लागेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको सल्फरसँग सम्बन्धित छ । सन् १९७० देखि नै चन्द्रमामा सल्फरको उपस्थिति छ भन्ने थाहा भएको हो ।
तर क्रिस्टलको हिस्सा वा खनिजभित्र नभई चन्द्रमाको सतहमै सल्फर पाइनुलाई वैज्ञानिकहरूले ‘एक विशाल उपलब्धि’ भनेका छन् । मित्रले पनि माटोमा सल्फर हुनु थुप्रै अर्थमा महत्वपूर्ण भएको बताइन् ।
‘सल्फर प्रायः ज्वालामुखीबाट आउँछ । त्यसैले चन्द्रमा कसरी बन्यो र यसको क्रमिक विकास कसरी भयो भन्ने जानकारीका साथै यसको भूगोलबारे हामीलाई पनि ज्ञान दिन्छ ।’
‘यसले चन्द्रमाको सतहमा पानीको बरफ रहेको संकेत गर्छ र सल्फर खेतीका लागि निकै उपयोगी हुने हुँदा यदि चन्द्रमामा मानव बसोबास हुन गएको खण्डमा यसको मद्दतले त्यहाँ बिरुवा उमार्न पनि सकिने हुँदा यो खुसीको खबर हो ।’
के त्यो साँच्चै चन्द्र–कम्प थियो ?
विक्रम ल्यान्डरमा एउटा उपकरण छ जसले त्यसका आफ्नै अध्ययन र प्रयोगहरूका साथै रोभर र त्यसका गतिविधिहरूबाट निस्कने कम्पनहरूको मापन गर्छ । चन्द्रमामा हुने कम्पनहरू, लुनार साइस्मिक एक्टिभिटी जाँच गर्ने उपकरणले जमिनको कम्प सुन्ने भए पनि त्यसले ‘प्राकृतिक रूपमै उत्पन्न भएको जस्तो देखिने एउटा गतिविधि’ पनि रेकर्ड गरेको र त्यसको स्रोतको अनुसन्धान गरिरहेको छ ।
यो घटनाको एम्लिट्युड धेरै ठूलो मापन गरिएको छ जसको अर्थ त्यो निकै बलियो थियो भन्ने हुन्छ, नासाकी पूर्व वैज्ञानिक मित्र भन्छिन् यसको थुप्रै प्रकारका व्याख्याहरू हुन सक्छन् ।
‘त्यो चन्द्र सतहमा ठोक्किएको उल्का वा क्षुद्रग्रह जस्तो अन्तरिक्ष भग्नावशेषका कारण हुनसक्छ । वा, त्यो कुनै पृथ्वीमा हुने भूकम्पीय गतिविधि जस्तै केही हुनसक्छ । त्यसो भएमा त्यो सन् १९७० को दशकमा अभिलेख गरिए यताको पहिलो चन्द्र–कम्प हुनेछ । त्यो अवस्थामा, यसले चन्द्रमाको सतहमुनि के छ र यसको भूगोल कस्तो छ भन्ने व्याख्या गर्न सक्छ ।’
चन्द्रमा प्लाज्मा के हो ?
जब इसरोले एक्स (पहिलाको ट्विटर) मा एउटा पोस्ट गर्दै ल्यान्डरमा रहेको उपकरणले चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा ‘चन्द्रमाको सतहको एकदमै नजिक अवस्थित प्लाज्मा वातावरणको सबैभन्दा पहिलोपल्ट मापन गरेको’ र त्यहाँ त्यो ‘तुलनात्मक रूपमा थोरै वा पातलो रहेको’ पत्ता लगाएको जनाएपछि त्यसको अर्थ के हो भनेर धेरैले जिज्ञासा राखेका थिए ।
यहाँ प्लाज्मा भन्नाले वातावरणमा चार्ज भएका कण वा पार्टीकलहरूको उपस्थितिलाई जनाउँछ जसले चन्द्रयान–३ ले प्रयोग गरिरहेको रेडियो तरंगमा आधारित सञ्चार सम्पर्कलाई असर पार्न सक्छ । मित्रले भनिन्, ‘यो निकै पातलो हुनु खुसीको खबर हो किनभने यसले रेडियो सञ्चारलाई एकदमै कम बाधा पु¥याउँछ ।’
जब ल्यान्डर उफ्रियो
सेप्टेम्बरको सुरुमा ल्यान्डरलाई निस्क्रिय अवस्थामा राख्नुअघि गरिएको अन्तिम कार्य भनेको इसरोका अनुसार त्यसलाई गर्न लगाइएको ‘उफ्रिने प्रयोग’ थियो ।
उक्त निकायले भनेको छ ल्यान्डरलाई ‘उसको इन्जिन चलाउन निर्देशन दिइयो, त्यो करिब ४० सेन्टिमिटर माथि उड्यो र ३०–४० सेन्टिमिटर परको दुरीमा फेरि जमिनमा उत्रियो ।’
यो ‘सफल प्रयोग’ को अर्थ त्यो अन्तरिक्ष यानलाई भविष्यमा पृथ्वीमा नमुना ल्याउनमा प्रयोग गर्न वा अन्य मानवसहितका मिसनका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको इसरोले जनाएको छ ।
त्यसो भए के यो छोटो उफ्राइ भारतको भविष्यका अन्तरिक्ष योजनाका लागि ठूलो फड्को हुन सक्छ ?
मित्रले ल्यान्डरले ‘चन्द्रमामा अवतरण गरिसकेपछि राम्ररी काम गरिरहेको छ कि छैन भनेर यकिन गर्न त्यसको इन्जिनलाई पुनः चलाएर परीक्षण गरिएको’ बताइन् ।
‘हालसम्म यस्तो परीक्षण र उड्ने अभ्यास पृथ्वीबाट मात्र हुने गरेकामा उक्त यानसँग चन्द्र सतहको वातावरणमा पनि उड्ने क्षमता रहेको भनेर यसले देखाएको छ’, उनी भन्छिन् ।
प्रतिक्रिया