देशैभरका विद्यालय बन्द, शिक्षकहरु आन्दोलनमा

काठमाडौं । संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मंगलबार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासंघ आन्दोलनमा उत्रेको हो । महासंघले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना सुरु गरेको हो । उक्त धर्नामा देशैभरका विभिन्न जिल्लाबाट पठनपाठन बन्द गराएर शिक्षकहरुको जनलहरले माइतीघर मण्डला भरिएको छ ।

गत वर्षको तथ्यांक अनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार ६ जना विद्यार्थी छन् ।

मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ । महासंघले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा भाग लिन काठमाडौंमा आउन शिक्षक र कर्मचारीलाई आग्रह गरिएको जानकारी दिए । उनले सरकार र महासंघबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौताहरुलाई विधेयकले यथोचित सम्बोधन नगरेको गुनासो गरे ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । यसैबीच काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले भने, ‘विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन, विद्यालय खुल्छन्, महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुल्ला गर्न आग्रह गरिएको छ ।’

महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएको खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ । आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्न नहुने प्रवक्ता मानन्धरले बताए ।

यसअघि पनि काठमाडौं महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले शिक्षकहरुका न्यायोचित माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबार माइतीघर मण्डलामा शिक्षकहरुको आन्दोलनले अघि सारेका न्यायोचित मागहरु सरकारले सम्बोधन गर्नुपर्ने बताएका हुन् । बुधबारदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु विद्यालय बन्द गरेर सडकमा उत्रिएपछि महामन्त्री शर्माले वर्षैपिच्छे निर्माण हुँदै गरेको संघीय शिक्षा विधेयकले शिक्षकहरुका वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताए ।

उनले शिक्षकहरुले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने उल्लेख गरेका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ । वर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐन मार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ । हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’

महामन्त्री शर्माले सरकारले प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने र गराउने गरी व्यवस्था गर्नुपर्ने बताएका छन् । ‘प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्नेर गराउने कर्तव्य राज्यको हो भने प्रत्येक विद्यार्थीको शैक्षिक भविस्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो,’ उनले लेखेका छन्,’ संवाद मार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील ।

प्रतिक्रिया