काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरूले अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका संघर्ष समितिका पदाधिकारीहरूले आज अनशन तोडेका हुन् ।
मन्त्री बस्नेतले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको भन्दै चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने आश्वासन दिएका थिए ।
‘चिकित्सा शिक्षा ऐनमा भएका राम्रा कुरालाई अंगिकार गरेर जान सकिन्छ, सुधार गर्नुपर्नेलाई संशोधन गर्न सकिन्छ, यस विषयमा मन्त्रिपरिषद्मा चर्चा भइसकेको छ, प्रधानमन्त्रीसमेत सकारात्मक हुनुहुन्छ’, मन्त्री बस्नेतले भने । उनले यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकाले संघर्ष समितिले उठाएका माग चाँडै सम्बोधन हुने विश्वास दिलाए ।
१४ सूत्रीय माग राखेर अनशनरत संघर्ष समिति तत्काल सडक संघर्ष स्थगित गर्न सहमत भएको हो । मन्त्रालयसँगको वार्तापछि आफूहरूले उठाएका माग सम्बोधन हुनेमा विश्वासको वातावरण बनेको संघर्ष समितिका सहसंयोजक भुवनचक्र जोशीले बताउए ।
मन्त्रालयको सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलालले संघर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगित गरिएको हो । अनशन स्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका वरिष्ठ पाँच पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए ।
मन्त्री बस्नेतसहित भएको वार्तामा मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. विकास देवकोटा, डा. टंक बाराकोटीलगायत सहभागी थिए । यता संघर्ष समितिका तर्फबाट संयोजक निर्मल सापकोटा र सहसंयोजक जोशीलगायतका पदाधिकारी सहभागी थिए ।
वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले आफूहरूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले संघर्ष समितिले उठाएका जायज मागका विषयमा पहलकदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा देवकोटालाई फोकल सर्जन तोके ।
संघर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सिटिइभिटीको तुरन्त पुनःसंरचना गर्नुपर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नुपर्ने माग राख्दै आएको छ ।
उक्त समिति पारामेडिकलअन्तर्गत नर्सिङका विषय चिकित्सा शिक्षाबाट अलग गर्न, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्न, छात्रवृत्तिमा भइरहेको विभेद अन्त्य र शिक्षामा कोटा प्रणाली खारेज लगायतका १४ मागसहित गत साउन २७ गतेदेखि माइतीघर मण्डलामा रिले अनशन बसेको थियो ।
प्रतिक्रिया