हामी सबै अतिवादी सोचबाट बच्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सधैँ सबैखालका अतिवादको विरुद्धमा रहेको धारणा व्यक्त गरेका छन् ।

मुस्लिम आयोगले सोमबार काठमाडौंमा आयोजना गरेको ‘इस्लाममा सहिष्णुता तथा सहअस्तित्व र सामाजिक शान्ति प्रर्वद्धनमा यसको भूमिका’ विषयक गोष्ठीमा बोल्दै उनले सबै नेपाली अतिवादको विरुद्ध र शान्तिको पक्षमा रहेको बताए ।

‘मानिस चेतना र विवेकका हिसाबले सर्वश्रेष्ठ प्राणी भए पनि अहिले पनि धार्मिक, जातीय तथा भौगोलिक हिसाबले अतिवादी सोच राख्नेहरुले हिंसा मच्चाउन छाडेका छैनन’, उनले भने, ‘मानव भएर पनि यस्ता अतिवादी सोच राख्नेहरु समाज र विश्वकै लागि कलंक शिवाय केही होइनन् ।’

अध्यक्ष तिमिल्सिनाले हामी सबै विभिन्न खाले अतिवादी सोचबाट बच्न आवश्यक रहेको बताए । ‘मानव मानवका बिचमा विभेद गर भनेर कुनै पनि धर्मले भन्दैन’, उनले भने, ‘सबै धर्मको अर्थ विभेद होइन ।’ नेपालको नयाँ संविधानले सबै धर्म मान्नेहरुलाई समान दृष्टिकोण राखेको कुरामा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले संविधानले विभेद नगरे पनि यसको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको बताए ।

नयाँ शिक्षा ऐनले पछाडी पारिएका भाषाभाषीहरुले शिक्षा आर्जन गर्ने विषयलाई सहज बनाउने विश्वास पनि उनले व्यक्त गरे । अर्को प्रसंगमा उनले मुलुकमा रहेका संवैधानिक आयोगहरुको प्रभावकारिता र आवश्यकताका विषयमा दश–दश वर्षमा पूनरावलोकन गर्न आवश्यक रहेको बताए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयका सचिव डा. अवाद साब्ती अल्नाजीले सबै जनताका बिचमा सहअस्त्वि बढाउने तथा सबैखाले अतिवाद र आतंकवादका विरुद्ध आवाज उठानुपर्ने बताए ।

प्रतिक्रिया