संवृद्ध नेपाली संस्कृतिको प्रतिक तिज पर्व

तिज पर्व सँधै जसो भदौ महिनामा पर्छ । तर यस वर्ष साउनमा मलमास परेका कारण त्यस पछिका सबै तिथिहरु १५ दिन पछि सरे । त्यसैले यस वर्षको तिज पर्व असोज १ गते परेको हो । भाद्र शुक्ल तृतियादेखि पन्चमीसम्म तिन दिन मनाइने भएकोले तीज पर्व भन्ने गरिएको हो । तीज पर्वलाई हरितालिका पनि भनिन्छ । तीजलाई हरितालिका किन भनिएको हो ? भन्ने ठोस परिभाषा छैन ।

सहभागिताका हिसावले तिज पर्व नेपालका पाँच वटा ठूला पर्वको सूचिमा आउँछ । विशेष गरी खस–आर्य समुदायका महिलाहरुले कठोर ब्रत्तका साथ तिज मनाउने पुरानो चलन हो , तर अहिले अरु समुदायले पनि आ–आफ्नो संस्कार अनुसारको तरिका अपनाएर तीज पर्व मनाउन थालेका छन् । तिज पर्व खासगरी चेली–बेटी र माइतीबीच संवन्धको सेतु हो । । एउटै गाउँमा सँगै हुर्केका, सँगै खाइखेली गरेका छोरी चेलीहरुरु विवाह भएर टाढा–टाढाका विभिन्न गाउँहरु पुग्छन् ।

उनीहरु बीच सामुहिक भेट गराउने भनेकै वर्षको एक चोटी आउने तीज पर्वले हो । विवाहित चेली– बेटीहरु माइतीमा गएर तीज मनाउने हाम्रो देशको चलनले पनि हामी नेपालीहरुको संस्कार कति बैज्ञानिक रहेछ भन्ने पुष्टि हुन्छ । विवाह भएर विभिन्न ठाउँहरु पुगेका चेली–बेटीहरु आपसमा भेट भइ सुख–दुख साट्ने , मीठो मसिनो खाने , नाच गान गर्ने चलन छ । त्यसैले तीज भनेको महिलाका लागि हाम्रो समाज तथा संस्कृतिले प्रदान गरेको बिशेष अवशर हो ।

त्यसै गरी तीन पर्व किन र कसरी मनाउने ? भन्ने सन्दर्भमा धार्मिक संस्कार तथा पौराणीक कथाहरु छन् । विभिन्न कालखण्डमा पौराणीक कथाहरु पनि फरक फरक ढंगले लेखिँदै आएका छन् आम मान्यता अनुसार पार्वतीले भगवान शिव सँग विवाह गर्न पाउँ भनेर तपस्या तथा पुज आजा गरेको र उनको मनोकामना पूर्ण भएको सन्दर्भ सँग पनि तीज पर्वको पौराणिक कथा जोडिएको छ । त्यसैले तीज पर्वलाई महिला स्वतन्त्राका प्रतिकका रुपमा पनि लिने गरिन्छ । आँफुले रोजेको पुरुष सँग विवाह गर्न महिलाहरुलाई धार्मिक तथा सामाजिक स्वतन्त्रता छ भन्ने सन्देश पनि तीज पर्वले दिएको छ ।

यसैगरी तीज पर्वको तेस्रो दिन बिहानै नदी तथा जलाशयमा गई अपमार्ग ( दतिवन) प्रयोग गरेर शरीर सफा गर्ने र दिउसो सामुहिक रुपमा सप्तऋषिहरुको पुजा गर्ने प्रचलन छ । यो पूजा प्रजनन उमेरका महिलाहरुमा मात्रै सिमित छ । पहिलो पटक रजश्वला भएकी किशोरीले विशेष पुजा गर्ने र रजोनिवृत्त भइसकेका महिलाहरुले पूजा गर्नु नपर्ने चलन छ । कुनै पनि किशोरी स्वास्थ्य छन् भन्ने मानक भनेको त्यतिबेलाको समयमा उमेर पुगेपछि राजश्वला हुनु हो । त्यसैले आफ्नी छोरी स्वास्थ्य तथा तन्दुस्त छिन अर्थात बिबाहका लागि योग्य छिन् भन्ने कुरा समाजलाई प्रदर्शन गर्न पनि यसरी पूजा गर्ने चलन सुरु भएको हुनुपर्छ ।

तृतिया र पन्चमीको दिन निराहर कठोर ब्रत बस्नु पर्ने भएकोले माइत आएका आफ्ना छोरी–चोलीलाई द्धितियाकै दिन मीठो मसिना खुवाउने प्रचलन छ । यसलाई दर भन्ने गरिन्छ । तीजमा ब्रत तथा पूजाको महत्व जति छ , त्यति नै महत्व मनोरन्जन तथा नाचगानको छ । दरखाने दिन अर्थात भाद्र शुक्ल तृतियादेखि औपचारिक रुपमा तीज सुरु भएको मानिन्छ । तर अनौपचारिक रुपमा भने एक महिना अघिदेखि नै सुरु हुन्छ । अर्थात नाच्ने गाउने अभ्यास एक महिनादेखि गरिन्छ । माइती जाँदा संगीहरुलाई नयाँ नयाँ गीत सुनाउने प्रतिस्पर्धा नै चल्छ । धार्मिक गीतहरु त हुने भइ हाले , त्यसको अलवा , सुख– दुखका , कुनै घटना विशेषका गीतहरु रचना गर्ने र गाउने गरिन्छ । समाज रुपान्तरणका गीतहरु पनि गाउने गरिन्छ । तर पछिल्ला दशकहरुमा यातायात, सूचना तथा संचार प्रविधि , शिक्षा तथा स्वास्थ्यको विकास, छोरा हुन् या छोरी दुई भन्दा बढी सन्तान नजन्माउने प्रचलनका कारण हाम्रो समाजको ढाँचामा आमुल परिवर्तन भइसकेको छ ।

माइत जान , आफ्ना साथी संगीहरु सँग भेट्न तीज नै पर्खनु पर्ने अवस्था अहिले छैन । मीठो–मसिनो खान तीज नै पर्खनु पर्ने अवस्था छैन । नाच–गानका लागि पनि आधुनिक प्रविधिको विकास भइसकेको छ । समाजको ढाँचा परिवर्तन भए सँगै तीज पर्वको मनोरन्जन तर्फको शैलीमा आमुल परिवर्तन भएको छ, यसलाई अन्यथा लिनु हुन्न । धार्मिक अनुष्ठानको शैली भने सनातन भन्दा पृथक छैन ।

प्रतिक्रिया