असोज ११ गतेदेखि रुकुम पश्चिममा स्यार्पु पर्यटन महोत्सव हुने

रुकुम पश्चिम । रुकुम पश्चिममा आगामी असोज ११ देखि २१ गतेसम्म १३औँ स्यार्पु पर्यटन महोत्सव हुने भएको छ । बाँफीकोट गाउँपालिकास्थित वडा नम्बर ३ र ५ मा फैलिएको स्यार्पु तालको छेउमै पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको हो ।

महोत्सवमा स्थानीय भेषभुषा, संस्कृति, आधुनिक डुंगा शयर तथा अर्गानिक बस्तुको प्रर्दशन हुने बताइएको छ । परम्परागत रुपमा लाग्दै आएको स्यार्पु मेलाको अवसरमा महोत्सव हुने जनाइएको छ ।

महोत्सवमा बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा ब्याटमिन्टन, महिला पुरुष भलिवल हुने मेला व्यवस्थापक समितिले जनाएको छ । व्यवस्थापक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले मुसिकोटमा पत्रकार सम्मेलन गर्दै असोज ११ देखि २१ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो ।

स्यार्पु पर्यटन महोत्सव’ बाँफीकोटमा रहेको पर्यटकीय ताल स्यार्पु तालको संरक्षण प्रवर्धन र प्रचारप्रसार गर्ने उदेश्यले हरेक वर्षको असोजमा स्यार्पु महोत्सव लाग्दै आएको बाँफिकोट गाउँपालिकाले जनाएको छ । सुन्दर टापुमा अवस्थि उक्त ताल र वरपरको दृश्य निकै मनोरम रहेको छ ।

पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको स्यार्पुताल उचित संरक्षण र सरकारको बेवास्ताका कारण पुरिएर लोप हुने सम्भावना बढ्दै गएको छ । तालको चारैतर्फ मिलेर बनेका बस्ती, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा सोही बाटो भएर सुसाउँदै बहने सानीभेरी नदीको दृश्यले अझ स्यार्पुको महत्वलाई दर्साएको छ ।

प्रतिक्रिया