विभत्स पिली

नियात्रा : सौन्दर्य सागर रारा – १

पोष चापागाईं

कोहलपुरको कृष्ण होटलबाट बिहानै निस्कियौँ । कालिकोटतिर जाँदैछौँ । दिनभरी उकाली । ओराली । तनक्क छाती फुलाएजस्तो तेर्सो बाटो । खल्याड्याङ खुल्डुङ । खोला । भिर । पाखो हेर्दै कुद्दै छ गाडी । साँझमा तलबाट मुगुको सदरमुकाम कालिकोट पुग्न । घुमेको सडकबाट उकालो चढ्दैछौँ ।

साँझ परेको छ । सूर्य छैनन् । चन्द्र आउन लुगा लाउँदैछन् । भोक लागेको छ । हल्लाउँदै । थचार्दै छ हाम्रो गाडी हामीलाई । साँझ परिसक्यो चाँडै पुग्नुपर्छ भन्दै ऊ गाडी कुदाउँछ । माथिबाट ढुंगो खस्छ । रोकिन्छ । कतै माथि आकाशबाट घोप्टिएको पानीले थुन्छ । कतै थेत्तरो बाटोमा गाडी जान अनकनाउँछ । झन्झट । कस्तो बाटो हो यो ? ड्राइभर झन्झनाउँछ । धन्न अनुभवी रहेछ ड्राइभर । नत्र भने खुर्मु¥याएर एक चिहान पार्ने थियो होला । अध्याँरामा पनि डरले मलाई छुल्छुल्याउँछ । यस्तै हो जीवन ।

उकालो चढ्दाचढ्दै झ्याम्मै रात प¥यो । आउँदैन त कालीकोट । बाटै छेउको भिरमा कोही बोल्दैछ । देखिन्न । तर वात मारेको स्पष्ट सुनिन्छ । के चिन्नु । को हो ? को हो ? रात अझ कालो हुन्छ । भुङ्ग्राको रातो कोइला अँगेनाबाट निकालेर । पानी खत्याएर । निकालेको कालो कोइलाजस्तो । रिमरिम देखिन्छ डाँडाको टुप्पो । कालीकोट पुगिसकेछौँ ।
काठमाडौंमै कसैले त्यहाँको होटलको नाम दिएको थियो । सोध्दै खोज्दै होटलमा पुग्यौँ । बाहिर नबुझिने कुरा गर्दै थिए मान्छे । भित्र पस्यौँ । कोठा दिए । खान बस्यौँ । ल्याए । दिए । पाकपुक बजायौँ । सुत्न गयौँ ।

ंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंंनारायणजी र विद्याले फेरफार गर्ने लुगा फाटो गए राती सुतेकै होटलमा बिर्सेर छोड्नु भएछ । अहिले के फेर्ने । सामानको चिन्ताभन्दा पनि हाँसोको फोहोरा छुट्यो । हा हा । हरायो । हा हा हरायो । हा हा । यस्तै हो ।

पोष चापागाईं

हो नि यस्तै हो ।

खाँचै हुने भए हामी हाम्रा लुगा दिन्छौँ भन्यौँ ।

भो चल्छ । भोलि बाटोमा किनौला भन्नु भो । पुग्यो । सुत्न गयौँ । सुतिसक्न पा छैन । उठिसक्छु म । यस्तो पनि हुन्छ र ? हुन्छ । यी अति व्यक्तिगत कुरा । कोही रातमा १० पटक उठ्छ । कोही एकपटक पनि उठ्दैन । ढड्डु म प्रायः मस्ति मारेर सुत्छु । राती उठ्दिनँ ।

ए है है । घाम पो लागि सकेछन् । आँखा डुलाएँ । हेरेँ । नौलो । हन म कहाँ छु । यो खाट ?

हत्तपत्त उठेँ । साथीहरू उठेर जम्जमाइरहेका रहेछन् । बेलुका खान हतार । अहिले फाल्न हतार । जस्तो देश । उस्तै भेष भन्छन् नि । हो । हामीले बिहानको फाल्ने काम सक्यौँ ।
साथीहरू कोठैमा गुन्ठुन गर्दै थिए । म बाहिर आएँ । वरपर आँखा कुदाएँ । हो हो । ओ हो हो । यही हो कालीकोटको सदरमुकाम । डिलमा उभ्भिएर हेर्दा पो देखेँ त हिजो अँध्यारामा उकालो चढेको कुइक्के पिच बाटो । भिरको बाटो । के उधि ठाडो । तल हेर्दा सातै जालाजस्तो ओरालो ।

हाम्रो गाडीमा तेल सकिएछ । बसेको होटलको डिल माथिको घरमा जर्किनजस्तो भाँडामा गाडीमा हाल्ने तेल बेच्दा रहेछन् । हाम्रा ड्राइभरले घरपट्टिलाई खोजे । उठेकै रैनछन् । उनी तेलको चक्करमा लागे । म एक्लै अलि पर गएँ ।

सु आयो । तेही उभिएको एकजना भाइलाई सोधेँ, ‘यहाँ सु गर्ने ठाउँ कता छ ?’

ऊ त्यहाँ छ । भनेर उनले बेरबार पारेको ठाउँ देखाए । यसो झर्न खोज्दै थिएँ । त…ल तलको भिरमा आँखा परेछन् । मेरी बास्सै तल । तल । त…लसम्म भिर । सु घरसम्म पुग्ने डोरी बाटो । टेक्ने न समाउने ।

जाँदा जाँदै खित्रिक्क पाइला भएर खुत्रुक्क झरियो भने छिनका छिन आफ्नु जीवन स्वाहा । भो पिसाबसिसाब वात । बरु हातले छोपेर बाहिर निस्किन नदिने ।

घरबेटी उठेर जर्किनको तेल हाम्रो गाडीमा राखि दिएछन् । अब बाटो लाग्ने ?

हुन्छ । बाटो लाग्यौँ ।

सडकको भित्तोपट्टि बाटो छेउमा । डिलमाथि बजारे घर । ती घरमाथि एकछिन दस्स्याइलो पाखो । पाखामाथि ठाडो भिर । सडकको दायाँ किनारमुनि अलओल्ले भिर । माथि आकाशमा हाम्रो गाडीभन्दा छिटो कुद्दै छ बादल । बाटो वरपर बोटबिरुवा खेतीपाती केही छैन । एकैछिनमा बजार सकियो । अब तेर्सै तेर्सै जाँदैछौँ । कतै बटारिन्छ सडक । कतै नाप्पिन्छ । कतै खल्ड्याङ खुल्डुङ छ । अनवरत यात्रा ।

जाँदा जाँदै झ्यालबाट तल हेरेँ । के उघि गहिरो । लडियो भने हाड खोर पनि भेटिन्न होला । अब पो डर डर लाग्न थाल्यो । रारा जाने कि ? न जाने । फिरौँ । लाछि भन्लान् । न फिरौ कतै केही भइपो हाल्ने हो कि ? आज अघि यति डर लाग्दो भिरे सडकबाट कहिल्यै हिडेको थिइनँ ।

नाग्मघाट भन्ने कालीकोटे बजारमा पुगेछौँ । निस्कियौँ । सानु बजार । चाइनिज पाराका लुगा सुगा किन्न पाइने रहेछ । साथीहरूले हिजो छुटेका परिधानको सट्टा अरु लुगा किन्नुभो । मैले भनें, यो सुइटर त काठमा भन्दा सस्तो पो रहेछ त गाँठे ।

फर्काउनु भो, हो । काठमाण्डूमा यतिमा कहाँ पाइन्छ र ?

गृहलक्ष्मीहरू भान्सा कोठामा पसें । के को कोठा गाई गोठ क्या सेउलाले वेरेको नि । तप तप पानीथोपा झर्ने गोठ । दुधै दुधको बाक्लो मिठो चिया दिए । खायौँ । वीस रुपया कप । कति सस्तो ।

फेरि सु आयो । साहुनी आमैलाई सोधें, कता छ फाल्ने ठाउँ ?

ऊ तल छ भन्दै भिरको चित्रे छाप्रो तिर इसारा गरिन् । हातले छोप्दै अलितलसम्म गएँ । झर्दा झर्दै छ्याङछुंग पाखो । पहरो । खोच । देखें । मुटु भट्याक भट्याक गर्न थाल्यो । के को जानु फिरे नि । डरले आच्छुछु भएर फिरे ।

चिया खाएको दोकानबाट अलि पर पुगेपछि भित्तोतिर फर्किएर काम सकें । हलुको भो । मेरो शरीर कागतको भयो ।

पिली बजारः

थोरै घर भएको सानु बजार आयो । चिया पिउदै गरेका बातिर हेर्दै मैले भनें, दुई सय मान्छे मारे भन्थे । यही हो पिली ?

हो नि । कालो मैलो टोपी ढल्काउदै चिया सुक्र्याउँन छोडेर बाले भन्नुभो ।
बा उवाचः बाटो माथिको डाँडा तिर औलो तेस्र्याउनु भो । तेस्र्याएर ऊ .. त्यो देखिएको डाँडामा चौकी थियो । मध्यरातमा अरिंगालको गोलो खनिए जस्तो खनिए । दुईसय जना जति प्रहरी थे भन्थें । मुटुटु गोली चलाए । सवै स्वाहा ।

दुईसहे जनालाई नै मारे त ?

हो नि । लासको तेति ठूलो थुप्रो मैले कहिल्यै देखेको थिइनँ । राम । राम । वा चुप लाग्नु भो ।

कम्मरमा हात राखेर माथिको डाँडोतिर फर्किएँ । हेर्न थालें । प्रहरी चौकी अर्थात् दुई सय जना एक चिहान भएको डाँडोदेखि माथिमाथि हुँदै आँखाले वल्ल वल्ल हेर्न सकिने टुप्पोमा पुगिन्छ । मैले मरिहत्ते गरेर हेरेपछि टुप्पो देखें । बरै मेरा आँखै टट्टाए अलओल्ले अग्लो भिरको टुप्पो हेर्दा । ठाडो पहरोमा रुख । बोटविरुवा । घाँस पात देखिन्न । पहरै भिर डिच्च दाँत देखाएर थचक्क वसेका देखिन्छन् ढुंगा । कलम सीधा पार्दा जस्तो देखिन्छ । तेस्तै छ पहरो । पहराको टुप्पामा गएर त्यहाँका ढुंगा मात्रै खसाले पनि तल फेदमा वसेका मान्छे स्वाहा । पहराको टुप्पो भन्दा धेरै तलको प्रहरी चौकी स्वाहा पार्दा पहराको टुप्पोमा लुकि बसेको थए होलान् । झरे । स्वहा पारे नि । (अड्कल)

सडकको डिलमा उभ्भिएर उँधो हेर्न थाले ।

तल । तल । धेरै त……ल कमिलो हिडेजस्तो वग्दैछ खोलो । खोलो र म उभ्भिएको सडकका वीचमा देख्दै डरलाग्ने पहरो छ । विना वित्थामा मेरो मुटु भट्याक भट्याक गर्न थाल्छ ।

विभत्स पिली देखेर थरर्र कामें म ।

मुगुबाट सल्लेरी पुग्दा बाटोमा देखेका दृश्यहरू ः

१.रोड वरपरः

भुइँमा मुख जोतिरहेका देखिन्छन् गाई–गोरु, बाख्रा–पाठा । दुब्ला न दुब्ला । सारै दुब्ला । स्याप्प पेट भका । शरीरको हड्डी मात्रै देखिने । हरियो परियो देखिन्न । ढुङ्गा चाटेर बाँचेका होलान् लाग्छ । गीता आयो तेत्तिनै खेर ।

प्राणी मात्रले कर्मफल भोग्नु पर्छ ।

२.भ्यागुत्ते ढुंगाः

राक्ला पुगेछौँ । भित्तोमा एउटा ठूलो ढुंगोे देखें । ठ्याक्कै बसेको भ्यागुत्तो जस्तो । भित्तोतिर मुख फर्काएर बसेको त्यो भ्यागुत्ते ढुंगोेलाई मैले निकै वेर हेरें ।

३. केटाकेटीः

गाडी कुद्ने बाटोको छेउ छेउ लहरै जाँदैछन् साना केटाकेटी । टाई बाँधेका छन् । झोला बोकेका छन् । बोडिंग स्कूलको फर्मल पहिरनमा छन् ।

केटाकेटीको मुखतिर मेरा आँखा परेछन् । सवैको मुख एक महिनादेखि नधोएको लाग्छ । गालामा नाकबाट निस्किएको फोहोर कटकटिएको स्पष्टै देखिन्छ । कुनै पनि केटाकेटीको अनुहारमा रक्तिम आभा फिटिक्कै छैन । मनै मन भनें, यता पनि आइपुगेछ बोडिंग स्कूल ।

४. खेतः

खेत देखिनँ बाटोबाट । एक ठाउँमा देखें खेतका फोगटा अर्थात् फोगटे खेत ।
सुरीलो अग्लो पहाडमा ढुंगा भित्र छिरेर बग्दै तल झरेको कुलेसो जस्तो पानी देखेंं । यो पहाडबाट झरेको छागो होइन । अल्छि मानी मानी झरेको पानी हो । पानी झरेको भुँईमा पर्खाल लाएर अग्लो मान्छे मज्जाले सुत्न मिल्ने खाट जस्तो जत्रो खेतको फोगटो विराएको छ । यस्ता फोगटा एकै ठाम ३÷४ वटा देखिन्छ । हो यो नै तेताको मज्जाको धान खेत रे । कति फल्ने ? कति खाने ? कष्टकहर ।

५. तिला गुफाः

बाटो मुनि रहेछ । हेरौँ हेरौँ भने । अहँ । साथीहरूले सुनेर पनि नसुने जस्तो गरे । गइनँ ।

६. सुवर्ण पहाडः

पहाड ढुंगाको हुन्छ । अहिले म कालिकोटे ढुंगामा सुनदेखि रहेको छु । ती सवै ढुंगा सुनका फाल्सा लाग्छन् । ढुंगा किन पनि सुनका फाल्सा लागे भने कालिकोटका जनतालाई ढुंगा नै सुन हो । सुनले गर्ने काम त्यहाँका ढुंगाले गर्छन । जे छ धन दौलत त्यो हो ढुंगा । ओढ्ने । ओछ्याउने । लाउने । गर्गहना सवै ढुंगा ।

ओ हो मानव जीवन ! सन्त्रास !

७. लालीगुराँसः

ढुंगे पहाडमा ढकमक्क लालीगुराँस । ढुंगासँग जीवन विताउने मान्छेलाई मुसुक्क हसाउन ढुंगाको कापबाट बाहिर निस्केका लालीगुराँस । धेरै ठाममा देखें । हाँसिरहेका फुलिरहेका ।
ढुंगा मात्रै होइन जीवन । जीवन लालीगुराँस पनि हो ।

८. शिव बाः

टुप्पामा अग्लो ठूलो ढुंगोे छ । ढुंगोे ठ्याक्कै जटाजुटधारी शिव जस्तो छ । त्यो ढुंगाबाट पानी झरिरहेको छ । मैले भनें, अग्लो पहाडको टुप्पोमा उभ्भिएर गंगा प्रवाहित गर्दै रहेछन् शिव बा ।

९. सल्लोः

गाडीमै भए पनि उकालो उक्लिदैछौँ । अहा ! सल्लो सन्सार । बाटा मुनि । माथि । वरपर । सर्वत्र देखिन्छ सल्लो ।

१०. सुर्के हरियोः

माथि मैले रुखो । पेङ्खर जमीनको भक्कुमार वयान गरें तर अहिले पिलिक्क हरियो सुर्को देख्दा मन रमायो । लगौटी आकारका सुर्कामा लहलह हरियो बालि देखिन्छ । टाढाबाट के हो खुट्याउन मिलेन ।

११. आरुः

आरु नै आरु । यति धेरै आरुका बोट हुन्छन् र ? देखें । मन लहलहायो । दिङ्लाको वडहरको पाटाको पल्लो छेउको डिलको झ्याम्म आरु रुख आयो अगाडी । सारै मज्जा । आरु देखेर अद्वितीय नयन सुख अनुभव गरिहेको छु । मुनि । माथि । त ….ल सवैतिर देखिन्छन् आरुका बोट । आरुका फुलेका फुल । सेता । वास्ना पो आउँछ त आरुका फुलको । ए हौ के देख्नु परेको ? के सुघ्नु परेको ? ढकमक्क फूलफुलेका बोट झण्डै गाडीमा एक घण्टा जति जाउन्जेल देखें यो जिल्लाको नाम नै आरु राख्ने कि ?

१२. माटो छाने घरः

जाँदैछौँ गाडीमा । तल । झुरुम्म । एक तले घर देखें । एकै ठाउँमा चारपाँच घर । छानु रें । न परालको । न टिनको । छानु नै छैन त । मेरि वास्सै । यी कस्ता घर हुन् । हाम्रो दिङ्लामा त प्राय ः दुई तले घर हुन्थे । मुठे परालले छाउथें । उ वेला टिन थिएन । टिन आको त कति पो भो र ? पछि टिन लाउन थाले । यता त टिन पनि पराल पनि न चाहिने रहेछ । माटो मुछ्यो । डल्ला पा¥यो । भ्वाक्क भ्वाक्क । वस । छानु तयार ।

१३.दाम्ले वस्तुभाउः

कतै पनि बाटोमा गतिला गाईवस्तु देखिनँ । सवै नाम्ले । होइन दाम्ले पेट भका । कुनैको पनि पेट उक्सिएको देखिन । मरन्च्यासे । फुकिढल सवै जनावर । यता मान्छे । पशु । अरु प्राणी कसैले पनि पेटभर खान पाउन्नन् होला ।

१२. वन डढेलोः

कालिकोट बजार पुग्नुभन्दा अलि तल वर पीपलको चौतारो देखेथें । साँझ उकालो चढ्दा गाडीबाट । एकछिन त्यहाँ किन हो कुन्नि गाडी रोकियो । मैले झ्यालबाट देखें, त्यो चौतारोदेखि मुनि खोलो थियो । खोलादेखि धेरै परको वनमा वन डढेलो लागेको थियो । चटट । चटट । झिलिक्क । ह्वार्र ह्वार्र । कस्ले निभाउने वन डढेलो । कति मरे !

माथि कोट्याएका झिना मसिना कुरा र मैले वर्णन गर्न नसेका ठूला कुरा हेर्दै बेलुका हामी सल्लेरी पुग्यौँ ।

सल्लेरीबाट हुटु व्यारेक रारासम्मः

घरबाट निस्केको तेस्रो दिन साँझ पाँच बजे हामी मुगुको सल्लेरी पुग्यौँ गाडीमा । त्यहाँबाट अगाडी गाडी जान नदिदा रहेछन् । गाडी रोक्यौँ । ओर्लियौँ । पुग्ने बित्तिकै हुण्डरी आयो । हुरुरु । ह्वारारा । स्वाँस्वाँ । नौलो स्याँठ ।

घेरे हामीलाई खच्चडका मालिकहरूले । वरि परि खच्चड । बाह्र पन्ध बर्षे केटाकेटीदेखि बुढा बुढिसम्म खच्चड तान्दै भन्दैछन्, म लैजान्छु । मेरो घोडा सजिलो छ । झोला म बोक्छु । सबै यसो भन्दैछन् । म बोल्दिनँ । उनीहरूतिर कर्के आँखाले हेर्छु । घामले डढेको कालो अनुहार । महिनौं अघि धोएका लुगा । फुटेका कुर्कुच्चा । पिलन्धरे अनुहार । उनीहरूले मागे भन्दा बढि पैसा दिन मन लाग्छ । समूहमा हिड्दा एक्लेैको निर्णय लगाउन पाइन्न । म चूप लागेँ ।

अन्त्यमा पैसा टुंगो लाग्यो । हामी घोडा माथि चढ्यौँ । कसैले एकछिन घोडाको डोरी समाए अनि छोडे । घोडा एक्लै हिड्दैछन् । तर मेरो घोडाको लगामलाई हातले समाएर तान्दैछ मेरो सारथी । तन्नेरी सोझो केटो । लुरु लुरु हिड्दैछ घोडा । मेरो झोला ढाडमा भिरेर घोडा तान्दैछ उ । उसलाई घोडाले तानिरहेको छ । साथीहरू पछि आउदैछन् । म पर पुगिसकेँ । बाटो राम्रो छ । उकालो नाइ । ओरालो नाइ । सम्म पनि नाइ । लहलह बाटो । कुरा गर्न थालें म । लजाइ लजाइ उ पनि बोल्न थाल्यो । अहिले आकाश चाहि रुन रुन खोज्दैछ । रोयो भनें बर्वाद । म झस्किन्छु ।

भाइ तिम्रो नाम ?

जीवन

थर ?

दलित

पढ्दैछौँ ?

एस एल सी फेल भएर छोडें ।

मैले सोधेका कुराको जीवनले यस्तो जवाफ दियो ।

यहाँ ठूला ठूला चउर छन् ? एउटा चौरको नाम हो हपल्लामिलि चौर । अर्कोको नाम हो तल्लामिलि चौर । घाँस हुन्छ ? हामी थारा गाईवस्तु यिनै चउरमा छोड्छौ । सात दिन पछि छोडेका बस्तु भाउको हाल खवर बुझन हामी नुन लिएर त्यहाँ जान्छौ अनि नुन खुवाएर फर्किन्छौ । कसै कसैका धेरै घोडा हुन्छन् । ती घोडा पनि काम नहुँदा यिनै चौरमा छोडछन् ।

सल्लाको फूल (हाँगाको टुप्पामा झुण्डिएको लाम्चो काले गेडो)लाई हामी सिगुत्ता भन्छौ । सिगुत्ताले धेरै काम दिन्छ । हामी यसको आगो बाल्छौँ ।

बाटै भरी देखिएका पोथ्रे विरुवामा टाँसिएका राता दानालाई लालगेडि भन्छौँ हामी । थुप्रै फल्छ लालगेडी । यहाँ यसको त्यति काम छैन । उ काम छैन भन्छ मलाई लालगेडि देख्दै मनपर्छ । कति राम्रा दाना ।

त्यो वोटलाई हामी चुत्रो भन्छौँ । चुत्राको अचार मीठो हुन्छ । हजुरहरू खानु हुन्छ ? अहँ, थाहा छैन । ए, ए, दिङ्लामा खाएँथेँ भनें मैले ।

यताका मान्छेको अवस्था भिन्न छ । बर्षदिनै खान पुग्ने कम छन् गाउँले । आफ्नो उव्जाले बर्षमा दुईतीन महिना मात्रै, त्यो पनि दुःखले पुग्ने गाउँलेहरू थुप्रै छन् । एक त वारि छैन । वारी भएपनि उव्जा राम्रो हुन्न । लेक हो यो ?

यहाँ आरु धेरै फल्छ । आरुका वियालाई अडेला भन्छन् यता । अडेलो पिधेर तेल बनाउछौ हामी । त्यसलाई भुटन बनाएर खान्छौँ ।

उ त्यो विरुवा चोटेलो हो । यसको विया कुटेर निचोरे पछि तेल आउँछ । अरु तेल महंगो हुन्छ । गाउँले प्रायः यही तेल खान्छन् । चोटेलो हेर्नुस न पाखै भरी हुन्छ ।

यहाँ स्याउ हुन्छ तर हामी हिडेको यो बाटो वरपर छैन ।

रारा वरपर जम्मा चार महादेव छन् ः
य छाप्रु महादेव ।
य ठाकुरनाथ महादेव ।
य रारा महादेव ।
य लागुडा महादेव ।
ड्ड

मैले जीवनसँग यस्तै यस्तै धेरै सोधेँ । उसले भनिरहयो । टाठो, सोझो मान्छे । घोडा हिड्दैछ । तान्दैछ मलाई । म उ माथि छु । उ निहुर मुन्टि । म उध्र्वशीर । यसो किन ? बोक्ने को ? बोकिने को ? अन्तर चक्षु चाहिन्छ । हिड्दैछौ एक घण्टा जति भइसक्यो । आउदैन त रारा । मन पराइनन् कि क्या हो सुन्दरी राराले मलाई जस्तो लाग्छ । मन पराउनु मति म्रम मात्रै हो । राम्रो राम्रै हुन्छ । नराम्रो नराम्रै हुन्छ ।

दायाँ बायाँ मेरो स्वागतमा उभिए जस्ता लाग्छन् सल्लाका बोटविरुवा । आँखाले देखेसम्म होचा अग्ला सल्लाका रुख देखिन्छन् । छातिका तुना खोलेर लमतन्न सुतेका चौरको छातिमा कुल्चिदैँ जादैछौ हामी ।

यो हो अलौकिक प्रकृति । लोकोत्तर लोक भन्दा उल्कृष्ट रारा लोक । हावा चल्दैछ , नचीसो, न तातो । रमरम आनन्द । हन, यो लेकमा त मज्जा पो लाग्दैछ । वसौँ, बसौँ, सुतौँ, सुतौँ जस्तो । काउकुति पो लाग्दैछ । के हो ? मोहनी त होइन राराको ? रारा परिवेश को ? तपोधन रारा । जो कोहीले रारा देख्न कहाँ पाउँछ र ? अतुलनीय रारा सुख । मृदुल मुस्कान ।

फोरि भन्यो उसले, त्यहाँ छाप्रु महादेवको मन्दिर छ ।

त्यो रुखको छेवैमा तिर्तिया धारो छ । सधै पानी हुन्छ । सुक्दैन ।

ठूलो चउर भित्र पसेछौँ ऊ र म । साथीहरू आइपुगेका रहेनछन् । फोटा खिचिदियो मेरो उसले । उसले फोटा खिच्दा । खिच्दै मैले नजिकै उभिएर मतिर हेर्दै गरेकी रुपवती रारा देखेँ ।

भनें, पख, पख भाइ एक छिन पछि खिचांैला फोटा । पहिले म मनोहारिणी, रुपवती, सौन्दर्य पराग, रुप बाछिटा रारालाई अघाँउजी हेर्छु अनि खिचौला ।

खिचेन उसले । रोकियो । हिडेन घोडा । पोरा फुलाएर उभियो । चलेनन् पाइला मेरा । ठिङ्ग उभिएँ । मेरी आमाका दुःखका आँशु रारा, मेरा बाका जुगौ ध्यान, तपस्या, योग, कर्म रारा । महेन्द्र राजाकी स्वर्गकी अप्सरा मात्रै होइनन् रारा । प्रत्येक व्यक्तिको प्रत्येक रात अगालोमा लुटपुटिने प्रेयसी पो रहिछिन् रारा त । हेर्नुस । हेरिरहनुस् । त्राटके ………

रारा अज्ञेय परं सौन्दर्य बोध । आँखामा ज्योति हुनुपर्छ । ज्योतिमा घ्राण शक्ति हुनुपर्छ । नाकमा दृश्यबोध चाहिन्छ अर्थात् आँखाले सुघ्ने, नाकले हेर्ने गर्न सक्दा मात्रै रारा बोध हुने ठानें मैले । रारा न देखि उच्च सौन्दर्य बोध हुन्न ।

हिडौ ? उसले सोध्यो ।

हुन्छ, मैले भने ।

आइपुग्यो ?

आउनै आँट्यो ।

ती घर रारा राष्ट्रिय निकुञ्जका हुन् । उ त्यो होटल तपाइँहरू बस्ने हो । यहाँ दुईवटा मात्रै होटल छन् । कुनमा वस्नुहुन्छ ?

मैले भने, भिलेज हेरिटेज एण्ड रिसोर्ट होटल मा बस्छौ । अध्याँरो भइसकेको थियो । सबै साथीहरू पनि आइ पुग्नु भएछ । जीवनलाई घोडाभाडा र धन्यवाद दिएर हामी होटल भित्र पस्यौँ ।

अट्याच तीन कोठा तीन परिवारलाई बुक गरेका थियौ । एउटा अट्याच मिलेन । चार जना एउटैकोठामा गुट्मुटियौ । होइन, होइन बस्यौ । खानै बाँकि छ नि । भीड छ मान्छेको । वत्ति छ । जान्छ । आँउछ । हामीलाई हेर्छ फर्किन्छ मोरो वत्ती । भान्सामा आगो बल्दै थियो । पेटमा ज्वालामुखी दन्कदै थियो मेरो । खाने बेला भयो । गयौँ । तात्तातो भात । नमीठो थिएन । हात धोएँ खाइ सकेर । मरुन्जेल सेक्यो फटाहा स्वाँठले खुट्टा, ढाड, घाँटी सवै ठाउँमा । अँ, मज्जाको कुरा यस्तो जाडोमा पनि तातो पानीको पौल राख्दा रहेछन् । मन भए जति खान पाइने तातो पानी ।

रोक्दा रोक्दै आइ त हाल्यो । घचेडेको छ । छ । आएपछि जानै त प¥यो क्यारै बाथरुम । पसेँ । चुकुल लाउँछु । लाग्दैन त । बल्ल बल्ल लगाएँ । यति वेलासम्म अध्यारो बाथरुम भित्र लुकेर बसेको जाडोले भ्वाक कि भ्वाक ठोक्यो मलाई । लात्तले काम सकेर बाहिर आएँ । निस्केर ओछ्यान भित्र पसें । यहाँ पनि उस्तै चीसो ।

अघि आउँदा होटल अगाडी दश बाह्रवटा टेन्ट देखेंथें । त्यहाँ सस्तो हुन्थ्यो रे विना वित्थामा यो महगो होटलमा बस्यौँ जस्तो लाग्यो । लागेर के गर्नु वसि त हालियो ।
म न्यानो खोज्दै श्रीमतीलाई खोज्छु । उनी म संगै छिन । छुन हुन्न । पानी बाराबार । किनकि त्यहाँ अरु दुई छन् । हामी जस्तै । म जस्तै न्यानो खोजिरहेका । म जन्म–जीवन–जरादेखि माथि उठेर अझ माथि माथि जाँदैछु । तत्वमसिको मृदंग बजाउदैछु । नाच्दैछु । रमाउँदैछु । आहाँ म रारा आइ पुगेको छु ।

लुगा न्याना थिए बोकेका अनि होटलले दिएका । जाडो भएन । गफ गर्दा गर्दै म भुसुक्कै निदाएँ । (क्रमशः)

प्रतिक्रिया