रौतहट । मधेश प्रदेशको आठ वटै जिल्लाको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको बैठक सम्पन्न भएको छ ।
बुधबार धनुषामा बैठक बसेको थियो । बैठकबाट मधेश प्रदेशमा रहेको नेपाल पत्रकार महासंघको जिल्ला शाखाको निर्णयलाइ वेवास्ता गरे सशक्त आन्दोलन गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले जानकारी गराए ।
बैठक पछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारणसभा र लुम्बिनी भेलाबाट पारित १५ बुँदे मापदण्ड अनुसार जिल्लामा रहेका सदस्यहरुको नविकरण तथा नयाँ सदस्यताका विषय सम्बन्धित जिल्ला शाखाको अधिकार भित्र सर्वविदितै रहेको उल्लेख छ ।
विधानत जिल्ला शाखामा रहेको अधिकारलाइ टेकेर शाखाले गरेको सदस्यहरुको नविकरण तथा नयाँ सदस्यता सिफारिसलाइ बेवास्ता गर्दै जिल्ला शाखालाइ कमजोर पार्ने नियतले कही कतैबाट कुनै निर्णय भएको खण्डमा मधेश प्रदेशका ८ वटै जिल्ला शाखाहरु सशक्त आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिइएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
विज्ञप्तीमा नेपाल पत्रकार महासंघ सर्लाही शाखा अध्यक्ष टंक क्षेत्री, बारा शाखा अध्यक्ष रेशम तिवारी, धनुषा अध्यक्ष मनिका झा, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, पर्सा अध्यक्ष अनुप तिवारी, महोक्तरीका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता), सप्तरी अध्यक्ष श्रवन देव र सिरहाका अध्यक्ष मनोज बनैताको संयुक्त रुपमा हस्ताक्षर रहेको छ ।
स्रोतका अनुसार भदौ पहिलो साता नेपाल पत्रकार महासंघ मधेस समितिले केन्द्रमा पठाएको नामावलीहरुमा ८ वटै जिल्लामा व्यापक असन्तुष्टि रहेको छ । केन्द्रले आधिकारिक रुपमा प्रदेशले पठाएको नामावली हालसम्म सार्वजनिक गरेको छैन् ।
सदस्यता नविकरण र नयां सदस्यता वितरणका लागि केन्द्रले जारी गरेको १५ बुंदे मापदण्ड विपरित मधेश प्रदेशका पदाधिकारीले मनोमानी रुपले नाम सिफारिस गरेको पाइएपछि ८ वटै जिल्लाका अध्यक्षहरुले विरोध जनाएका हुन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया