यो नाडा अटो शो विशेष छ : धुव्र थापा

ध्रुव थापा अध्यक्ष, नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपाल

ढुक्कले इभी किन्ने अवस्था बनिसकेको छैन्, किनकी आवश्यक भौतिक पूर्वाधार जस्तै चार्जिङ स्टेशन, वर्कशपलगायतका कारण अहिल्यै ग्राहकहरु ढुक्क हुन सकेका छैनन् । अहिलेलाई दाश्रो गाडीको रुपमा प्रयोग गर्नेहरु थुप्रै छन् । यसलाई पहिलो गाडी बनाउनको लागि पर्याप्त भौतिक पूर्वाधार निर्माण जरुरी छ ।

यो वर्षको ‘नाडा अटो शो’ नियमित कर्म हो कि केही विशेष छ ?


विगतदेखि हुँदै आएको ‘नाडा अटो शो’ यो बर्ष विशेष छ, कनिकी विगत तीन वर्ष यता हुन पाएको थिएन् । दुई वर्ष कोभिडको कारण र अघिल्लो वर्ष इभि शो (विद्युतीय गाडीको प्रदर्शन) मात्र ग¥यौं । जुन साउथ एशियामै सबैभन्दा ठूलो ‘इभि शो’ थियो । अहिले इभिलगायत सबैखालका सवारी साधनको मेला (शो) हो । यसमा सबैखालका सवारी साधनहरु, बैंक वित्तिय संस्थाहरु, अन्य सामाग्रीका उत्पादक तथा बजार प्रवद्र्धकहरुको सहभागिता रहेको छ । यो मेला (शो)मा झण्डै २० अर्बको कारोबार हुने अपेक्षा गरेका छौं । विगतमा १२–१५ अर्बको हुन्थ्यो भने यो वर्ष लामो समयपछि अटो शो हुनलागेको कारण २० अर्बको कारोबार हुने अपेक्षा छ । धेरै उत्पादनहरु नयाँ आउने भएकोले पनि यो बर्षको नाडा अटो विशेष छ । ५० प्रतिशत भन्दा बढी त नयाँ कम्पनी आउदै छन् भने पुराना कम्पनीहरुले पनि नयाँ उत्पादन सार्वजनिक गर्दैछन् । त्यसकारण यो बर्षको अटो शो विगतभन्दा महत्वपूर्ण र विशेष छ । नयाँ उत्पादनको कारणले नै विशेष भएको हो ।

सवारीसाधनको कुल विक्रिको ४० प्रतिशतभन्दा बढी कारोबार यहीं २ महिनाको बीचमा हुने गर्दछ । नाडा अटो शो सकिएलगत्तै दशैँ, तिहार सुरु हुने भएको यो दुई महिना विशेष नै छ । अटो शो मा विशेष छुट हुने भएकाले पनि सवारी साधन किन्न धेरैजसो मानिसहरु कुरेरै बसेका हुन्छन् ।

व्यवस्थापनमा पनि केही नयाँपन छ कि ?

नयाँ व्यवस्थापनका कारण यसवर्षको शो विशेष छ । व्यवस्थापन अन्र्तगत यसपाली शो मा आउने अवलोकनकर्ताको सवारी साधनहरु पार्किङको लागि छुट्टै व्यवस्था छ । नाडा अटो शो मा आउने महानुभावहरुले आफ्नो सवारी साधन भृकुटीमण्डप बाहिरै पार्किङ गरेर हामीले सञ्चालन गरेको सटल बस चढेर मेलामा प्रवेश गर्न सक्नेछन् । जसको लागि तीनवटा बसको व्यवस्था गरेका छौं । पार्किङस्थलबाटै चल्ने सटल बस निःशुल्क हुनेछन् । पहिला पहिला पार्किङ पनि भित्रै हुने भएकोले भद्रगोल हुन्थ्यो भने, यसपाली व्यवस्थापन चुस्त छ । टिकट पनि अनलाइनबाट लिने व्यवस्था गरेका छौं । अनलाइनबाट टिकट लिंदा भीडभाड कम हुनुका साथै आवतजावतमा सजिलो हुने विश्वास छ ।

यो शो मा इभीको उपस्थिति कस्तो छ ?

इभीलाई सरकारले पनि विशेष प्राथमिकतामा राखेको छ र हामीले पनि इभीलाई प्रथमिकतामै राखेका छँैं । बजारको माग अनुसार पनि इभी अहिले चर्चामै छ । यो नाडा अटो शो मा झण्डै झण्डै ३० प्रतिशत इभीकै प्रतिनिधित्व छ । त्यसलाई छुट्टै राखेका छैनौं । इभीको प्रमोसनको लागि बैशाखमा शो गर्ने छौं । हालसम्म करिब ४ हजार भन्दा बढी विद्युतीय सवारी साधन भित्रिएको तथ्यांक छ ।

इभीप्रति ग्राहकको प्रतिक्रिया कस्तो छ ?

पूर्णरुपमै विश्वास बनिसकेको त छैन् तर विस्तारै बजारमा उपस्थिति बलियो हुँदै गएको छ । ढुक्कले इभी किन्ने अवस्था बनिसकेको छैन्, किनकी आवश्यक भौतिक पूर्वाधार जस्तै चार्जिङ स्टेशन, वर्कशपलगायतका कारण अहिल्यै ग्राहकहरु ढुक्क हुन सकेका छैनन् । अहिलेलाई दाश्रो गाडीको रुपमा प्रयोग गर्नेहरु थुप्रै छन् । यसलाई पहिलो गाडी बनाउनको लागि पर्याप्त भौतिक पूर्वाधार निर्माण जरुरी छ ।

जसको लागि हामी नीजि क्षेत्र पनि लागेका छौं । सरकारले पनि काम गरिरहेको छ, यसको गति बढाउनु जरुरी छ । इभीलाई पहिलो गाडी बनाउन मुख्य भुमिका सरकारको रहन्छ ।

विद्युतीय गाडी (इभी)को खरिदमा अपठ्यारो पार्ने र महंगो परिरहेको भन्ने गुनासो छ नि ?

सवारी साधनमा त्यस्तो गुनासो आइरन्छ । अहिलेसम्म सवारी साधनको खरिद विक्री नै सबैभन्दा फेयर छ । जुनसुकै गाडीको मूल्य र विशेषताबारे अहिले सजिलै बुझ्न र जान्न सकिन्छ । कम्पनीले तोकेको मूल्य र भन्सार तिरेको मूल्य प्रस्ट देखिन्छ भने एउटामा सामान्य हिडन कस्ट हुन्छ । जुन डिलरले बैधानिकरुपमै लिन पाउने हुन्छ । डिलरलाई पनि मार्जिन दिइएको हुन्छ । थोरै फरक देखिएको मात्र हो ।

गाडी आयातमा सिन्डिकेट छ भन्ने आरोप पनि लाग्ने गरेको छ नि ?

त्यो विल्कुल गलत हो । सिन्डिकेट भनेर कसरी भन्ने ? जसले जुन गाडी पनि ल्याउन पाउँछ । तर कुरो के हो भने जुनसुकै गाडी बाहिरबाट उठाएर ल्याएर भोलि विग्रेमा इन्स्योरेन्सको लागि पुग्ने त आखिर वितरक कहाँ नै हो । त्यसको पाटपूर्जा चाहिएमा काम हुने त वितरकमार्फत नै हो । कुनैपनि कम्पनीले यहाँ वितरक जति नि राख्न सक्छ । त्यसमा न नियमले रोक्छ, न त हामीले नै । वितरकले ल्याउदा सबै सेवा सुविधा पाउछ । यहाँको जिम्मेवार निकाय भनेकै डिलर हो । त्यो चाहिने होइन भने त जसले ल्याउदा नि भो, जति ल्याउदा नि भो ।

अटो शो मा नयाँ उत्पादनहरु सहभागिता कस्तो रहन्छ ?


सबै उत्पादनहरु नयाँ नै छन् । दुई पांग्रे, चार पांग्रे जे भएपनि सबकै नयाँ नै हुन् तर आर्कषण इभीमा छ । अरु इन्जिनको पनि उत्तिकै सहभागिता छ । तर, सबैले अटो शोमा आफ्नै ढंगले नयँ उत्पादन सार्वजनिक गर्ने गर्छन्, त्यसैले नयाँको संख्या अहिले भन्न सकिन्न ।

नेपालमा हाल सवारी साधनको कारोबार कस्तो छ ?

विद्युतीय गाडीभन्दा अरु गाडीको कारोबार नाजुक नै छ । अटो बजारमै यति खराब अवस्था आएको यो पहिलो पटक हो । कोभिडको कारण, राष्ट्र बैंकको नीतिको कारण र सरकारले आयातमा रोक लगाइदिंदा अटो क्षेत्रको अवस्था नाजुक बनेको हो । जोखिम भार, लोनको भ्यालुएसन, फाइनान्स आदिका कारण सवारी साधनको कारोबार सुस्ताएको हो । पछिल्लो समय अलिकति नीति खुकुलो भएको कारण विस्तारै बजार अगाडी बढिरहेको छ ।

तपाईहरुले सरकारसँग राखेका अपेक्षाहरु के के हुन् ?

अटो मोबाइल व्यवसाय भनेको गतिशील व्यवसाय हो । अटो मोबाइल क्षेत्र भएन भने देशको अर्थतन्त्रमासमेत असर गर्छ भन्ने कुरा पछिल्लो समय पुष्टि नै भइसकेको छ । जब गाडी आयात बन्द गरियो मैले त्यतिखेरै यो कदमले ठूलो असरपर्छ भनेको थिएँ । नभन्दै अहिले राजश्वमा ठूलो ह्रास आयो । कुल राजश्वको झण्डै २० प्रतिशत त अटो मोबाइल क्षेत्रको योगदान छ । हामीले १ खर्ब राजश्व बुझाउने गरेकोमा यो पटक करिब ३५ अर्बमात्रै राजश्व बुझाउन सकेका छौं । सरकारको नीतिको कारण राजश्वमा ठूलो असर परेको देखियो । सरकारले यहीं औद्योगीकरण गर्नु प¥यो भनेर भनिरहेको छ तर कतिपय कुरा यहीं उत्पादन गर्न सम्भव छैन् । जस्तो कि विश्वका ठूला राष्ट्रहरुले पनि कति कुरा आयात नै गरेका हुन्छ । तर यहीं एसेम्बल गर्न हामीले पनि प्रयास गरिरहेका छौं । आवश्यक पाटपूर्जा आयात नगरी एसेम्बल पनि सम्भव छैन् । त्यसकारण सरकारले पनि आयात गर्दा अटो मोबाइल क्षेत्रबाट राजश्व लिइरहको छ ।

अहिलेको मुख्य समस्या के हो तपाइहरुको ?

मुख्य समस्या भनेको जोखिम भारको कारणले गर्दा बैंक वित्तिय संस्थाले अटो मोबाइललाई फाइनान्स गरिरहेको छैनन् । डेढ वर्ष अगाडी डलरमा ह्रास आयो भनेर ७५ प्रतिशत भएको जोखिम भार बढाएर १५० प्रतिशत बनाइयो । जो कि फाइनान्स नै नहोस भनेर यो बनाइएको हो । त्यसले पनि भएन भनेर गाडीको आयात नै बन्द गरियो, जसले गर्दा अटो मोबाइल क्षेत्र धराशायी हुन पुग्यो ।


तर अब त डलर सन्चिति बढ्यो । विश्वमै सबैभन्दा कम जोखिम भएको क्षेत्र अटोमोबाइल नै हो । विश्वका कति मुलुकमा त गाडी किन्दा १०० प्रतिशत फाइनान्स हुने गर्दछ । तर यहाँ अहिले ५० प्रतिशत फाइनान्स हुने भनियो तर यसले गर्दा केही गर्छु भन्ने मध्यमस्तरीय वर्ग धेरै समस्यामा परेको छ । बैंकले लगानी गर्छु भन्दा पनि पाइरहेका छैनन् । सरकारी नीति नै बाधक बन्यो । अटोमोबाइल क्षेत्रमा जोखिमा भार ७० प्रतिशत बनाउनु प¥यो । फाइनान्स ८० प्रतिशतसम्म हुने व्यवस्था गरिदिनु पर्छ हाम्रो मुख्य माग हो ।

अटो मोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्र भनेर वर्गीकरण गरिएको छ नि ?

विलाशिता र अनुत्पादक क्षेत्र भनेर गाडी आयातमा प्रतिबन्ध लगाइएको हो । यो सरासर गलत छ । यो अनुत्पादक तथा विलाशिताको बस्तु हो भनेर कसरी भन्न सकिन्छ ? सवारी साधन नभई सरकारी कामकाज गर्न सम्भव छ यो समयमा ? एउटा उद्योग चल्न सवारी साधन विना सम्भव हुन्छ ? हुँदैन, त्यसकारण सवारी साधन विलाशिता नभई वाध्यात्मक आवश्यकता हो । कर्मचारी कार्यालय जानदेखि कृषि उत्पादन बजार पु¥याउनेसम्मका काम अटो मोबाइल बाटै हुन्छ । त्यसकारण सर्वसाधारण तथा मध्यम वर्गीय मानिसको लागि सवारी साधन विलाशिता नभई अनिवार्य आवश्यकता जस्तै हो । हो, केही मात्रामा विलाशिता छ, त्यसलाई सरकराले मापदण्ड बनाएर कार्यान्वयन गरोस हाम्रो स्वागत छ । सबैलाई एउटै डालोमा राखेर विलाशिता भन्न मिल्दैन् ।

इभीको लागि सरकारले लिएको नीतिमा तपाईको भनाइ के छ ?

इभीको लागि केही समय अगाडी त कुनै सहुलियत थिएन् । अत्यधिक दबाबपछि इभीलाई प्रमोट गर्नेे नीति सरकारले लिएको छ । त्यो एकदमै स्वागत योग्य छ । हाम्रो सुझाव अनुसार नै नीति आएका छन् । इभी सवारी साधन अरु देशमा निकै महंगो पर्ने गरेको छ, भने नेपालमा पेट्रोल डिजेल गाडी र विद्युतीय गाडीको मुल्य बराबर जस्तै छ । यो सरकारकै कारण भएको हो । इभी बसहरुमा त कर १ प्रतिशतमात्र छ, यो नै सरकारको मुख्य सहुलित हो । यो निरन्तर रहोस् ।

प्रस्तुतिः केशव भट्ट

प्रतिक्रिया