कोशीमा ‘आलोपालो’को एमाले शुत्र

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेले कांग्रेससंग सत्ता सहकार्यको पासा फालेको छ । कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री उद्धव थापाले एमालेसँग सहकार्य गर्न नसकिने अवस्था नरहेको बताएकाले सहकार्यको सम्भावना देखिएको हो ।
थापाले एमालेसँग कार्यकाल बाँडन सकिने भन्दै संविधाको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बन्दा फेरि आफू नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको पनि बताएका छन् ।

शुक्रबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै थापाले त्यो धाराअन्तर्गत सरकार बन्दा आफू मुख्यमन्त्री बन्न बहुमत रहेको बताएका हुन् ।
‘त्यो सम्भावना छ । विश्वासको मत लिन नसके मध्यावधि निर्वाचन हुन्छ,’ थापाले भने । थापाले कांग्रेस र एमाले मिलेर सरकार निरन्तर गर्ने विषयमा पनि सम्भावना खुला रहेको बताए ।

आधा–आधा कार्यकाल बाँड्न सकिने तर यो विषयमा शीर्ष नेताहरूको तहमा छलफल हुनुपर्ने थापाले बताए । सर्वाेच्च अदालतको परमादेशपछि शुक्रबारै मुख्यमन्त्रीमा नियुक्त भई शपथग्रहणसहित कार्यभार सम्हालेका एमाले नेता हिक्मत कार्कीले यसअघि नै कांग्रेससँग सहकार्यको प्रस्ताव राखेका थिए ।
सत्तारुढ गठबन्धनको प्रमुख दल कांग्रेसभित्र प्रधानमन्त्री र गृहमन्त्रीले माओवादी नेताका अपराध ढाकछोप गर्न कांग्रेस नेताहरुलाई छानीछानी फसाउने काम गरेको भन्दै चर्काे बिरोध भइरहँदा कोशीमा देखिएको यो घटनाले कोशीबाटै एमाले कांग्रेसबीच सहकार्यको ढोका खुल्ने अवस्था देखिएको हो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेलाई राप्रपाको ६ सांसदको समर्थन लिएर अर्को एक सांसद खोज्नुपर्ने हुन्छ । त्यतिले पनि पुग्ने छैन । किनभने एमालेबाट उपसभामुख भएकाले उनले बैठकको अध्यक्षता गर्ने भएकाले मतदान गर्न पाइँदैन । बैठकको अध्यक्षता गर्ने सांसदले मतदान गर्न नपाउने सर्वोच्चको व्याख्याले उद्धव थापाले पाएको विश्वासको मत अवैध ठहर भइसकेको छ । त्यसैले एमालेलाई राप्रपाबाहेक थप दुई सांसदको आवश्यकता छ ।

यसैबीच एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शनिबार कोशी प्रदेशको समस्या हल गर्ने दुई उपाय सुझाएका छन् ।
‘कि मिलेर जानू, कि कसैलाई साथ दिनू, कि चुनावमा जानू । हामीलाई फरक पर्नेवाला छैन । किनभने हाम्रो साथीहरूको हिसाव चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ,’ उनले भने, ‘तैपनि हामी जनता र राष्ट्रलाई पर्ने अर्थको बोझ जुन छ, यो सबै भएकाले सकभर त्यता नगई कुनै न कुनै उपाय निकालियोस् भन्ने पक्षमा छौँ ।’

शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर स्थायी सरकार दिनुपर्ने बताएका छन् । विराटनगरमा उनले प्रदेशसभा विघटनको बाटोमा जान नहुने बताएका हुन् ।
‘हामी कुनै पक्षमा नलागिदिँदा यहाँ प्रदेशसभा नै विघटन हुनसक्ने परिस्थिति देखिन थालेको छ । तर त्यो कांग्रेस र एमाले मिलेन भने मात्र हामी कतै लागि दिए हुन्थ्यो भन्ने कुरा हो,’ लिङ्देनले भने, ‘सबैभन्दा पहिलो उपयुक्त कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरू मिले यो प्रदेशसभालाई जोगाए राम्रो हुन्थ्यो । त्यसको मौका अझै छ । तीस दिन छ, त्योभन्दा पछि अर्को धारा छ । मेरो इच्छा त कांग्रेस र एमाले मिलेर बनाए हुन्छ भन्ने हो ।’

केन्द्रदेखि प्रदेशसम्मै एमालेसंगै सहकार्य गरेर जाने विषयमा कांग्रेसको शेखर–गगनपक्ष भित्रभित्रै जाडतोडले लागेको श्रोतले बताएको छ । शनिबार मात्रै चितवनमा शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्ड ‘अराजक’ भएको बताए । उनले अब कांग्रेसले सत्ताको नेतृत्व लिन ढिला गर्नु हुन्न भन्ने कुरा सार्वजनिकरूपमै बताए ।
श्रोतकाअनुसार कांग्रेस संस्थापन पक्षमा पनि अब यो तानतुने बहुमतले देशलाई निकास दिन नसकिने विषयमा छलफल भएको बताइएको छ । फराकिलो बहुमतले मात्र स्थिर सरकार दिनसक्ने भएकाले एमालेसंग सहकार्य किन नगर्ने ? भन्ने विषयमा छलफल भएको श्रोतको दावि छ ।

प्रतिक्रिया