बिहेगरेका जति सबै महिला खुसी र सुखी छैनन्

बिहे नगरेकोमा ठिक गरें भन्ने लाग्छ

जयन्ती राई

बहुदलीय ब्यवस्था स्थापना पछिको एकमात्र निर्वाचित महिला जिविस उपसभापति हुन् जयन्ती राई । २०५४ सालमा भोजपुर जिविसको उपसभाति राईले नेपालको वामपन्थी आन्दोलनमा स्थापित महिला नेतृको स्थान बनाएकी छन् । राजनीतिमा लाग्दा लाग्दै घरजम गर्ने बारे सोच्नै नभ्याएकी उनी यति बेला ६० वर्षमा हिड्दै छिन् । राजनीतिका अनेकन अफ्ठ्यारा घुम्ती पार गरेकी उनी यति बेला नेकपा (एकिकृत समाजवादी)को उपाध्यक्ष र राष्ट्रियसभामा सदस्य छिन् । बिवाह अनिवार्य होइन भन्ने उनलाई अहिले पनि आफूले युवा अवस्थामा बिहे नगर्न गरेको निर्णमा कुनै पछुतो छैन ।

१३ वर्षको कलिलो उमेरमै राजनीतिमा होसिएकी उनले जीवनका उर्वर दिन पार्टीलाई सुम्पिइन् र आज पनि उत्तिकै सक्रिय राजनीतिमा छिन् । बिहे गरेर घरजम गरौं भन्ने उनको मनमा कहिल्यै आएन । पार्टी, पार्टी काम र जनताको सेवालाई सर्वोपरि ठानेर राजनीतिमा लागेकी उनलाई एक्लो जीवनमा अहिले पनि कुनै पछुतो भने छैन । ‘घर परिवार र पार्टीका नेताहरुले धेरै पटक विहेको प्रस्ताव गर्नुभयो । तर, मैले विहेलाई कहिल्यै प्राथमिकतामा राखिन,’ उनी अलिकति विगततिर फर्किन् । विहेको कुरो आयो कि पन्छाउने उनको बानिले पार्टीका नेता र उनका संगी पनि हैरान थिए । ‘यो जयन्ती घमण्डी छे, कहाँ गएर फँस्छे, हेरौला नि कस्तोसंग बिहे गर्दिरहिछ ।’ साथीहरुको छेड्खानी सम्झिन्, ‘ कत्तिले त तलाई कस्तो केटा चाहिन्छ ? सम्म भने तर यस्तो केटा होस, यस्तो परिवार होस अनि बिहे गरौंला भन्ने मनमा कहिल्यै आएन’ कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय नेतृ नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्ती राईको जीवनको युवा अनुभव हो यो ।

राजनीतिमा लाग्दा उनका अघि समाज परिवर्तन प्रधान कुरा थियो । बिहे गर्नुपर्छ भन्ने उनको मनमै आएन । उनी राजनीतिमा लाग्दाको समय निकै सकसपूर्ण थियो । पञ्चायत कसरी फाल्ने प्रधान बिषय थियो । त्यही जिम्मेवारी पूरा गर्दा गर्दे उनले जवानी बिताइन् । आफू जवना भएको समेत अनुभूति भएन उनलाई । बिहे गरेर बसौला भन्ने कल्याना पनि नगरेको उनी बताउँछिन् । ‘मलाई बिहे गर्नुपर्छ भन्ने कहिल्यै लागेन । बरु कसैले बिहेको कुरा नगरिदिए हुन्थ्यो भन्ने लाग्थ्यो ।’ उनलाई बिहे गर्नैपर्छ भन्ने उति बेला मात्रै होइन, अहिले पनि लाग्दैन । त्यसैले बिहे गर्नुपर्छ भनेर कसैलाई कर पनि गर्दिनन् । बिहे गरेर घरजम गर्नुलाई उनी समान्य ठान्छिन । बिहे गरेका जति सबैका घर, परिवार र सम्बन्ध राम्रो चलेको उनले देखिकी छैनन् । बाहिर धेरै असल देखिने घर परिवार भित्र अनेक पीडा खेप्नु परेको उनले सुनेकी र देखेकी छन । ‘के थाहा मैले बिहे गरेको भए मेरो परिवार पनि यस्तै पीडादायक पो हुन्थ्यो कि ?’उनी यस्तो पनि सोच्छिन् आजभोलि ।

उनको संगत र भोगेको समाज भित्रको कयौं असझदारी पूर्ण सम्बन्धले पनि बिहेप्रति आकर्षित नगरेको उनले बताइन् । चन्चले उमेरदेखि राजनीति गरेकी उनले आफूलाई न बैंश आएको पत्तो पाइन न चञ्चलताको अनुभूति नै गरिन् । पार्टी भित्रको फलामे अनुशासन पालना गर्दै आएकी उनले जीवनमा कसैलाई प्रेमपत्र लेखेको वा कुनै पुरुष प्रति आकर्षण नभएको उनले सुनाइन् । ‘हामी विद्यार्थी हुँदा त अहिलेको जस्तो कहाँ थियो र ! कसैले कसैलाई प्रेमपत्र लेखेको थाहा भयो भने कारबाही हुन्थ्यो’ उनले भनिन्, ‘बिहे गर्नै पर्दा पार्टीले नै निर्णय गथ्र्याे । मैले पनि बिहे गर्नपर्छ भन्ने खालको कुरा उठ्थ्यो ।’ उनले फलामे अनुशासन पालना गरिरहदा उनैका नेताले भने आफनै कार्यकर्तासँग बिहे गर्न छाडेका थिएनन् । कयौं नेताले आफ्नै समकालिन र कार्यकर्तासँग बिहे गरेर घर बसाए । ‘बिहे गर्ने सवालमा मैले पार्टीको निर्देशन मानिन, अरु सबै निर्णय र निर्देशन मान्दै आए,’ उनले सगर्व सुनाइन्, ‘यसमा म अहिले पनि जे गरेँ ठिक गरेँ भन्नेमा अडिक छु ।’

‘एउटी महिलाले बिहे गरेर कसैको श्रीमती, बुहारी भएर राजनीति गर्नु सहज छैन । मैले समाजमा श्रीमती र बुहारी भएर महिलाले भोगेका अनेक दुःख देखेको छु,’ उनले भनिन्, ‘हाम्रो समाज अहिले त समान्तवादी सोचबाट माथि उठ्न सकेको छैन्,उतिबेलाको त के कुरा गर्नु ?’ उनको प्राथमिकता समाज परिवर्तन ‘बिहे गरेर श्रीमानको माया पाउँला, सुख र ऐस भोगौँला भन्ने कहिल्यै मनमा आएन । बिहे गरेर सबैले श्रीमानका माया पाउछन् परिवारको साथ र सहयोग पाउछन् भन्ने हुँदैन ।’ बिहे गरेर बुहार्तन भोग्ने धेरै महिलालाई न्याय दिलाउन परेको उनको अनुभव छ । ‘उपसभापति हुँदा महिलाका कयौं केस हेरेँ । रुदै आउँथे, जस्ले जीवन भर सुखदुख सँगै भोगौला भनेर जन्मघर छोडेर अरुलाई सर्वस्व ठान्यो उही र उसका परिवारले दिएको यातना सुन्दा र देख्दा मेरो मन दुख्थ्यो ।’ उनी सबै महिलाको भोगाइ र दुःख आफ्नै ठान्छिन् ।

बिहे गर्ने उमेरमा उनको मनमा आउने तरंग भनेको कसरी मान्छेलाई आन्दोलनमा धेरै भन्दा धेरै जोड्न सकिन्छ भन्ने थियो । ‘यति बेला लाग्छ बिहे गर्ने उमेरमा त परिपक्क भएर राजनीतिमा पो लागिछु । रमाइलो गर्ने कसैसँग प्रेम गर्ने जस्ता कुरा मनमै आएन ।’ उनले कसैलाई प्रेम नै नगरेर जवानी बिताइन् । कयौं महिला प्रेममा असफल भएर बिहे गर्देनन् । तर जयन्तीले न कसैलाई मन पराइन् न कोही खाइलाग्दो युवा देख्दा आहा भन्ने नै लाग्थ्यो । ‘तपाइँले भनेको जस्तो प्रेम चाहिँ मैले आफैले आफैलाई गरेँ,’ उनी मज्जाले हाँसिन्, ‘मैले साथीहरुलाई माया गरँे प्रेम गरँे र गरीरहेको छु । त्यो प्रेम माया तपाइले भनेको जस्तो होइन, जनताका दुःख समस्या, महिलाका भोगाइ र पीडासँगको मेरो प्रेम भने आज पनी उत्तिकै छ ।’

बिहेका बारेमा उनलाई घरबाट प्रस्ताव र दवाव न आएको पनि होइन । तर, उनले त्यसमा चासो देखाइनन् । उनका साथीसँगीको १४–१५ वर्षको उमेरमा बिहे हुन्थ्यो । उनलाई पनि १५ वर्षमा बिहेको लागि परिवारले केटा खोजे । घरमा बुवाहरुले एकपटक राईको चलन अनुसार साइमुन्द्रा खाने कामसम्म भयो । त्यो एक प्रकारले बिहेको पक्का गरे जस्तै हो । त्यो निर्णय गर्दा उनलाई जानकारी गराइएको थिएन । ‘१५ वर्षकी भए पनि मैले राजनीति बुझ्न थालिसकेको थिएँ,मैले बिहे गर्दिन क्यान्सिल गर्दिनु भने ।’ उनले त्यो बिहे प्रति गरेको बिद्रोह थियो । ‘बुवा बुझ्ने भएकाले त्यसलाई समान्य रुपमा लिनु भयो ।’ परिवारले त्यस पछि उनको बिहेको कुरै गर्न छाडे । कहिले काहिँ भने बिहेको सवालमा परिवार र साथीभाइको मान राख्न सकिन भन्ने लाग्छ उनलाई । तर, आफ्ना लागि भने जे गरे ठिक गरे भन्ने कुरामा उनको कुनै पछुतो छैन ।

उनका समकालिन सबैका नाति नातिना भैसके उनी भने भदा भदैनिसँगै बस्छिन् । समय बित्दै जाँदा झन झन उनलाई बिहे नगरेर ठिकै गरेछु भन्ने लाग्छ । बिहे गरेका महिला साथी सबैको खुसिको जीवन भएको लाग्दैन । समाजमा नेतृत्व गर्नेका घरमा झन धेरै समस्या हुने गरेको उनी ठान्दछिन् । ‘धेरै साथीको मुद्दा मामला हेर्दा दिक्क लाग्छ । आफूले सोचेको जस्तो असल साथी पाउन गाह्रो छ । बहिरबाट हेर्दा जति मान्छे सुखी र खुसी देखिन्छन् भित्र त्यस्तो देख्दिन म ।’ उनले भनिन् ‘अगुवा महिलाले झन पारिवारिक समस्या झेल्नुपर्छ ।’ उनले यो ४५ वर्षको राजनीतिक जीवनमा धेरै महिलाका पीडा र आँसु देखिन् । महिलाले बगाउने आँसु उनलाई आफ्नै जस्तो लाग्छ । उनले संगत गरेका धेरै महिला थिचिएर, हेपिएर प्रताडीत भएर घर सम्हालेका र परिवार बसाउने नाममा हिंसा सहे जस्तो लाग्छ उनलाई ।

अझ उनको बुझाइमा हुनेखाने भन्ने परिवारमा महिलाले बढी सास्ती खेप्ने गरेका छन् । ‘बरु समान्य परिवारमा महिला पुरुषले सँगै दुख सुख गरेर खान्छन्,’ उनीहरुमा विश्वास हुन्छ एकले अर्काको कामको सम्मान गर्छन ।’ महिलाले जति श्रीमानका लागि गर्छन श्रीमतीका लागि दुःख गरे जस्तो उनलाई । ‘बाहिरबाट हेर्दा साझो, इमान्दार, राजनीति बुझेको भन्यो भित्र त पितृसत्तात्मक सोच देखाइ हाल्दा रहेछन् ।’ उनले ओकलिन् , ‘म जुन स्थानको जिम्मेवारी पूरा गर्दे छु, त्यहाँ पुरुष हुने हो भने घर भित्र उसले कही गर्नु पर्दैन । तर म महिला भएका कारण राजनीतिक, समाजिकका साथै घर भित्रको जिम्मेवारी पनि पूरा गर्नुपरेको छ ।’

उनलाई लाग्छ, अहिलेका महिला पूरुष भन्दा कम छैनन् । धेरै क्षेत्रको नेतृत्वमा महिला छन् । उनको बुझाइमा समाजिक नेतृत्वमा रहेका महिलाले परिवार मिलाउने र घर बसाउने नाममा अनेक पीडा भोग्ने गरेका छन् । अरुलाई न्याय दिनले आफ्नो पीडा सुनाउन आँट सकेसम्म गर्देनन् आफै भित्र पिल्सिएर बस्छ । घर बनाउने, परिवार बनाउन छोराछोरीको भविष्य बनाउने सबै जिम्मेवारी महिलाको काँधमा रहेको उनी ठान्दछिन । ‘एउटा पुरुष समाजको एउटा क्षेत्रमा स्थापित भयो भने उसको सबै जिम्मेवारी सकिन्छ केहीगर्न पर्दैन । महिलाले त राज्यको नेतृत्व गरे पनि घरमा गएर चिया पकाएर परिवारलाई खुवाउने देखि जुठाभाडा सम्हाल्नु पर्छ । त्यो मैले पनि गरिरहेको छु ।’ उनले राजनीति र समाजिक क्षेत्रमा काम गर्ने सबै महिलाको भोगाइ सुनाइन्, ‘पार्टी नेताको फोन आउँछ, कुरा गर्दे घरको काममा हात लगाउन पर्छ । पुरुष भए मज्जाले बसेर कुरा गर्छ । तर, हामीलाई त्यो पनि फुर्सद छैन ।’

साथीहरुले श्रीमानले ल्याइदिएको उपहार देखाउँदा र घुमाउन लगेको अनुभव सुनाउँदा उनलाई आफूले त्यो अवसर गुमाएकी भन्ने कहिल्यै लागेन । ‘म त आफूलाई गौरब ठान्छु । आफूलाई मन लागेको आफैले किनेर लगाउन पाएको छु । जान मन लागेको ठाउँमा आफ्नै निर्णयले जान पाएको छु । श्रीमान वा छोराछोरी मानेनन् र यो गर्न पाइन् भन्ने छैन । आफ्नै मर्जिले चलेको छ,’ उनले आफ्नो स्वतन्त्र जीवनको बारेमा सुनाइन् । त्यसो त बिहे गरेर परिवार धानेका महिलाले कहिले काहिँ बिहे नगरेर जयन्ती कमरेडले ठिक गर्नुभयो पनि भन्छन् । त्यो सुन्दा झन उनलाई बैवाहिक जीवन भित्र समस्या धेरै छन् भन्ने लाग्छ । ‘राजनीतिक काममा महिलासँग बस्दा केही काम गर्न लाग्यो श्रीमानलाई फोन गरेर सोध्छु भन्नुहुन्छ । आफूले के गर्ने भन्ने बारेमा आफैले निर्णय गर्नपर्छ भन्ने मेरो मान्यता हो । आजसम्म जे गरे आफ्नै निर्णयले गरेर आएकाले होला मलाई आफ्नै जीवन सहज लाग्छ,’ उनले सुनाइन् ।

आफूले बिहे नगरेको भए पनि उनी आफूलाई बिहे बिरोधी भने ठान्दिनन् । उनी आफैले अरुको बिहेको चाँजोपाँजो मिलाउने काम भने धेरै गरेकी छन् । समाजिक संरचनाका लागि बिहे पनि गर्नुपर्छ तर बिहे अनिवार्य भने होइन उनको नजरमा । ‘मैले बिहे गरिन भनेर कसैले नगरुन भन्ने लाग्दैन ।’ तर, बिहे गरेर समझदारी पूर्ण सम्बन्ध छैन भने पीडा लिएर बस्न हुन्न ।’ उनी परिवार बनाउने नाममा पील्सिएर न बस्न महिलालाई सुझाव दिन्छिन् । उनको विचारमा बिहे वाध्यता वा आवश्यकता भने होइन । यो मान्छेको सोच र दृष्टिकोणमा भरपर्छ कुरा हो । यहि समाजमा बिहे गरेका र सन्तान जन्माएकालाई मात्रै पूर्ण महिला ठान्ने पनि छन् । तर, उनी त्यो मान्न तयार छैनन् । ‘बिहे मान्छेको सोचमा भर पर्छ । बिहे गरेर खुसी भएका श्रीमानले सानो उपहार दिँदा दंग परेका महिला पनि छन् । तर, त्यही चिज आफैले जोहो गरेर उपयोग गर्दा गौरव ठान्ने पनि छन् नी !

‘बिहे भनेको एक प्रकारले समाजलाई निरन्तरता दिने कुरा पनि हो । तर, समान्तवादी सोच भएको हाम्रो समाजमा बिहे गरेर सबै महिला खुसी छन् भन्ने मलाई लाग्दैन । बिहे नगर्दा सबै सकिन्छ, बाच्नै सकिन्न भन्ने मानसिकता बनाउन हुँदैन ।’ एक्लै पनि बाच्न सकिन्छ र त्यसका लागि मानसिक रुपमा पहिला तयार हुन पर्छ भन्ने उनको बुझाइ छ । ‘पहिला महिला आत्मनिर्भर हुनपर्छ । मैले आफ्नो निर्णय आफै गर्नुपर्छ । के लागाउने ? के खाने कहाँ जाने जस्ता कुरामा महिला स्वंयमले निर्णय गर्न पाउन पर्छ ।’ श्रीमान रिसाउला की ? सासु ससुराले के भन्लान ? छोराछोरीले मन दुखाउलान भन्दा भन्दै आफ्ना चाहनालाई दवाउन हुँदैन् ।’ उनको बुझाइमा परिवारको मान महिलाले राख्दा परिवारले पनि महिलाका मान र सम्मानको ख्याल राख्नु पर्छ ।

‘परिवाले भनेको बेला बिहे गरेको भए आज म जहाँ छु, त्यहाँ नहरन पनि सक्थँे । मसँग पारिवारिक जिम्मेवारी रहन्थ्यो । घर बाहिर निस्केर हिँड्न गाह्रो हुन्थ्यो होला ! ’उनले भनिन्, ‘त्यसैले आज पनि बिहे गरिन भन्ने कुरामा कहिँ कतै गुनासो छैन । जे गरे ठिक गरँे भन्नेमा म अहिले पनि उत्तिकै अडिक छु ।’ प्रस्तूति चमिना भट्टराई

प्रतिक्रिया