चिनियाँ राजदूतलाई सचेत गराउन निर्देशन

काठमाडौ । चिनियाँ राजदूत छन सङले नेपाल–भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ ।

बिहीबार बसेको संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले यसै विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाएको थियो । बैठकमा समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै सचेत गराउनु पर्ने धारणा राखेको थिए । बैठकको अन्तिममा समिति सभापति राजकिशोर यादवले निर्देशन दिँदै यस विषयमा परराष्ट्र मन्त्रालयले राजदूतसँग सोधपुछ गरेर सचेत गराउन निर्देशन दिए ।

‘नेपाल सार्वभौम मुलुक हो । के गर्ने नगर्ने भन्ने निर्णय नेपालको आन्तरिक हो’, समिति सभापति यादवले भने, ‘चिनियाँ राजदूतले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति के हो भन्ने बारे परराष्ट्र मन्त्रालयले सोधपुछ गरेर सचेत गराउनु निर्देश गर्दछु ।’

यसअघि नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरू माधव कुमार नेपाल, भीम आचार्य, वर्षमान पुन, महन्थ ठाकुर, धवलशमशेर राणा, शिशिर खनाल, पे्रम सुवाल र प्रभु शाह शाहले असन्तुष्टि व्यक्त गरेका हुन् ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिएका थिए। राजदूत सोङको सो अभिव्यक्तिप्रति सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । सांसदहरूले चीनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धका बारेमा बोल्न नमिल्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदुतहरुले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताए । उनले कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिनु नहुनेमा सबैले ध्यान पुर्याउनुपर्ने पनि बताए ।

‘सबै देशका राजदुतहरुले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो देश नेपाल अत्यन्तै संवेदनशील अवस्थामा रहेको छ । यसको भू–राजनीतिक संवेदनशीलता छ। यो भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखिकन, असंलग्न परराष्ट्र नीतिको मान्यतामा नेपाल दृढ भएको कुरालाई ध्यानमा राखिकन कसैले पनि आफ्ना बोलि, अभिव्यक्तिहरु अगाडी सार्नुपर्दछ,’ उनले भने, ‘त्यस्तो कुरामा सबैले विचार पु¥याउन। होइन भने एउटाको अभिव्यक्तिबाट अर्को फेरि प्रतिक्रिया व्यक्त गर्ने, नेपाल जटिलतामा फस्ने यो स्थिति नबनोस् भन्ने कुरामा सबैले ध्यान पुर्याउन् ।’

नेकपा (एमाले) का सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनैपनि देशले बोल्नु राम्रो नभएको बताए। उनले चिनियाँ राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्ट पारेपछि मात्रै आफूहरूले थप दृष्टिकोण राख्ने पनि बताए । ‘नेपालको आन्तरिक मामिला र अन्य देशहरुको सन्दर्भमा कुनैपनि पक्षले बोल्नु राम्रो होइन। तर चिनियाँ राजदुतले के बोल्नुभएको हो, त्यो प्रष्ट बुझेर उहाँहरुसितै बुझेर वा अन्य माध्यमबाट बुझेर हाम्रो परराष्ट्र मन्त्रालयले यस सम्बन्धि प्रष्ट पारिदियो भने हाम्रो दृष्टिकोण राखौँला,’ उनले भने ।

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिनु नहुने बताए । उनले अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कुटनीतिको हिसाबले पनि बेठिक भएको बताए । यस विषयमा चिनियाँ राजदूतलाई सतर्क गराउन परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने पनि बताए ।

‘को–को राजदूतले ? कहाँको राजदुतले भन्दापनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने, या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बस्नै दिनु हुँदैन । यो बेठिक हो । अन्तर्राष्ट्रिय कुटनीतिमा पनि, हाम्रो आफ्नो कुटनीतिमा पनि। कोहीपनि राजदुत । हाम्रो आफ्नो घरेलु विषय हो। आफ्नो सम्बन्धको विषय हो । सही, गलत हामी सम्बन्धित पक्षसँग कुरा गर्छौँ । त्यसमा शतर्क बनाउने, कुन सन्दर्भको हो स्पष्टीकरण लिने या के गर्ने हो मन्त्रालयले, सरकारले यसमा पहल गरोस्,’ उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदुतको अभिव्यक्ति घोर आपत्तिजनक भएको टिप्पणी गरे। उनले यो गम्भिर कुरा भएको भन्दै दुई देशको सम्बन्धमा तेस्रो देशले अभिव्यक्ति दिनु शोभनिय नभएको बताए ।

‘चीनको राजदुतको अभिव्यक्ति घोर आपत्तिजनक छ। मन्त्रीजीसँग हामीले धेरै आशा गरेका थियौँ, यहाँले पनि यहीँ आएर थाहा पाउनुभएको छ,’ उनले भने, ‘त्यसो हुँदाखेरी भनौँ के भनौँ ? यो गम्भिर कुरा हो। दुई देशको सम्बन्धमा तेस्रो देशले त्यस किसिमको अभिव्यक्ति दिनु शोभा दिँदैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चिनियाँ राजदुतको अभिव्यक्तिको सम्बन्धमा सरकारले उनलाई बोलाएर सचेत गराउनुपर्ने बताए । राजदूतहरूले अन्य देशसँगको सम्बन्धको बारेमा अभिव्यक्ति दिने कुरालाई रोक्नुपर्ने बताए ।

‘अहिले नै हामीले सचेत गराउनुपर्छ। नोट अफ अब्जेक्शन उहाँलाई बोलाएर भन्नुपर्छ। यो कुराहरू बढ्दै गएभने अर्को राजदुतले के भन्ला, अर्कोले के भन्ला र हामी एउटा नराम्रो परिस्थितिमा पुग्छौँ । यस्तो कुरामा हामी सचेत हुनुपर्छ र यस्तो कुराहरुलाई हामीले सुरुमै रोक्नुपर्छ,’ उनले भने, ‘यस्तो कुराहरू नगर्नुहोला भनेर सबै राजदुतहरुलाई र सबै डिप्लोम्याटिक मिशनहरुलाई परराष्ट्र मन्त्रालयले यस्तो विषयमा गम्भिर भएर उहाँहरुलाई सचेत गराउनुपर्ने आवश्यकता छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले राजदुतहरुले नेपालको अन्य देशसँगको सम्बन्धका बारेमा टिप्पणी गर्न थालेमा देश भू–राजनीतिक जटिलतातर्फ जाने बताए । ‘संवेदनशील भू–राजनीतिक अवस्थामा हामी छौँ। विभिन्न देशका राजदूतहरूले हाम्रोबारे, हाम्रो आन्तरिक मामिलाकाबारे अथवा हाम्रो परराष्ट्र सम्बन्धहरुको बारे टिकाटिप्पणी गर्ने, त्यसमा हामीले नजरअन्दाज गर्न थाल्यौँ भने भोली भू–राजनीतिक जटिलतातर्फ मुलुक जाने छ। त्यसले थप हामीलाई क्षति पुर्याउन सक्छ। त्यसतर्फ पनि परराष्ट्र मन्त्रालयले तुरुन्तै डिप्लोम्याटिक नोट पठाओस् अथवा सचेत गराओस्,’ उनले भने ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तत्कालिन भारतका लागि नेपाली राजदुतले चीनसँगको सम्बन्धको बारेमा टिप्पणी गरेको भन्दै त्यस विषयमा पनि छलफल गर्नुपर्ने बताए ।

‘चिनियाँ राजदूतको भनाई मात्र होइन परराष्ट्रमन्त्री र प्रधानमन्त्रीज्युहरु भारत जाँदा हाम्रो नेपालको राजदुतले पनि भन्नुभएको छ नि यस्तै विषयमा । चीनले के गरेको छ नेपालमा,भारतले त के–के गरेको छ?,’ उनले भने, ‘त्यसबेला छलफल गर्नुपर्दैन? त्यो नेपालको राजदुतलाई भन्नुपर्दैन? हाम्रो राजदुतले चीनको बारेमा टिप्पणी गर्दा के गर्दै थियो? आज चीनले के नराम्रो बोल्यो भनेर एक, एक विषय केलाउँन ।’

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल–भारत सम्बन्धमा चीनले बोल्नु जरुरी नभएको बताए। आगामी दिनमा यसरी अभिव्यक्ति दिने कुरामा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाल सार्वभौम देश हो। यसले अन्य देशसँग सम्बन्ध राख्नसक्छ। यस विषयमा तेस्रो देशले बोल्नु हुँदैन जस्तो लाग्छ। नेपाल र भारतको सम्बन्धको बारेमा चीनले बोलिराख्नु जरुरी छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘आउने दिनमा त्यसलाई करेक्शन गर्नुपर्छ। यसका निम्ति परराष्ट्र मन्त्रालयले के बोल्ने, नबोल्ने संहितामार्फत् कसरी नियमन गर्ने हो त्यसमा प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’

अध्यक्ष साहले राजदूतले बोल्ने, नबोल्ने विषयहरूमा संहिता नै बनाएर राजदुतहरुलाई सचेत गराउनुपर्ने बताए । बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न विदेश भ्रमणका कार्यसूचीहरु प्राथमिकताका आधारमा तयार भइरहेको जानकारी दिए । बैठकमा प्रधानमन्त्री दाहालको आसन्न विदेश भ्रमणको कार्यसूचीबारे जानकारी गराउँदै उनले सबै मन्त्रालयबाट सुझाव आउने क्रम जारी रहेको र प्राथमिकताका आधारमा कार्यसूची तयार भइरहेको बताए ।

चीन भ्रमणका विषयमा सबै मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरिएको छ, दुईपक्षीय र बहुपक्षीय छलफल भइहरेको छ’, मन्त्री साउदले भने, ‘के–के विषय कार्यसूचीमा रहने र कुन–कुन विषयमा सम्झौता गर्ने भन्ने विषयमा अन्तिम भएको छैन, तयारी हुँदैछ ।’ भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, पूर्वपरराष्ट्रमन्त्रीसँग भेट गरी थप छलपल गर्ने तयारी रहेकोसमेत समितिलाई जानकारी गराए ।

समितिका सदस्य तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मित्रराष्ट्रसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यलाई पनि विदेश भ्रमणमा प्रतिनिधित्व गराउनुपर्ने बताए । प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्य दूतावासका पदाधिकारीलगायत प्रतिनिधि रहने छन् ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घीय महासभाको ७८औँ उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने छन् । विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख वा उच्च राजनीतिक सहभागिता हुने राष्ट्रसंघीय उक्त मञ्चमा नेपाल सरकारको विकास प्राथमिकता, प्रमुख उपलब्धि तथा चुनौती प्रस्तुत गर्ने अवसरसमेत प्राप्त हुनेछ ।

प्रधानमन्त्री दाहालले विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरुसँग भेटवार्ताको कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने रात्रि भोजमा सरिक हुने कार्यक्रम छ ।

प्रतिक्रिया