ओली प्रतिको असन्तुष्टि लुम्बिनीमा ‘बिष्फोट’

ओली निर्देशनको अवज्ञा

काठमाडौं । एमालेको १० औ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि केपी शर्मा ओलीको पार्टी भित्र हाल सम्म एक छत्र राज चलेको छ । ओलीले सबै जनवर्गीय संगठन र पार्टीका निकायहरुमा अधिवेशनका नाममा पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त परेको गुनासो धेरैले गर्दै आएका छन् । ओली अध्यक्ष भएपछि पार्टीका अधिकांश निकायमा निर्वाचन हुन छोडेको छ । अधिवेशन हुने निकायमा ओलीले केन्द्रबाटै तोकेर अध्यक्ष मण्डल बनाउने र त्यसले सो अनुकुलको कमिटी निर्माण गर्ने चलन बढेको छ ।

याे पनि : एमाले लुम्बिनी अध्यक्षमा उपाध्यक्ष विष्णु पौडेल निकट राधाकृष्ण कँडेल विजयी

तर लामो समयदेखि आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै आएका एमालेका कार्यकर्ताहरुको ओलीको सो कदमविरुद्ध बिस्तारै गुम्साहट बढ्दै गएको छ। एमाले अध्यक्ष ओलीको वरिपरिका घेराले पार्टीका सदस्यहरुलाई राम्ररी आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नदिएपछि विस्तारै यसविरुद्ध विष्फोट सुरु भएको छ। यसको सुरुवात लुम्बिनी प्रदेशको एमालेको अधिवेशनले गरेको छ। पार्टी भित्र विस्तरै गुम्सदै गएको ओलीको तानाशाहीको बिस्फोट भएको छ। अब यो विस्तरै क्रमश फैलदै जाने अनुमान गरिएको छ।
ओलीको चाहना विपरीत नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि चुनाव भएको छ।

मंगलबार बिहान ८ बजेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान भएको हो । एमाले लुम्बिनीको अध्यक्षमा नेताहरु राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा उत्रिए। मंगलबार राति अबेर सम्म मतगणना जारी छ । मत गणनामा दुबै उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा छ ।

प्रथम प्रदेश अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट अबलम्बन गरिएको हो ।
सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको थियो । रातको समयमा मतदान गर्दा गलत सन्देश जाने भएकाले मतदानको कार्यक्रम मंगलबार बिहानको लागि सारिएको बताइएको छ ।

अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै प्रदेश नेतृत्व चयन गर्न निर्देशन दिएका थिए।
अध्यक्ष ओलीले पार्टीको लुम्बिनी प्रदेश नेतृत्वको समस्या समाधान गर्न केन्द्रीय सचिवालयका नेताहरूलाई निर्देशन दिएका थिए ।शनिबार बुटवलमा प्रदेश अधिवेशन उद्घाटन गर्दै उनले उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेलका नाममा अनावश्यक अभ्यास नगर्न पनि चेतावनी दिएका थिए ।

‘दुवैजना (विष्णु र शंकर)को भनाइ सुनेँ, उहाँहरू सुदृढ एकता चाहिन्छ, एकताबद्ध भएर अघि जानुपर्छ, त्यसको कुनै विकल्प छैन भनिरहनुभएको छ भने उहाँहरूको नाममा अनावश्यक अभ्यास नगरौँ,’ ओलीको भनाइ थियो । उनले फलानो नेताको आशीर्वाद भन्ने कुरा गर्न नहुनेमा जोड दिए । नेतृत्वका लागि आफ्नो इच्छा भए नाम बताउन आग्रह पनि गरे ।

एमालेका १९ सचिवालय सदस्यमध्ये लुम्बिनीमा उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट र छविलाल विश्वकर्मा छन् ।

‘यत्रो विधि नेताहरूको लाइन यहीँ, नेताहरूले मिलाउनु पर्दैन ? महासचिव जानुभएको (चीन) छ, युवराजजी आउन पाउनु भएन,’ ओलीको भनाई थियो ‘अरू नेताहरू भरे बेलुका बस्नूस्, सबै साथीहरूलाई चित्त बुझ्ने समाधान निकाल्नूस्, भोलि बिहान मै घोषणा गर्दिउँला, केही छैन । तर, समाधान निकाल्नूस् ।’

उनले सचिव र लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई पनि मिलाउन भनेका थिए । लुम्बिनीबाट नमुनाको काम हुनुपर्ने उनको भनाइ थियो ।एमाले लुम्बिनीको नेतृत्वका लागि पौडेलनिकट राधकृष्ण कँडेल र पोखरेलनिकट हरि रिजालले दाबी गरेका थिए ।
तर, नेतृत्वमा दुबै खेमाले आ(आफ्नो दाबी नछाडेपछि दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका थिए ।
एमाले लुम्बिनीको अध्यक्षमा प्रतिस्पर्धा गर्ने कँडेल पाल्पाका हुन् । उनी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

त्यसैगरी महासचिव शंकर पोखरेल निकट मानिने रिजाल प्युठानका हुन्। कँडेल प्रदेश कमिटीको निवर्तमान अध्यक्षसमेत हुन् । रिजाल पार्टीको केन्द्रीय सदस्य हुन्। अहिले पोखरेल भने चीन भ्रमणमा छन् । एमाले लुम्बिनीको सचिवमा लक्ष्मण आचार्य भने यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा चुनाव भएको हो । चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ।
(एमाले)को लुम्बिनी प्रदेश अधिवेशनमा भएको निर्वाचनमा ३९ जना प्रतिनिधि अनुपस्थित भएका थिए् । एक हजार चार प्रतिनिधिमध्ये ६६५ जनाले मात्रै मतदान गरेका हुन् ।

निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले ६६५ जनाले मतदान गरेको जानकारी दिए । जुन् कुल प्रतिनिधिको ९६ प्रतिशत हो ।

एमालेको १० औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीको पहिलो पटक आफ्नो योजनामा झट्का लागेको छ। उनको ईच्छा विपरीत लुम्बिनीमा चुनाव भएको हो । २०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए । एमाले र माओवादी केन्द्रको एकता अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको थियो ।

यो महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । पार्टीभित्र विभिन्न मनोविज्ञानका नेताहरू रहेकाले तीनलाई व्यवस्थापन गर्न भन्दै ओलीले केन्द्रीय कमिटी नै आफूले प्रस्तावित गरका थिए । तर, उनको प्रस्ताव भीम रावल लगायतका नेताले अस्वीकार गरेपछि एमाले महाधिवेशनमा चुनावको अवस्था सिर्जना भएको थियोे ।

बिगतमा धेरै पार्टीका नेताहरुले आफुले पार्टीका प्रतिस्पर्धी नेताहरुलाई पाखा लगाउँदा के हालत हुन्छ भन्ने कुरा समेत ख्याल नगरेको एक नेताले बताए । एमालेका एक नेता भन्छन् –लुम्बिनी त ओलीले पार्टीमा आफ्ना भारदारहरु लगाएर एकलौटी गर्न खोजेकोविरुद्धको बिद्रोह हो । यस्ता बिद्रोह अब एमाले जोगाउनका लागि धेरै ठाँउबाट हुुदैछन् । ती नेताले भने अब ओली एमालेमा सच्चिएर आउने संभावना छैन । अव एमालेको पार्टी सदस्य पंक्तिले यसैगरी सच्याउने छ ।

यता नेकपा एमालेनिकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा भने वासुदेव नेपाल सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा शनिवार सम्पन्न प्रथम महाधिवेशनबाट नेपालको नेतृत्वमा कार्य समिति सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा सुष्मा आचार्य मैनाली, दीपक खनाल र बालकृष्ण विष्ट (गगन) चयन भएका छन् भने महासचिवमा रविन केसी निर्विरोध भएका छन् । कमिटीको सचिवमा कृष्ण कँडेल, रामचन्द्र केसी र विश्व कल्याण अधिकारी चयन हुँदा कोषाध्यक्षमा राम थापा चयन भएका छन् ।

प्रतिक्रिया