प्रवर्द्धन गर्न अवलोकन भ्रमण

पर्यटकको पर्खाइमा रोशीको तीन धारे झरना

काभ्रे । भारतीय चलचित्र बहुबली चलचित्रको छायांकन दुश्यसँग तुलना गर्दै ५ वर्षदेखि चर्चाको केन्द्रमा रहेको रोशिको तीन धारे झरना पर्यटकको पर्खाइमा छ । हिजोआज आन्तरिक तथा बाह्य पर्यटकको आगमन केही बढे पनि अझै पर्याप्त प्रचार प्रसारको अभावमा रोशी गाउँपालिका तीनधारे झरना पर्यटकको पर्खाइमा छ । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा अवस्थित तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण कार्यक्रम गाउँपालिका र वडाले राखेको छ ।

शनिबार अवलोकन भ्रमण कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना मन्त्री बहादुर सिं लामा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन लगायत एक हजार भन्दा बढी आन्तरिक पर्यटकको सहभागीता रहेको थियो । शनिबार पर्यटकीय स्थल तीनधारे झरनाको प्रवद्र्धन तथा विकासका लागि अवलोकन भ्रमण राखिएको गाउँपालिकामा अध्यक्ष दिनेश लामाले बताए ।

तीनधारे झरना अवलोकन पश्चात आयोजित कार्यक्रममा बागमती प्रदेश अर्थ मामिला तथा योजना लामाले तिनधारे झरना संरक्षण सवंर्धनका लागि बागमती प्रदेश प्रतिबद्ध रहेको बताए । झरना काभ्रेको मात्र नभएर बागमती प्रदेशकै गौरबको पर्यटकीय स्थल बन्न सक्ने उनले सुनाए । ‘मैले फोटोमा मात्र देखेको यो तिनधारे झरनामा आयपुग्दा साच्चै मनमोहक स्वर्गीय आनन्द दिने रहेछ,’ बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री लामाले भने, ‘यो क्षेत्रको बिकासका लागि बागमती प्रदेश प्रतिबद्ध छ । यसको विकासका लागि बागमती प्रदेशले के कती सक्छ साथ र सहयोग गर्न तयार छौँ ।’ झरनाको प्रवद्र्धनगर्न सके यस भेगको स्थानीयले आर्थिक उपार्जन गर्न सक्ने र आर्थिक समृद्धि हुने उनले बताए ।
होमस्टे सञ्चालन गर्न सके आर्थिक उपार्जन गर्न सकिने अर्थमन्त्री लामाले बताए । त्यसको लागि स्थानीयहरू लाग्नुपर्ने उनको सुझाव छ । त्यसरी नै झरनासम्म जाने सिडीहरू आवश्यक भएको देखेको र स्थानीयहरू माग पनि भएकोले सकेसम्म यसपाली नै नभए अर्काे बर्षसम्ममा निर्माण गर्न प्रतिवद्ध भएको लामाले बताए ।

खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ बहादुर लामाले पर्यटकीय स्थल तीनधारे झरनाको विकासको लागि सदैव लाग्ने बताए । देशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर लैजानुपर्ने उनको भनाई छ । दाप्चा–फलामेसँघु–काफलडाँडा तीनधारे झरनासम्म सडक स्तरोन्नती हुने उनले बताए । ‘तीनधारे झरनासम्म आई पुग्न दाप्चा–फलामेसाँघु–काफलडाँडा सडक स्तरोन्नती हुन्छ । पहिलो फेजमा दाप्चा–फलामेसाँघु स्तरोन्नती हुन्छ र त्यसपछि फलामेसाँघु–काफलडाँडा देस्रो फेजमा स्तरोन्नती तथा पिज हुने छ,’ मन्त्री लामाले भने, ‘त्यसका लागि म बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री लगायत मन्त्रीहरूलाई पहल गर्नेछु । मुख्यमन्त्री अर्थमन्त्री लगायत बागमती प्रदेशका मन्त्रीहरू विकासप्रेमी भएकाले सहयोग हुनेछ भन्ने विश्वास छ ।’

मन्त्री लामाले काभ्रेमा नेपालकै सबैभन्दा लामो जिपलाईन बन्ने सम्भावना रहेको बताए । नमोबुद्ध नगरपालिकाको दाप्चादेखि काफलडाँडा अर्थात तिनधारे झरनासम्म जिपलाईन सञ्चालन गर्न सक्ने सम्भावना रहेको उनले सुनाए ।

सो कार्यक्रममा उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफ्नो मन्त्रालयले सक्ने र मिल्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । तीनधारे झरना क्षेत्र विकासका लागि सम्भव हुने जुनसुकै सहयोग गर्न तत्पर रहेको पनि उनले बताए । झरनाको विकासको लागि लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

चार मन्त्रीसमक्ष जनप्रतिनिधिहरूले मागे विकास
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले तीनधारे झरनाको प्रवद्र्धनगरेर आर्थिक उपार्जनमा लाग्नु पर्ने बताए । त्यसका लागि बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । विकासप्रेमी अर्थमन्त्री र काभ्रेली विकासप्रेमी मन्त्री तिर्थ लामाले काभ्रे विकासका लागि लागिपर्ने बताए ।

नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कन्साङ लामाले चार जना प्रदेश मन्त्री पर्यटकीय स्थलमा उभिएपछि विकासको मूल फुट्नेमा विश्वास लिएको बताए ।

यस्तै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको पालिका भएको बताए । रोशीमा चैतेपानीमा नेपालकै एक मात्र ठाउँमा पाइने १२ बर्षमा फूल्ने निलम्बरी फूल पाइने भएको जानकारी दिए । त्यस्तै भूमेचुली डाँडा, तीनधारे झरना, हात्तीआहाल, ताराखसे लेक तथा पोखरी लगायत रोशी गाउँपालिका भित्र पर्यटकीय स्थल रहेको लामाले बताए । ति स्थलहरूको विकास र प्रर्वधनका लागि गाउँपालिकाले मात्र सम्भव नहुने भएकाले प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । विकासप्रेमी मन्त्रीहरूले त्यसका लागि सकारात्मक सहयोग पाउने विश्वास लिएको अध्यक्ष लामाले सुनाए ।

रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबाले पनि रोशीको बिसमा सहयोग गर्नुपर्नेमै जोड दिए । पालिका समृद्ध हुदा जिल्ला समृद्ध हुने जिल्ला समृद्ध हुदा प्रदेश समृद्ध हुने र प्रदेश समृद्ध हुदा देश समृद्ध हुने भएकाले पालिका समृद्धमा सहयोग गर्न अनुरोध गरे ।
रोशीका समाजसेवी सार्कीमान वल र वडाध्यक्ष हस्तमान लामाले तीनधारे झरनाको विकासका लागि स्थानीय सरकारले मात्र नसक्ने भएकाले बागमती प्रदेशले सहयोग गर्नुपर्ने बताए । स्थानीय तहको सिमित स्रोत साधान रहने तर जनताको अपेक्षा धेरै हुने भएकाले बिकासमा प्रदेश सरकार र संघ सरकारले सहयोग गर्नुपर्ने उनीहरूको जोड थियो ।

प्रतिक्रिया