ओलीले निर्देशन दिएपनि एमाले लुम्बिनीको नयाँ नेतृत्वमा जुटेन सहमति

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन जारी छ । नयाँ प्रदेश अध्यक्षका लागि चुनाव नै हुने अवस्था आएको छ । खासगरी एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षबीच अघोषित प्रतिस्पर्धा र द्वन्द्व देखिएको लुम्बिनीमा नेतृत्वका लागि चुनाव हुने भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व निर्विरोध छान्न निर्देशन दिएपनि कुरा मिल्न नसक्दा चुनाव नै गर्नुपर्ने अवस्था आएको हो ।

शनिबारदेखि बुटवलमा जारी प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनाव गर्न लागिएको हो । एकजना पोलिटब्युरो सदस्यका अनुसार अब अध्यक्षका आकांक्षी हरि रिजाल र राधाकृष्ण कँडेलबीच सहमति नजुटेको हो ।

एमाले केन्द्रीय सदस्य रिजाल महासचिव शंकर पोखरेलनिकट र कँडेल उपाध्यक्ष बिष्णु पौडेल निकट मानिएका छन् । तर उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अधिवेशन उद्घाटन समारोहमा कुनै उम्मेदवारलाई नबोकेको बताएका थिए ।

चुनाव हुने अवस्थामा भएमा आइतबार साँझसम्म मनोनयन दर्ता गरेर सोमबार बिहानदेखि मतदान गर्ने तयारी छ ।

प्रतिक्रिया