कर्णाली । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि भढ्ने भन्दैआफ्नो समग्र जीवन राष्ट्रको लागि दिने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै उनले नयाँ संकल्पसहित राष्ट्र निर्माणको अनवरत यात्रामा रहेर मुलुकको सुशासन, विकास र समृद्धिका लागि आफ्नो सिंगो जीवन अर्पण गर्ने बताएका हुन् । उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरे ।
‘सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अझ पेचिलो गरी अगाडि बढ्छ’, उनले भने, ‘यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाले सहयोग गर्नुपर्छ ।’
उहाँले आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको उर्वर भूमि कर्णाली भएको बताउँदै सुर्खेत–हिल्सा सडक सबैभन्दा अगाडि रहने वचन दिनुभयो । कर्णाली कोरिडरले यहाँका जनताको भविष्यलाई सुनिश्चित गर्नुका साथै यहाँको आर्थिक क्रान्तिको आधार हुने र सडक निर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले क्रान्तिकारीलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढंगले अगाडि बढ्न आग्रह गरे । कम्युनिष्ट आन्दोलनले नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका खेलेको बताउँदै उनले विगतको आन्दोलनमा अग्रणी भूमिका खेलेको कर्णाली अब पनि समाजवादी मोर्चाको केन्द्र बन्ने जिकिर गरे ।
प्रतिक्रिया