समाजवादी मोर्चाको बुधबार धनगढीमा हुने ‘सन्देश सभा’को तयारी पूरा

धनगढी । समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभाको तयारी पूरा भएको छ । बुधबार धनगढीमा हुने समाजवादी मोर्चाको प्रदेशस्तरीय सन्देश सभाको तयारी पूरा भएको हो । समाजवादी मोर्चा नेपालले धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै सन्देश सभाको तयारी पूरा भएको जनाएको छ ।

सन्देश सभालाई चारदलका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव सी र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले समाजवाद स्थापना गर्न,संविधानको कार्यान्वन गर्न लगायतका लक्ष्य लिएर गठित समाजवादी मोर्चाको सुदूरपश्चिम स्तरीय मोर्चा समेत घोषणा हुने बताइन् । उनले कार्यक्रममा पहाडी जिल्लाका जिल्ला कमिटी र कैलाली कञ्चनपुरका पालिका कमिटी भन्दा माथिल्ला कमिटीबाट कार्यक्रममा सहभागिता रहने बताइन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले समाजवादी लक्ष्यलाई आधार मानेर समाजवादी शक्तिको समाजवादी मोर्चा गठन भएको भन्दै यो उत्साह र खुशि सबै माँझ पुर्याउन सन्देश सभा हुन लागेको बताए । उनले सन्देश सभामा माओवादी केन्द्रबाट मात्रै ५ सयको हाराहारीमा उपस्थिति रहने दाबी गरे ।

पत्रकार सम्मेलनमा नेकपाका भगतसिंह सी, जसपाका भक्तमान थारुको उपस्थिति रहेको थियो । सन्देश सभामा प्रदेशभरीबाट आठ सयदेखि एक हजार जना सहभागि हुने तथा कार्यक्रमको संयोजन नेकपा एकीकृत समाजवादीले गर्ने जनाइएको छ । सन्देश सभा १२ बजेबाट सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया